बढ्दो शहरिकरणसँगसँगै कंक्रिटको जंगल बनेको शहरी क्षेत्रमा खेतीयोग्य खाली जमिन पाउन मुस्किल भै सकेको छ । गाउँमा घर वरिपरि करेसाबारी भएजस्तो शहरी क्षेत्रका घरसँग करेसाबारी हुनु दूर्लभ र अपवाद जस्तै छ । तर पछिल्लो समय सहरका कौसी नै करेसाबारीको रुपमा हरियाली देखिन थालेको छ । कौसीमा रहेको सानो स्थानमा मानिसहरुले विभिन्न विधि प्रयोग गरेर तरकारीदेखि फलफूल समेत लगाउन थालेका छन् । भान्छाबाट उत्पन्न फोहोर ब्यवस्थापन पनि हुने र सानो परिवारका लागि बेला–बेला आफैंले उत्पादन गरेको तरकारी पनि खान पाइने भएपछि शहरबासी कौसीखेतीतर्फ आकर्षित भएका हुन् । गमला, प्लाष्टिकका भाँडा, ड्रम तथा बास्केट लगायतमा माटो र मलखाद राखेर कौसीमा खेती गर्न सकिने भएपछि कौसीमा सानो क्षेत्र भएका घरधनीको यसतर्फ रुची बढेको छ ।
के हो कौसी खेती ?
कौसी खेती परम्परागत तथा आधुनिक तरिकाले घरको छतमा गमला, क्यारेट वा कुनै प्रकारको भाँडोमा तरकारी, फलफुल रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौसी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौसी खेती गर्न सकिन्छ । थोरै ठाउँको सदुपयोग गरेर धेरै भन्दा धेरै ताजा तरकारी वा फलफुल फलाउन सक्नु कौसी खेतीको विशेषता हो ।
अहिले गरिने कौसी खेतीको प्रविधी इजरायल बाट भित्रिएको हो। इजरायलमा पिभिसि अथवा पोली ब्याग वा गमलामा नरिवलको जटाको धुलो (कोकोपिट) राखिन्छ । बिरुवालाई आवश्यक मलखाद कम्पोष्ट मल या रसायनिक मल, पोटासहरू हालेर बिरुवा सारिन्छ । यो नयाँ तरिकाले खेती गरेमा बिरूवा बढ्न सहयोग पुर्याउँछ। कोकोपिट आफैँमा खुकुलो चिज भएकाले यसले जरा बढ्न र जरालाई अक्सिजन लिनलाई सहयोग गर्छ।
घरको संरचनामा कति जोखिम हुन्छ ?
सहरका घर धनिहरु विभिन्न माध्यमबाट कौसी खेतीतर्फ आकर्षित भएपनि कस्तो संरचनाको घरमा कसरी कौसी खेती गर्ने भन्नेबारे ध्यान पुर्याएको पाइदैन् । बरण्डा र कौसीमा हरियाली देखिँदा घर आकर्षक त देखिन्छ तर यसबाट हुनसक्ने नकारात्मक असर र प्रभावबारे भने धेरैले चासो राखेको देखिँदैन । घरको सबैभन्दा माथिल्लो तलामा कौसी खेती कतिको उचित छ त ? आरसिसि ढलान घरमा समस्या नभएपनि कच्ची घरमा कौसी खेती जोखिम हुने इन्जिनियरहरु बताउँछन् ।
यदि घर गलत तरिकाबाट बनाएको छ भने कौसी खेती गर्दा पानी चुहिने र भौतिक संरचनामा क्षति पुग्ने हुन्छ । घरको छतदेखि घरको तल्लो भागसम्म पानी चुहिएर जाने हुन्छ । जुन घरमा कौसी खेती गरिन्छ, त्यो घरको छत पूर्णरुपमा वाटरप्रुफ अर्थात पानी नसोस्ने बनाउनु पर्दछ । वाटरप्रुफ गर्ने विभिन्न प्रविधिहरु छन् । यो प्रविधि अपनाएर कौसी खेती गर्दा कुनै समस्या हुँदैन ।
आरसीसी घर बनाउँदा सुरुमै भूकम्पीय जोखिम नहुनेगरी डिजाइन गरेर घरको डिजाइनमा पनि कौसी खेती समेत समावेश गर्न सकिन्छ । काठमाडौंमा भएका प्राय सबै ढलान घरमा वाटर प्रुफिङ गरेर कौसी तरकारी खेती मज्जाले गर्न सकिन्छ । बास्तवमा आठ–दश इन्च माटोको लोड भनेको आधुनिक प्रविधीको ढलान घरलाई केही पनि हैन । तर आवश्यकता भन्दा बढी तौल भएमा घरलाई असर गर्न सक्छ । त्यसैले नयाँ घर बनाउने हो भने घरको डिजाइन गर्दा नै कौसी खेती सहितको डिजाइन गर्न उपयुक्त हुन्छ ।
