परिवार नियोजन सानो परिवारको लागि गरिने योजना हो । आफ्नो देश वा परिवारमा सुख, स्वास्थ्य र समृद्धिको उद्देश्यले परिवारको सङ्ख्या योजनावद्ध रुपमा कायम गर्नु नै परिवार नियोजन हो । यो परिवारको आर्थिक अवस्था र आवश्यकताअनुसार सन्तान जन्माउनु राम्रो हुन्छ भन्ने नीति हो । अहिलेको संसारमा कुनै पनि राष्ट्रले जनसङ्ख्या नियन्त्रण गर्न मातृ शिशु कल्याण तथा गुणस्तरीय जीवन कायम राख्ने उद्देश्यले परिवार नियोजन सम्बन्धी विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरेको पाइन्छ ।
परिवार नियोजन आधुनिक युगको उपज हो । समाजको विकाससँगै आएको सोच हो । तथापि यो सबै समय र सबै समाजमा उपयुक्त नहुनसक्छ । मानवता, शान्ति, समृद्ध र शिक्षित समाजमा यसको औचित्य रहन्छ भने युद्ध, सङ्घर्ष, असुरक्षाको समय वा समाजमा परिवार नियोजन कार्यक्रम कामयाव हुँदैन ।
पौराणिक कालमा बच्चाबेलादेखि नै बालबालिकाहरूलाई युद्धको भाव र संस्कार सिकाइन्थ्यो । गुरुकुल शिक्षामा युद्ध विद्या पनि सिकाइन्थ्यो वा अनिवार्य सिक्नुपथ्र्यो । नेतृत्वको अहम्ता तथा प्रभुत्ववादको कारण ठुला ठुला युद्धहरू भएका कथाहरू रामायण र महाभारतबाट पनि बोधगम्य हुन्छ । जसमा करोडौं मानिसहरूको मृत्यु भएको थियो । यसपछि राजा रजौटाहरू, जमिनदार तथा सामन्तीहरू धर्म भीरुहरू आ–आफ्नो नेतृत्व तथा प्रभुत्व स्थापित गर्न लडाइँ गरिरहन्थे । राज्य विस्तार गर्न, सम्पत्ति हडप्न आफ्नो नश्लको आधिपत्य जमाउन हत्या, हिँसा, लडाइँ गर्दथे । वार्ता तथा शान्ति सम्झौता गरेर विवादहरू सुल्झाउन चाहँदैनथे । एक समूहले अर्को समूहलाई सिध्यायो वा नामेट पार्यो भने मात्र आफ्नो बर्चश्व कायम गर्न सकिन्छ भन्ने कुतर्कबाट प्रेरित भएर विरोधी विचार र गुटमाथि आक्रमण गर्दथे । त्यतिबेला केटाकेटीदेखि नै मानिसहरूलाई युद्धको लागि तयारी अवस्थामा राखिन्थ्यो ।
थारै जनसङ्ख्या हुनेलाई आफू अरूभन्दा कमजोर हुने, आफ्नो सर्वस्व गुमाउनु पर्ने बंशज नै नाश हुने हो कि भन्ने पिरलोले सताइरहन्थ्यो । त्यसैले धेरै सन्तान धेरै शक्ति र सुरक्षा भन्ने सबैको मनोभाव थियो । बालबालिकाहरूलाई आजको जस्तो विश्वबन्धुत्व, शिक्षित, चेतनशील, स्वावलम्बी र सामाजिक बनाउने बाटोतिर लगाउने गरिँदैनथ्यो । कुनै दम्पतिले जति सन्तान जन्माए पनि सन्तानको सुखी, खुशी र समृद्ध जीवनको चिन्ता गर्नु पर्दैनथ्यो । त्यसैले त्यतिबेला शिक्षित, सभ्य, प्रतिभाशाली, समृद्ध सन्तानका लागि परिवार नियोजन भन्ने सोच कसैको मस्तिष्कमा घुसेको थिएन ।
प्रथम र दोस्रो विश्वयुद्धमा पनि करोडौँ मानिसहरूको मृत्यु भएको थियो । त्यसताका देशको नेतृत्व साम्राज्यवादी, फासीवादी तथा अधिनायकवादीको हातमा पुगेकाले देशभित्रै र देशबाहिर युद्ध भइरहेका हुन्थे । जीवन असुरक्षित थियो । हिंसात्मक घटनाहरूको बढ्दो क्रमले आफ्नो बंशज नै रहने हो कि होइन भने चिन्ता थियो मानिसहरूलाई । अर्कोतिर शासकलाई युद्ध जित्न धेरै मानिसहरूको सङ्ख्या चाहिन्थ्यो । नेतृत्व तथा परिवारलाई एक वा दुई सन्तान भएर पुग्दैनथ्यो । त्यसैले शिक्षित, जानेबुझेकाले पनि परिवार नियोजनप्रति बेवास्ता गर्दथे । अर्थात् यो अवस्थामा कुनै शासक वा घरपरिवारले परिवार नियोजनको कुनै परिकल्पना गरेनन् ।
दोस्रो विश्वयुद्धले निरङ्कुस फासिष्टहरूकोे अन्त्य गरिदियो । यसपछि मानिसहरूले युद्ध होइन, सुखी र समृद्ध जीवनको परिकल्पना गर्न थाले । यसको लागि परिवारलाई नियोजित रूपमा व्यवस्थापन गर्नुपर्छ भन्ने भाव मानिसहरूमा सिर्जना हुनथाल्यो । देश, समाज र व्यक्तिले सुखी जीवनको लागि नियोजित परिवारको आवश्यकताको महशुस गर्न थाले । परिवार नियोजनको धारणा सबै नेतृत्वकर्ता तथा जनमानसमा घुस्नथाल्यो । यसपछि सरकारी तथा गैर सरकारी तवरबाट परिवार नियोजन सम्बन्धी कार्यक्रमहरूको अनुसन्धान, विकास र व्यापक प्रचार प्रसार हुनथाल्यो । यसरी नियोजित सानो परिवार, मातृ शिशु कल्याण भन्ने परिवार नियोजन सम्बन्धी विषयवस्तुहरूले प्रश्रय पाउन थालेको हो ।
यसपछि दूरदर्शी, वैज्ञानिक, न्यायिक, विवेकी समाजले नियोजित परिवारलाई स्थान दिन थाल्यो । आजको आर्थिक विकासको युगमा अत्यधिक जनसङ्ख्यालाई विकास र शान्तिपूर्ण जीवनको अवरोधक तथा भोकमरी र गरिबीको कारक तत्व मानिन्छ । यही सोचेर जनसाङ्खिक, भौगोलिक तथा आर्थिक दृष्टिकोणबाट शक्तिशाली राष्ट्र चिनले सन् १९८० को दशकदेखि जनसङ्ख्या नियन्त्रणका लागि ‘एक सन्तान नीति ‘One Child Policy’ लाई कडाइका साथ कार्यान्वयनमा ल्यायो । यसपछि चिनले अहिले आफुलाई विश्वमा दोस्रो धनी देशको रूपमा पहिचान गराउन सफल भएको छ ।
यसैगरी नेपालमा परिवार नियोजनको सुरूवात गैर सरकारी स्तरमा सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सरकारी स्तरमा सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको कार्यालय स्थापना भएपछि भएको थियो । हाल नेपालले दुई सन्तान नीति अपनाइरहेको छ । अहिले विश्वका प्रायः सबै देशहरूमा परिवार नियोजनका कार्यक्रमहरू सफलतापूर्वक कार्यान्वयन भइरहेका छन् । अहिलेको समाज आदर्श जनसङ्ख्या अर्थात् न त धेरै न त थोरै ठिक्कको आफ्नो स्रोत र साधनले धान्ने अवस्थाको हुनुपर्छ भन्नेतर्फ लागिरहेको छ । तसर्थ केही कट्टर सनातन धर्मवादी, अन्धविश्वासी, अशिक्षित, नश्लवादी सोच भएका समाज वा मानिसहरू बाहेक अन्य प्रायः सबैले परिवार नियोजन कार्यक्रमलाई आत्मसात् गरिरहेका छन् । यो आजको बौद्धिक तथा चेतनशील युगको कुरा हो । आर्थिक स्थिति र आवश्यकताअनुसार सन्तान सीमित राख्नुपर्छ भन्ने कुरा आधुनिक युगको सोच हो । त्यसैले यसको व्यापक प्रचार प्रसार भइरहेको छ । परिवार नियोजन सम्बन्धी कार्यक्रम लाकप्रिय बनेको छ ।
वर्तमान समयमा कतिपय विकसित देशहरूको बार्षिक जनसङ्ख्या वृद्धि दर एक प्रतिशतभन्दा धेरै कम रहेको छ । कति दम्पतिले त सन्तान जन्माउन छोडेका छन् । संसारको सबैभन्दा बढी जनसङ्ख्या भएको देश चिन (१ अरब ४१ करोड) को बार्षिक जनसङ्ख्या वृद्धि दर ०.५३ प्रतिशत रहेको तथ्याङ्क चिनिया सञ्चार माध्यमहरूले बताइरहेका छन् । अर्कोतिर जनचेतना, स्वास्थ्य संस्थाको सङ्ख्या, स्वास्थ्यमा आधुनिक प्रविधि र पहुँचमा वृद्धिको कारण मानिसहरूको औसत आयु बढिरहेको अवस्था छ । यसबाट जेनरेसन ग्यापको अवस्था सिर्जना हुँदा कतिपय विकसित राष्ट्रहरू जस्तो कि जापान, अमेरिका, चिनलगायतका देशहरूमा विकास र युद्धकोे लागि आवश्यक युवा जनशक्तिको अभाव खड्किन थालेको कुरा सुनिनमा आएको छ । त्यसैले त्यस्ता देशहरूमा सरकारले विहे गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्न थालेका छन् भने चिनले सन् २०२१ देखि एक, दुई सन्तान नीतिलाई क्रमशः खारेज गर्दै एक दम्पतिले तीन सन्तानसम्म जन्माउन पाउने ‘तीन सन्तान नीति’ पारित गरेको छ ।
तर विश्वका विभिन्न समयमा भएका युद्धहरू, नरसंहारको घाउ बिर्सिएर आजभोलि संसार पुनः युद्धको बाटोतिर लाग्दै गरेको सङ्केत मिल्दछ । विभिन्न देशहरू जस्तैः सिरिया, यमन, अफगानिस्तान, म्यानमार अफ्रिकाका कतिपय देशहरू गृहयुद्धमा फसिरहेका छन् भने अर्कोतिर सीमा विवाद वा अन्य कारणले इजरायल–प्यालेस्टाइन, चिन–भारत, भारत–पाकिस्तान आदि इत्यादि देशहरूमा समय समयमा युद्ध चलिरहेका छन् । विभिन्न देशहरूमा आतङ्ककारी हमला हुने गरेका छन् । यसरी आन्तरिक तथा बाह्य युद्ध चर्कँदै जाने हो भने युद्धमा लड्ने युवा तयार पार्न अभिभावकहरूलाई धेरै सन्तान जन्माउनुको लागि पुनः आह्वान गर्नुपर्ने हुन्छ । देशभित्रै जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक उद्देश्य राखी हत्या, हिंसा, आतङ्कका श्रृङ्खलाहरू बढ्दै गयो भने परिवार नियोजन कार्यक्रम असफल हुनजान्छ । त्यसैले आजकल युद्ध वा सङ्घर्षमा दुई तीन सन्तान मरे पनि एक दुईजना बाँकी रहुन् भनेर मानिसहरूले कतैकतै परिवार नियोजनको विपक्षमा तर्कहरू राख्न थालेको कुरा सुन्न पाइन्छ । युद्धको विभीषिकाका कारण पारिवारिक जीवन असुरक्षित हुने आशंका बढ्दै गएमा अबका दिनहरूमा धेरै सन्तान जन्माउनु पर्छ भन्ने तर्कहरू पनि समाजमा उठ्न थालेका छन् ।
तसर्थ सन्तान थोरै; सुख धेरै, सानो परिवार; सुखमय घरबार, सानो परिवार; सुखी, शिक्षित, र सभ्य परिवार आदि जस्ता नाराहरूलाई व्यहारमा उतार्ने हो भने देशभित्र र देशबाहिर युद्ध, सङ्घर्ष, आतङ्क, नरहत्या आदि अमानवीय नकारात्मक हर्कतहरू मानव संसारमा कुनै हालतमा हुन दिनु हुँदैन । साँच्चै दिगो सुखी र समृद्धि जीवन खोज्ने हो भने समाजलाई सधैँ शान्ति, सन्तुष्ट, सुखी र सम्पन्न बनाइराख्नु पर्दछ । वास्तवमा परिवार नियोजन कार्यक्रम सफलताको लागि आवश्यक सर्तहरू पनि यिनै हुन् ।
– शशिराज अर्याल
दक्षिणकाली–७ फर्पिङ, गोपालेश्वर