छोरा र छोरी दुई सन्तानका साथमा हुँदा सुदर्शनको परिवार खुसी नै थियो । बजारमा सुबिधा सम्पन्न घर पनि थियो । व्याचलर पढ्दै गरेको जेठो छोरा सुदीपले बुबालाई भन्यो, “घरमा इन्टरनेट त जोडियो अब एउटा राम्रो मोवाइल र ल्यापटप किनिदिनू न बुबा । कक्षामा आफ्नो प्रस्तुती गर्न, नयाँ कुरा खोज्न र सिक्नको लागि सरले प्रत्येक व्यक्तिको हातमा ल्यापटप हुनुपर्छ भन्नुभएको छ । साथीहरू सबैले किनिसकेछन् । ”
सुदर्शनले भोलिपल्टै सुदीपको माग पूरा गरिदिए ।
अर्कोतिर पन्ध्र वर्षकी कान्छी छोरी रीनाको भर्खर दश कक्षाको पढाइ सुरु हुँदै थियो । उनमा किशोरावस्थाका लक्षणहरू देख्न सकिन्थ्यो ।
एकदिन वेलुका सबैजनासँगै टि.भी.मा समाचार हेर्दै गरेको बेलामा रीनाले भनिन् , “बुबा मलाई पनि एउटा राम्रो मोबाइल चाहियो, आफूलाई चाहिएको कुरा खाजेर पढ्न । साथीहरू सबैको छ, मेरो चाहिँ…….।” यति कान्छी छोरीको कुरा सुनिसकेपछि सुदर्शनले भन्यो, “किनिदिहालौँला नि छोरी, पहिला दश कक्षाको पढाइ त पुरा गर अनि त्यसपछि…… ।”
विद्यालयमा रीनाका साथीहरू जहिले खाली समय भयो कि फेस बुक, फोटो फिचर, युट्युव, इमेल, भिडियो कल, गुगल खोज आदि इत्यादि मोबाइलसम्बन्धी कुराहरू गर्दथे । यो सुनेर रीनालाई भित्रभित्रै औडाहा भइरहेको हुन्थ्यो । यसपछि स्कुलबाट घर फर्किनासाथ कपडा नै नफेरी, “आमा, मलाई मोबाइल फोन आजै चाहियो, नत्र भने भोलिदेखि म स्कुल पनि जान्न ।” करेसाबारीमा व्यस्त आफ्नी आमासँग ढिपी र घुर्काउँर्दै भनिन् ।
“कहिलेकाहीँ दाजुसँग लिएर चलाउँदै गर न, स्कुल पढ्ने मान्छेले धेरै मोबाइल चलाउनु हुँदैन, फेरी तिम्रो मोबाइल चलाउने उमेर पनि त भएको छै्रन नि, ।”
यति कुरा सुनेपछि उनी रिसाउँदै ठुलो स्वरले भनिन्, “मोबाइल, ल्यापटप जे चलाउन खोजे पनि दाइले, नचलाउ न भन्या, बिग्रिन्छ के, भनेर छुनसम्म दिनुहुन्न ।” भन्दै कोठामा खाजा पनि नखाई चुकुल लगाएर बसिन् । रीनाको मोबाइलप्रतिको आकांक्षा झनै तीब्र हुनथाल्यो । सुदर्शन बेलुकी अफिसबाट आउनासाथ रीनाकी आमाले भनिन्, “छोरीले मोबाइल चाहियो भनेर कराको कराइ छे, स्कुलबाट आउनासाथ खाजा पनि नखाई ढोका थुनेर बसेकी छे, भोलिदेखि स्कुल पनि जान्न भनेर घुर्काउँछे । नकिनी धरै पाइएलाजस्तो छैन ।”
यो सुनेपछि सुदर्शनले रीनालाई फकाउने विचारले भन्यो, “छोरी, यो महिना वित्न चार दिन मात्र बाँकी छ । तलब आउँछ अनि किनिदिउँला नि है ? मेरी कान्छी छोरी धेरै ज्ञानी छे ।”
रीना मौन थिइन् । यसपटक उनले कुनै प्रतिक्रिया गरिनन् । चार दिन बित्यो तर न त मोबाइल आयो न त यसबारे कुराकानी भयो । पढाइलेखाइमा उनको ध्यान कम हुन थालेको थियो ।
