Monday, September 9, 2024
थप

    ‘मुठी खाएर मुरी उब्जाउने दिन’ को रूपमा लिइने असारे पन्ध्रको महत्त्व बढ्दो

    – प्रभा पाैडेल

    आज असार पन्ध्रको दिनलाई नेपालीले महान चाडको रुपमा मनाउँदै/मान्दै आएका छन् । असारको महिनालाई किसानले ‘मुठी खाएर मुरी उब्जाउने दिन’ रुपमा मनाउँदै आएका छन् । असार १५ का दिन एक फेर हिलो कुच्नु भन्ने मान्यता छ । यस दिन रोपाइँलाई पर्वको रुपमा मनाइने हुँदा खेतको हिलामा पसेर असारे गीत गाउँदै धान रोप्ने गरिन्छ ।

    हलगोरुले हिल्याएको हिलोमा छुपुछुपु धान रोपेर आपसमा रमाउँदै रोपाहार र बाउसेहरु एकापसमा हिलो छ्यापाछ्याप गरी हिलो खेलेर अन्न दिने माटोलाई माया गर्छन् । असारे पन्ध्र वर्षदिनको सबैभन्दा लामो दिनको रुपमा लिइन्छ । हिलोको काम गरेर थकित अवस्थामा पोषिलो र शीतलता दिने खाद्य परिकार दही चिउसा खाने चलन रहँदै आएको छ । परम्परागत असार १५ (दही चिउरा खाने तथा धान दिवस) को अवसरमा सरकारले पनि विभिन्न कार्यक्रम गरी २०६२ सालदेखि मनाउँदै आएको छ । सरकार लगायत विभिन्न राजनैतिक दलका तथा अन्य संघसंस्थामा संलग्न व्यक्तिहरुले असारे पन्ध्रलाई पर्वको रुपमा मनाउने चलन रहेको छ ।

    असार १५ यस दिनको महत्व झनै बढ्दै गएको छ । यो दिन हिलो छुँदा निरोगी भइने र पुण्य कमाइने पारम्परिक विश्वास रहिआएको छ । यो समय प्रायः वर्षा हुने भएकाले धान रोप्न बाँकी किसानले आफ्नो खेतमा भकारी बाँधेर त कतैकतै पञ्चे बाजा बजाएर परम्परागत गीत सवाइ गाउने पुरानो चलन छ । असारे गीत गाउँदै युवा युवतीहरु आफ्ना दौँतरीलाई मनका कुरा भन्ने गर्छन त्यसैगरी रोपार र वाउसे, हली बीच दोहोरी गाउने चलन पनि छ ।

    नेपालीको पूर्वी क्षेत्रमा गाउने असारे गीत
    रोप न रोप रोपारै रानी म पँज्याईदिउँला बीऊ
    हलीलाई दिउँला एकराते दही बाउसेलाई दिउँला घीउ
    असार मास छिप छिपे हिलो खै लाग्यो फालीमा
    बुवालाई भनि भुरुल्ली काटेँ ओइलायो आलिमा

    नेपालको कर्णाली भेगमा गाउने असारे गीत

    कठै छुपु छुपु रोपी ल्याऔँ सिउँती सेरा अ
    बडिमाईका थान चढेइ मोती मेराइ अ
    कठै बाट डिलबाट भिता काट्यो तरिस
    बाँची रहे हली बाउसे लाखै बरिष

    काठमाडौ उपत्यकामा गाउने असारे गीत

    सिरी पशुपति सिरी गुजेश्वरी उहीमाथि आर्जेघाट,
    बाला जीवनको हातको माला सुक्यो कैले होला भेटघाट
    तेन्जिङ शेर्पा हिमाल चढ्यो भन्छन्, कैले होला भेटघाट।
    काफल पाक्यो, कोइली डाक्यो, नागार्जुनको बनैमा
    शिरको फूल शिरमै सुक्यो, आधा सुक्यो मनैमा
    हरेराम राम हिउँदको घाम आधा सुक्यो मनैमा

    असारे गीतका केही नमुना

    असार पन्द्र यो पर्व आउँछ सबैले मनाउँछन्
    खेतमा जाने सबैलाई खाजा दही–चिउरा बनाउँछन् ।
    लै लै दही चिउरा बनाउँछन् ।

    पर्मपात गरी मेलो चलन हुन्छ है
    असार पन्द्र यो दिन छुट्टै रमाइलो हुन्छ है
    लै लै रमाइलो हुन्छ है ‘‘

    रोपाइँ गर्ने पर्म मिलाउछन् दोहोरी गीत गाउँछन्
    असारे गीत यसरी गाउँछन् रमाइलो मनाउछन्
    लै लै रमाइलो मनाउँछन्

    यो सालको पन्द्र यहाँ मनाउदै आयौँ कहाँ पुगिन्छ
    जहाँ पुगे पनि ए कान्छा दाजु यो दिनलाई सम्झिन्छ
    लै लै यो दिनलाई सम्झिन्छ

    त्यसो नभन हे ठूली बहिनी यही ठाउमा बसैँला
    अर्को साल फेरी यसै नै गरी मेला पात जुटौँला
    लै लै मेला पातमा जुटौला

    छोरीको जातले छोड्नु नै पर्ने जन्मेको आफ्नो गाउँ
    काहाँ पुगिन्छ थाहा हुँदैन बिल्कुलै नौलो ठाउँ
    लै लै बिल्कुलै नौलो ठाँउ

    जहाँ जान्छेउ, तिमी यो मिठो स्वर भुल्दैनौँ कसैले
    गइ हाल्यौँ भने आउने साल पन्द्र सम्झिन्छौँ सबैले
    लै लै सम्झिन्छौँ‘

    यस्तै गित गाउँदै रमाइलो गर्दै यो पर्व मनाउने
    दही छैन भने खोजेर ल्याउने चिउरा बनाउने
    लै लै दही चिउरा खुवाउने‘

    काठमाडौँ लगायत नेपालका सबै ठाउँमा अहिले रोपाइका चटारो छ । त्यसै अवसरमा विभिन्न राजनैतिक कर्मी, कलाकार तथा राष्ट्रका प्रतिष्ठित व्यक्तिहरुपनि धान दिवस मनाउन काठमाडौँ तथा काठमाडौँका नजिक रहेका जिल्ला गएर किसानलार्इ हौसला दिने चलनको सुरुवात भएको छ । शहरी क्षेत्रमा धान दिवस तामझामका साथ मनाउने प्रचलन फैलँदै आएको छ ।

    गाउँमा असारे पन्ध्रलाई धान रोप्ने र विषेश गरेर दहि चिउराका साथै खिर खाने चलन पनि छ । गाउँमा कसैको घरमा दुहुना भएन भने त्यस घरमा दुहुना हुने छिमेकीले दहि र दुध दिँदै सबैले मिलेर असार १५ मनाउने गरिन्छ। यो समयमा खेतीको चटारो पर्ने महिना हो । बाली लगाउने समय भएकाले असार महिना किसानको मुठी खाएर मुरी उब्जाउने समयको रुपमा लिइन्छ ।

    उर्लाबारी–४, माेरङ

    हालः चाबहिल, काठमाडौँ

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै