Monday, April 21, 2025
थप

    के हो गुठी परम्परा ?

    गुठी

    विभिन्न देवी देवताको पूजाआजा, पर्व, जात्रा, नाचगान चलाउन वा मठ मन्दिर, देवस्थल, पाटीपौवा आदि जस्ता धार्मिकस्थल वा अन्य सामाजिक, परोपकारी र साँस्कृतिक कार्यको लागि दाताले आफ्नो हक छाडी सुम्पी दिएको सम्पत्तिलाई गुठी भनिन्छ । विशेष गरी नेवारी समुदायमा यसको प्रचलन र सञ्चालन धेरै भएपनि अन्य जातजातीमा पनि गुठी परम्परा चलिआएको पाइन्छ । गुठी सञ्चालन गर्न आयस्रोतको रुपमा जग्गा जमिनलाई छुट्याइएको पाइन्छ ।

    गुठीका प्रकार

    १.     राजगुठी:

    गुठी संस्थानको स्थापना हुनु पूर्व नेपाल सरकाले बन्दोवस्त र संचालन गरी आएकोमा गुठी संस्थान ऐन, २०२१ को दफा २(घ) बमोजिम त्यस्ता गुठीमा नेपाल सरकारबाट संस्थानमा हक र दायीत्व सर्न आई संस्थानले बन्दोवस्त र संचालन गरेको गुठी राजगुठी हुन् । यसमा अमानत र छुट गुठी गरी दुई प्रकारका छन्ः

    (क)  अमानत गुठी: गुठीको सम्पूर्ण आयस्ता गुठी कोष (संस्थानको कोष) मा जम्मा गरी खर्च पनि सोही कोषबाट विनियोजित बजेट बमोजिम हुने गुठी । यस्ता गुठीहरु देश भित्र १०५० को संख्यामा छन्।

    (ख) छुट गुठी: गुठीको आयस्ता गुठीयार आफंैले उठाई लिखत तथा परम्परा बमोजिम गुठीको पूजाआजा, पर्व, जात्रा चलाई बाँकी रहेको शेष रकम राजगुठीमा बुझाउने वा गुठीयार आफैले खान पाउने गरी छुट पाएका गुठी । यस्ता गुठीका गुठीयार, महन्थ, पुजारी आदिको सम्पूर्ण हक गुठी ऐनको दफा १९ ले समाप्त गरी संस्थानमा सरेको छ । यस्ता गुठी देश भित्र १०३२ छन्।

    २.  निजी गुठी: राज गुठीको लगतमा दर्ता नभएका र व्यक्ति आफैले स्थापना र संचालन गर्दै आएका व्यक्तिगत वा पारिवारिक दुनिया गुठीलाई निजी गुठी भनिन्छ । यस्ता गुठीको लगत सम्म संस्थानले लिन सक्ने व्यवस्था गुठी संस्थान ऐन दफा १९ (क) ले गरेको छ । निजी गुठीका दाता सहित अघिकांश गुठीयारले लिखित अनुरोध गरेमा त्यस्तो गुठी संस्थानले जिम्मा लिई संचालन गर्न सक्तछ भने सामाजिक हितको लागि राखिएको निजी गुठीका गुठीयारले गुठीको सम्पत्ति हिनामिना गरी धर्मलोप गरेमा गुठीयारले अनुरोध नगरे पनि ऐनको दफा २०(२) बमोजिम संस्थानले आफ्नो जिम्मामा लिई संचालन र बन्दोवस्त गर्न सक्तछ ।

    गुठीका जग्गा को प्रकार

    गुठी संचालनको लागि खर्चको स्रोत जुटाउन आयस्ता आउने गरी दाताले आफ्नो हक छाडी राखिदिएका जग्गा नै गुठी जग्गा हुन्। गुठी जग्गा पाँच प्रकारका हुन्छन्ः

    १.   गुठी तैनाथी जग्गा: कोही कसैको हक नभएको देवस्थल, बाग, बगैंचा, पोखरी, पाटी, पौवा रहेका क्षेत्रका जग्गा र संस्थानले वाली ठेक्का, बहाल आदिमा दिन वा लिलाम गरी बिक्री गर्न सक्ने जग्गा ।

    २.  गुठी अधीनस्थ जग्गा: दर्तावालाले गुठीमा कुत बुझाउनु पर्ने जग्गा अर्थात मोही लागेका गुठी जग्गा । यस्ता जग्गामा दर्तावाला र जोताहा मोही भएमा दर्तावालाको सम्पूर्ण हक समाप्त भई खास जोताहा किसानले प्रचलित कानून बमोजिम मोहीयानी हक पाउँछ ।

    ३.  गुठी रैतान नम्बरी जग्गा: दर्तावालाले गुठीमा मालपोत बुझाउनु पर्ने जग्गा । यस्ता जग्गामा दर्तावालाको हक हैसियत सरकारी रैकर जग्गाका जग्गावाला सरह हुन्छ र रैकर जग्गा सरह नै मालपोत गुठीमा बुझाउनु पर्छ ।

    ४.  गुठी नम्बरी जग्गा: गुठीका नाममा दर्ता भएका रैकर जग्गालाई गुठी नम्बरी जग्गा मानिन्छ । यस्ता जग्गाको मालपोत गुठीले स्थानीय निकायलाई बुझाउनु पर्छ ।

    ५.  खान्गी जग्गाः ऐनमा खान्गी जग्गा भनी छुट्टै परिभाषा नगरिए पनि गुठीको निश्चित काम गरे वापत गुठीका कामदारले जोती भोग गर्न पाउने जग्गालाई गुठीका खान्गी जग्गा भनिन्छ । अर्को भाषामा भन्दा यी जागिर जग्गा हुन्।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै