शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ।
आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो।
किष्ट अस्पातलका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको हो।
जोशीको निधनबारे उनका आत्मकथा लेखक तथा पत्रकार गिरीश गिरिले ट्विट गर्दै थप पुष्टि गरेका छन्।
सत्यमोहन सर रहनुभएन। अहिले विहान ७ बजेर ९ मिनेटमा हामीबाट विदा हुनुभयो
२४ दिन अघि अस्पतालमा भर्ना भएका १०३ वर्षीय वाङ्गमय शताब्दी पुरूष सत्यमोहन जोशीको आइसियूमै राखेर उपचार भइरहेको थियो।
स्वास्थ्यमा समस्या देखिएपछि उनी असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई पिसाब संक्रमण, पुरानो छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार जोशीलाई विभिन्न विभाग (मेडिसिन, पल्मोनोलोजी, युरोलोजी, कार्डियोलोजी, नेफ्रोलोजी) का चिकित्सकले संयुक्त जाँच गरेको थियो।
उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।
सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।
किष्ट मेडिकल कलेजले जोशीको निःशुल्क उपचार गर्दै आएको थियो ।