कसरी गर्ने राम्रोसँग कौसी खेती
कौसी खेतीका लागि प्रसस्त घाम लाग्ने र सजिलै पानी दिन सकिने स्थान छनोट गर्नुपर्छ। पक्की घरमा घरअनुसार निकालिएका कौसीहरूमा उपयुक्त आकारको भाँडा गमला, फ्रेम, जार, माछाको क्यारेट, आधुनिक ब्यागमा तरकारी फलाउन सकिन्छ। घरले थाम्न सक्ने तौललाई ध्यानमा राखी खुला छतमा माटो वा अन्य बिरूवा हुर्काउन सकिने कच्चा पदार्थ जस्तैः कोकोपिट, माटो वा प्राङ्गारिक मलको मिश्रण राखी खेती गर्न सकिन्छ। एकपटक प्रयोग गरेको कोकोपिटलाई तीन चार पटकसम्म प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले गर्दा झार नउम्रिने थोरै पानीमा पनि चिस्यान रहिरहने हुँदा कौसीमा तरकारी खेती गर्दा राम्रो हुन्छ । त्यस्तै भान्साबाट निस्कने फोहोर वा कम्पोस्टलाई पनि मल र माटोमा मिसाउन सकिन्छ । कौसी सानो छ भने फलामका स्ट्याण्डहरु बनाएर धेरै गमला वा पोलीव्याग अटाउने पनि गर्न सकिन्छ ।
के लगाउने ?
दैनिक प्रयोगमा आउने धनियाँलाई हामी बाह्रै महिना कौसीमा लगाउन सक्यौं भने बजारमा किन्न जानुपर्देन। चुँढेर काटेर हामीले पटक/ पटक धनियाँको प्रयोग गर्न सक्छौँ। त्यसैगरी, सागजन्य सबै चिजहरू हामीले लगाउन सक्छौँ। पाकचोय (चाइनिज साग), रायोको साग मुलाको साग, तोरीको साग कुनैपनि किसिमका सागहरू कौसीमा लगाउन सकिन्छ। गोलबेरा, साग, धनियाँ, प्याज, लसुन, क्याप्सिकोन हामीले कौसीमै लगाउन सकिन्छ। अलि ठूलो खालको प्लान्टर ब्यागमा हामीले थाक्रा दिन सक्ने भए घिरौला करेलासमेत लगाउन सकिन्छ। त्यसैगरी चाइनिज फर्सी, भण्टा, खुर्सानी, स्वीसचार्ड, रायो, करेला, काँक्रो, लौका, घिरौला, काउली, बन्दा, ब्रो– काउली पनि कौसीमा लगाउन सकिने तरकारी हुन्।
त्यस्तै ग्याँठ गोभी, सिमी, बोडी, धनियाँ, लसुन, प्याज रामतोरिया, सलगम, मुला लगायतका तरकारी पनि कौसी खेतीका लागि उपयुक्त हुन्छ।
जरा सकभर कम फैलने तथा गहिराईमा सीमित हुने बाली कौसी खेतीका लागि उपयुक्त हुन्छ। लामो समयसम्म छिटो छिटो उत्पादन दिने र बोट धेरै नझाङ्गिने बाली कौसीमा लगाउनु पर्छ। खेती गरिने स्थानको हावापानी तथा बोटबिरूवाका हावापानी अनुसारको बाली छनोट गर्नु पर्छ।
मजबुत खालको घरमा ठूलो आकारको गमला वा भाँडो छ भने हाइव्रिड जातको अङ्गुर, अम्बा, आँप, कागती, मुन्तला, सुन्तला, जुनार स्ट्रबेरी लगाएतका फलफूल पनि कौसीमा लगाउन सकिन्छ
माटोको गमला राम्रो
कौसी खेती गर्न सबैभन्दा पहिले घरले थाम्न सक्ने तौललाई ध्यानमा राख्नुपर्छ । त्यसै अनुसार उचित संख्या र उपयुक्त आकारको भाँडा, गमला, फ्रेम र बाकस रोज्नुपर्ने जानकारहरू सुझाउँछन् । बजारमा प्लास्टिकबाट बनेका विभिन्न डिजाइनका गमला र झोलाहरू पाइन्छन् । झट्ट हेर्दा आकर्षक देखिने यिनै प्लास्टिकको संरचना अधिकांशको रोजाइमा पर्ने गरेको छ ।
