प्रतिकुल मौसममा छालाका साथै केश पनि सुख्खा हुन्छ भने त्यसमा चायाँसमेत पर्छ जसले गर्दा केश टुक्रिने, हाँगा फाट्ने तथा झर्ने समस्या देखापर्छ । तातोपानीले नुहाउँदा केशको प्राकृतिक तेल सकिएर समस्या उत्पन्न हुन्छ । फलस्वरूप केश अझ बढी सुख्खा हुन पुग्छ । घाममा हिड्दा बस्दा केशलाई सलले छोप्नुपर्छ भने स्याम्पु प्रयोग गर्दा अलि बढी कन्डिसनर भएको तथा हल्का स्याम्पु प्रयोग गर्नुपर्छ । केशलाई स्वस्थ राख्न हप्तामा ३ पटकजति हर्बल तेलले हलुका मसाज गरी चिसो पानीले नुहाउनुपर्छ । जसले गर्दा टाउकाको रक्त संचारमा सहयोग पुग्नुका साथै केश मुलायम एवं चम्किलो हुन्छ । हप्ताको एकपटक घरमै हेयर प्याक लगाउनु उपयुक्त हुन्छ । फेसप्याकका लागि एबोकाडोको गुदी दुई चम्चा, एउटा अण्डा, नरिवलको तेल २–३ चम्चा, प्याजको रस २–३ चम्चाको मिश्रण केशको जरा तथा अन्य भागमा लगाई दुई घन्टाजति राखेर पखाल्ने । यसबाट केशको जरा बलियो हुनुका साथै केश छिटो बढ्छ भने केश झर्ने समस्यासमेत कम हुन्छ । यसबाट केशमा चमक आउँछ र केश मुलायम पनि हुन्छ । यसरी घरमै तयार गरिएको पेस्टबाट केशलाई चाहिने भिटामिन ए तथा ई उपलब्ध हुन्छ । केशलाई बलियो एवं चम्किलो बनाउन यो प्याक लगाइसकेपछि सफा नरम टाबेलले केशलाई छोपेर ५–७ मिनेटजति स्टिम दिए केशका रोम छिद्रहरू खुल्ला भै उक्त पोषण तत्व केशको जरासम्म पुग्छ । केशमा हेयर स्याम्पु पनि प्रयोग गर्न सकिन्छ । यसले केशलाई लट्टा पर्न तथा सूर्यको किरणबाट हुने असरबाट जोगाउँछ । केश नुहाइसकेपछि टाबेलले पुछेर हावामा आफै सुक्न दिनु उपयुक्त हुन्छ । सकेसम्म हेयर ड्रायर प्रयोग गर्नु हुँदैन । हेयर ड्रायरको तातो हावाले केशलाई सुख्खा बनाइदिन्छ । केशलाई चम्किलो तथा सीधा बनाउन हर्बल मेहन्दी प्रयोग गर्न सकिन्छ । केशलाई कहिल्यै कसिलो गरी बाँध्नुहुँदैन । यसरी बाँध्दा केशको जरा तन्किएर कमजोर हुन्छ अनि झर्न थाल्छ । केश कोर्दा हलुका हातले कोर्ने अनि ठूलो दाँत भएको काइँयो प्रयोग गर्दा केश बिग्रन पाउँदैन ।
यसको लागि घरेलु उपाय
कन्डिस्निङ : केशलाई सबैभन्दा बढी मोइस्चरको हुन्छ । यसको अर्थ महँगो हेयर मास्क वा डिप कन्डिसनिङ नै गर्नुपर्छ भन्ने होइन । राम्रोसँग हेरचाह गर्ने हो भने कम खर्चमै पनि केशको चमक कायम राख्न वा कन्डिसनिङ गर्न सकिन्छ । २–३ चम्चा बियरलाई रातभरि गिलासमा राख्ने । भोलिपल्ट बिहान केश धोएपछि पानीमा उक्त बियर हालेर केशमा प्रयोग गर्ने । यो राम्रो कन्डिसनर हो र यसबाट केशले चमक प्राप्त गर्छ । यसबाहेक तोरीको तेलको केही थोपा भिजेको केशमा हालेर धुँदा केश नरम तथा रेशमी देखिन्छ ।
स्याम्पुको बचत : स्याम्पुलाई लामो समयसम्म प्रयोग गर्न स्याम्पुको नयाँ बोतलका साथमा एउटा खाली बोतल पनि राख्नुपर्छ । केश धुँदा चाहिने जति स्याम्पु खाली बोतलमा खन्याउने र थोरै पानी हालेर राम्रोसँग हल्लाउने । यसलाई केश धुन प्रयोग गर्ने । यसबाट केश राम्रोसँग चाँडै धुन सकिन्छ भने स्याम्पुको बचतसमेत हुन्छ ।
घरमै कलरिङ : केश हाइलाइट गर्न घरमै कलर गर्नुपर्छ । यसका लागि सेमी पर्मानेन्ट हेयर कलर छनोट गर्नुपर्छ र पुन: टचअप दिनुपर्छ ।
महको प्रयोग : मह केशका लागि प्राकृतिक वरदान हो । बाल्टिनको पानीमा दुई चम्चा मह मिसाएर केशमा स्याम्पु गर्नु उपयुक्त हुन्छ । यसो गर्दा केश नरम तथा रेसमी रहन्छ ।
स्टाइलिङ प्रोडक्टबाट जोगिने : सम्भव भएसम्म क्लिङ आइरन, फ्ल्याट आइरन, ब्लो ड्रायर तथा हट रोलर्सको प्रयोगबाट जोगिनुपर्छ । यस्ता प्रसाधनको अधिक प्रयोगले केशमा हानि पुग्छ । केशमा लगाएर अलग–अलग स्टाइल प्रयोग गर्नुभन्दा त्यसलाई प्राकृतिक स्वरूपमा छोड्नु फाइदाजनक हुन्छ ।
सुहाउँदो हेयर स्टाइल : केशको टेक्सचर र अनुहारको आकारअनुसार हेयर स्टाइल छनोट गर्नुपर्छ । आफूले अपनाएको हेयर स्टाइलमा धेरै स्टाइलिङ प्रोडक्टको आवश्यकता पर्छ भने उक्त हेयर स्टाइल ठीक हुँदैन । त्यस्तो हेयर कट अपनाउनुपर्छ जसको स्टाइलमा कमभन्दा कम हेयर प्रोडक्ट्स प्रयोग गर्नुपरोस् ।
मेहन्दीको प्रयोग : बारम्बार केश कलर गराउँदा दिक्क लागे वा केशमा प्राकृतिक निखार ल्याउने चाहना छ भने मेहन्दी प्रयोग गर्न सकिन्छ । यसले केशको कन्डिसनिङ गर्नुका साथै केशलाई सुन्दर कलर प्रदान गर्छ ।
मिनेटमै केश मिलाउन : केश लामो छ र अल्झिने समस्या छ भने एक भाग कन्डिसनरमा १० भाग पानी मिसाएर एउटा स्प्रे बोतलमा राखी जब केश अल्झिन्छ, बोतलको मिश्रण स्प्रे गरी राम्रोसँग काइँयोले केश कोर्दा केश अल्झिने समस्या समाधान हुन्छ