१० भाद्र‚ काठमाडौं ।
काठमाडौंको बिभिन्न स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ ।
कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार वलीको डेरा र फ्याक्ट्रीमा डबल ब्ल्याक, ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाईल्याण्डर भोड्का, ब्लू डाइमेन्ड लगायतका ब्राण्डका नक्कली रक्सी बरामद भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गरेर प्रहरीले आरोपीहरुलाई सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखाको कालिन्चोक गाउँपालिका घर भएका २४ वर्षीय हरि वली, भीमेश्वर नगरपालिका–८ घर भएका भगवान बस्नेत, कालिन्चोक गाउँपालिकाका विशाल वली, रामेछापको खाँडादेवी घर भएका मनोज खत्री र खाँडादेवी कै गोपी श्रेष्ठ छन् ।
नेपाली मदिरालाई मिसाएर विदेशी मदिराको बोतलमा प्याक गरेर आरोपीहरुले नक्कली मदिरा बनाएर वितरण गर्ने गरेका थिए । वर्ल्ड दरबार (ब्ल्याक चिम्नी) दुई बोतल र एक बोतल ब्ल्याक लेबल मिसाएर उनीहरुले ४ बोतल डबल ब्ल्याक लेबल बनाउने गरेका थिए । डबल ब्ल्याक लेबल बनाउन आरोपीहरुले ‘रुद्रा’ नामको रंग पनि प्रयोग गर्थे ।
विदेशी कम्पनीको ज्याक डेनियल्स तयार गर्न आरोपीहरुले सिग्नेचर र वर्ल्ड दरबार मिसाउने गरेका थिए । रेड लेबल तयार गर्न अन्य घरेलु मदिरा र चिनी डढाएर रातो रंग बनाएर ओरिजिनल बोतलमा भर्ने गरेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नेपाली ब्रान्डको भोड्का ८८४८ पनि उनीहरुले नक्कली बनाउने गरेको थाहा भएको छ । हाइल्याण्डर नामको भोड्का र माला (प्लाष्टिकमा पाइने रक्सी) मिसाएर उनीहरुले ८८४८ भोड्का तयार गर्ने गरेको अनुसन्धानबाट थाहा भएको छ । लामो समयदेखि यस्तो कारोबार गरेपछि धेरै कमाउने लोभमा ‘डबल ब्ल्याक’ पनि बनाएर बेचेपछि उनीहरुको पोल खुलेको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा बरामद रक्सीहरु विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबार लगायतमा पठाइने गरिएको खुलेको छ । थप अनुसन्धान जारी छ ।