तर विरुवाका लागि प्लाष्टिकका झोला र गमलाभन्दा माटोका भाँडाहरू राम्रो हुन्छ । माटोका गमलामा तापक्रमको सन्तुलन मिल्ने भएकाले विरुवा फस्टाउँछ, तर बजारमा पाइने प्लाष्टिकका झोला तथा भाँडा घाम लाग्दा छिटो तातिने र चिसोमा पनि छिटै चिसिने भएकाले विरुवालाई असर गर्छ । माटोको गमलाको प्रयोगले स्थानीय र स्वदेशी उत्पादन प्रवर्धन पनि हुन्छ।
तर, माटोका गमला गह्रौं हुने भएकाले घरमा यसको मात्र प्रयोग अनुपयुक्त हुन सक्छ । कौसी खेती गर्दा घरको भारवहन क्षमतालाई पनि ख्याल गर्नुपर्ने भएकोले विरुवाका लागि राम्रो हुँदाहुँदै पनि सबै माटोको गमला मात्र प्रयोग गर्न भने सकिंदैन । यसैले विकल्पको रुपमा प्लाष्टिकको गमला तथा भाँडा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ ।
हाल कौसी खेतीका लागि बढी प्रयोग भइरहेका भारत र चीनबाट आयातीत प्लाष्टिकका झोला तथा भाँडा र कोकोपिटको उत्पादन नेपालमै गर्ने तयारी भइरहेको छ।
बरन्डामा भार वहन कम गर्न चामलका बोरा, फुटेका भाँडा र पातलो खालका गमलाको प्रयोग गर्न प्रोत्साहन पनि प्रोत्साहन गर्न सकिन्छ ।
अहिले कौसी खेतीसँगै अन्य प्रयोजनमा प्लाष्टिकका सामानको प्रयोग बढ्दै जाँदा तिनको उपयोग सकिएपछि व्यवस्थित विसर्जन र व्यवस्थापन गर्दा तत्कालको लागि समस्या नदेखिए पनि दीर्घकालीन रूपमा भने यसको विकल्प खोज्न जरुरी छ । यसकारण गुणस्तरीय र टिकाउ खालका प्लाष्टिकका झोला, भाँडा तथा बाकस बनाउनुपर्ने आवश्यकता खड्किएको छ ।
‘एग्रो ब्याग’ मा कौसी खेती
कौसीमा माटो भरेर खेती गर्दा घरलाई लोड पर्छ भन्ने सोच्नु भएको छ भने अहिले बजारमा विभिन्न खालका ब्यागहरू आएका छन्। जसमा खेती गर्दा घरलाई धेरै पर्दैन ।
यस्ता ब्यागहरू गमलाभन्द सस्तो पनि हुने गरेको छ । गमला फुट्ने डर हुन्छ भने यस्ता ब्यागहरू ३/४ वर्षसम्म केही हुँदैन।
यस्ता ब्यागमा तरकारी उत्पादन गर्दा माटोभन्दा पनि नरिवलको जटाको धुलो, गड्यौली मल र कम्पोष्ट मल राख्दा राम्रो हुन्छ। यस्ता कच्चा पदार्थको प्रयोग गर्दा एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुन्छ। यस्ता ब्यागहरू एग्रोभेटमा सजिलै पाइन्छ।
गड्यौलामार्फत फोहोरको सदुपयोग
कौसी खेतीलाई पनि मलको आवश्यकता पर्छ । यस्तो बेला फोहोरबाटै मल बनाउन सकिन्छ, गड्यौलाका माध्यमले । गड्यौला मल बनाउँदा भान्साबाट निस्केका सागसब्जी लगायतका कुहिने वस्तु, काठको धूलो, सुतीको कपडा, कागज, कार्टुन जस्ता थुप्रै सामग्री प्रयोग गर्न सकिन्छ । तर, अमिलो–पिरो भने गड्यौलाले रुचाउँदैन । त्यसैले सुन्तला, कागतीको बोक्रा, भोगटे अनि खुर्सानी लगायत त्यसमा मिसाउनु हुन्न ।
तर सबै गड्यौलाले मल बनाउँदैनन् । रातो रङको गड्यौलाले मात्र मल उत्पादन गर्छ, जसका संसारमा ६ र नेपालमा ३ प्रजाति मात्रै पाइन्छन् । गड्यौलाको मलमा ६८ प्रतिशत प्रोटिन हुन्छ । यसरी गड्यौला मल उत्पादन गर्ने हो भने हाम्रो घरबाट निस्किने फोहोरमा ६० प्रतिशत कमी आउँछ ।
हेरचाह कसरी गर्ने ?