“रीना, तिमीले सबै प्रश्नहरूको उत्तर लेखेकी रहिनछौ, अक्षर पनि पहिलेको जस्तो राम्रो छैन, अतिरिक्त क्रियाकलापमा पनि भाग लिँदैनौ, तिम्रा साथीहरूको कति राम्रो छ हेर त । यस्तै ताल हो भने तिम्रो परीक्षा पनि बिग्रन सक्छ ।” कक्षा शिक्षकको यति कुराले रीनाको अनुहार तुरुन्तै लाज र डरले रातोपिरो भयो । उनका साथीहरूले गुगल सर्च गरेर(खोजेर) पूरा गृहकार्य गरेर लेराउँथे र स्कुलमा हुने गरेका अतिरिक्त क्रियाकलापहरूमा पनि राम्रो प्रदर्शन गर्दथे ।
चारबजे स्कुल छुट्टी हुनासाथ रीना कसैसँग नबोलीकन छिटोछिटो घरमा आई सिधै कोठामा गएर सिरकले मुख गम्लङ्ग छोपेर सुतिन् ।
अफिसबाट बेलुका अवेर बुबा घर प्रवेश गरेको थाहा पाएपछि रीनाले घ्वार्याक्क ढोका उघारिन् । आज स्कुलमा कक्षा शिक्षकले भन्नुभएको कुरा सम्झँदै आँखाभरि आँसु छचल्काएर आमा बुबाको थेचर कुराबाट अवाक् भएकी रीनाले अलि चर्को स्वरले फेरि पनि आफ्नू कुरा राखिन्, “भोलि पनि मोबाइल किनिदिनु भएन भने म स्कुल नै जान्न, जहिले पनि भोलि भोलि भन्ने तर कहिल्यै नल्याइदिने । दाइलेचाहिँ भन्नासाथ किनिदिने । मेरा साथीहरूका बुबाले त साथीहरूले भनेको सबै कुरा मान्नुहुन्छ रे । छोराछोरी दुबैलाई समान व्यवहार गर्नुहुन्छ रे । हाम्रा चाहिँ……..।”
छोरीको ठुलो स्वर सुनिसकेपछि सुदर्शनले केही रिसाएझैँ गरेर भन्यो, “धेरै नाटक गर्ने होइन र सधैँ करकर गर्ने नगर, भोलि किनेर लेराइदिन्छु भनेकै त छु नि ।” “ बुबाको कुरा सुनिहालिस्, ल, हातखुट्टा धोएर खाना खान आऊ अनि ढोकामा चुकुल नलगाइकन पढेर बस हाइ, छोरी ।” आमाले भन्नुभयो ।
यसपछि रीनाले चुपचाप खाना खाएर गृहकार्य सकिन् । भोलिको दिनको प्रतीक्षा थियो । त्यसैले उनलाई राति खासै निद्रा परेन ।
भोलिपल्ट सुदर्शन अबेर राति घर फर्कियो । तर उसले साथमा मोबाइल लेराएको थिएन । उसले मोबाइल किन्न लगेको पैसा बसको भिडभाडमा पाकेटमारले चोरिदिएछ । तर बुबाको कुरामा उनी पटक्कै विश्वस्त हुन सकिनन् । उनले खाना पनि खाइनन् । फनक्क फन्केर कोहीसँग नबोली ठुलो आवाजकासाथ कोठामा चुकुल लगाई बसिन् । रुँदा रुँदा नेत्रजलले तकिया भिजेको थियो ।
भोलिपल्ट बिहानै एउटा शवबाहन आएर सुदर्शनको घर अगाडि रोकियो । मुखामुख गरेर घरको दैलो अगाडितिर यत्रतत्र बसिरहेका गाउँलेहरूको भिड व्यवस्थित गर्दै प्रहरीले घटनास्थल घेर्यो र रीनाको झुन्डिएको मृत शरीरलाई शवबाहनमा राखी पोष्टमार्टम गर्न अस्पतालको मुर्दाघरमा पुर्याए । हेर्दाहेर्दै रीना खरानी भइन् ।
केही दिनपछि रीनाको एउटा डायरी सुदर्शनले भेट्टाए । त्यसमा बालमनका धेरै विलौनाहरू लेखिएका थिए र एउटी छात्राको भेषमा डर र क्रोध झल्किने चित्र पनि कोरिएको थियो । ‘बुबा, आमा, मलाई माफ गर्नुहोला । म यो संसार छाडेर जाँदैछु । अबदेखि तपाइँहरूलाई मोबाइल किन्दिनू भनेर करकर गर्ने, नाटक गर्ने तपाइँकी छोरी हुने छैन, दाजुलाईचाहिँ कुनै कुराको अभाव हुन नदिनुहोला । बिदा ………….।’
सुदर्शनले केवल एक अनुच्छेद मात्र जेनतेन पढ्यो र पश्चात्तापले घरपरिवारमा रुवाबासी चल्नथाल्यो ।
शशिराजअर्याल
फर्पिङ, दक्षिणकाली