माटोमा रोग किरा नलागोस् भनेर उपलब्ध छ भने गाइबस्तुको पिसाब प्रयोग गर्न सकिन्छ । सारिएको बोटको छेउमा साना साना लठ्ठी गाढेर साहारा दिनुपर्छ। साथै बेलाबेलामा गोडमेल पनि गर्न आवश्यक छ। लहरे बाली हो भने डोरी टाँगी दिन पर्छ। जसले बोट मौलाउन पाउँछ र राम्रो उत्पादन दिन्छ।
कौसीमा खेती गरिएका फलफुल र तरकारीलाई एकनासको चिस्यानको आवश्यकता पर्दछ। बिरूवामा बढी सुख्खा र बढी पानी हाल्नु हुँदैन। कहिले काहीँ चर्को घाम लाग्दा भाँडा तातेर बिरूवा ओइलाउन सक्छ। त्यस्तो अवस्थामा छहारी तिर सार्नु पर्छ।
कौसी खेति गर्दा कति लाग्छ खर्च?
एउटा गमलाको ५० देखि २ सय रूपैयाँसम्म पर्छ। प्लान्टर ब्यागमा तरकारी लगाए २० रूपैयाँदेखि २५ रूपैयाँसम्म पर्छ। त्यसमा मल खाद र विरूवाका लागि थप ५० रूपैयाँसम्म खर्च हुन्छ।
खेती गमलामा गर्ने की ब्यागमा गर्ने त्यसमा भरपर्छ । गमलामा गर्ने हो भने गमलाको मूल्य २ सय रुपैयाँ परेपनि चार वर्षसम्म प्रयोग गर्न सकिन्छ। यदि २ सयको गमलामा तरकारी लगाएमा २ सय ५० रूपैयाँ खर्च हुन्छ। एक सय रूपैयाँको गमलामा १ सय ५० रुपैयाँ खर्च हुन्छ। गमला कस्तो खालको प्रयोग गर्ने हो त्यसमा भरपर्छ ।
कोकोपिट खाँदिएर आएको हुन्छ त्यसलाई चिस्याउन पर्छ। भिजाएपछि त्यो फुल्छ अनि त्यसमा बिरुवालाई चाहिने आवश्यक मलखाद भरेर राख्नुपर्छ। त्यसलाई एकै ठाउँमा मिलाएर मोल्दै गमलामा भर्नुपर्छ। ५० रूपैयाँको गमलामा पनि गर्न सकिन्छ। बिरुवालाई उमेर अनुसारको मलखाद पु्र्याउँदै जानुपर्ने हुन्छ । त्यसको लागि सानो गमलामा पनि खेती गर्न सकिन्छ।
कोकोपिट थरी थरीको पाइन्छ । एक खालको कोकोपिट अलि कमसल खालको हुन्छ। नरिबलको जटा रेसाहरू अलि धेरै हुन्छ। एक केजीको ६० रूपैयाँदेखि १ सय ५० रुपैयाँसम्म पर्छ। एक केजी कोकोपिटमा पानी हालेपछि त्यो फुलेर ८ केजीसम्म हुन्छ। त्यति कोकोपिटले तीन वटासम्म सय रुपैयाँ पर्ने गमलामा भर्न सकिन्छ । तरकारी रोपेको गमला घरको जुनसुकै ठाउँमा पनि राख्न सकिन्छ। सूर्यको किरण पुगेको जुनसुकै ठाउँ पनि यसका लागि उपयुक्त हुन्छ।
उनले सहरका हरेक घरमा खाली रहेको जग्गा र छतमा गमला राखेर तरकारी खेती गर्ने अभियान सुरू गरे तरकारीमा गरिने खर्च केही हदसम्म कम हुनेछ । स्वस्थ्य र विषादीरहित अर्गानिक तरकारी आफ्नै घरमा फलाउन सके तरकारीको परनिर्भर कम हुन्छ। यसले घरको सौन्दर्य पनि बढाउँछ र आर्थिक घाटा पनि कम गर्न सहयोग गर्छ।
- सरोज बलामी