Home अन्तराष्ट्रिय रूसद्वारा युक्रेनमाथि आक्रमण‚ तनाव बढ्न नदिन उच्च संयमता अपनाउन नेपालको आग्रह

रूसद्वारा युक्रेनमाथि आक्रमण‚ तनाव बढ्न नदिन उच्च संयमता अपनाउन नेपालको आग्रह

0
रूसद्वारा युक्रेनमाथि आक्रमण‚ तनाव बढ्न नदिन उच्च संयमता अपनाउन नेपालको आग्रह

काठमाडौ‚ फागुन १२ । बिहीबार विश्वकै सबैभन्दा ठूलो राष्ट्र रूसले आफ्नो छिमेकी युक्रेनमाथि आक्रमण गरेको छ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार उज्यालो नहुँदै पूर्वी युक्रेनमा सैन्य आक्रमणको घोषणा गरेपछि संसारको ध्यान युक्रेनमा अडिएको छ। दोस्रो विश्वयुद्धपछि युरोपमा कुनै एउटा मुलुकले अर्को मुलुकमाथि सैनिक आक्रमण गरेको यो पहिलो पटक हो। युक्रेनमाथि आक्रमण रूसले निकै लामो तयारी गरेको थियो।

केही सातादेखि नै झन्डै दुई लाख रूसी सैनिकले तीनतिरबाट युक्रेनलाई घेरेको भए पनि रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले अहिले आक्रमणको कुनै योजना नभएको जिकिर गर्दै आएको थियो।

पुटिनको घोषणालगत्तै बिहीबार रूसी सैनिकहरू जल, स्थल र हवाई माध्यमबाट युक्रेनमा पसेको द न्युयोर्क टाइम्सले जनाएको छ। यसै बीच युक्रेनले रूससँगको कूटनीतिक सम्बन्ध तोडेर देशमा सैनिक कानुन लागु गरेको छ। रूसी आक्रमणविरूद्ध लड्न अहिले युक्रेनीहरूले हतियार लिइरहेका छन्।

रूसी आक्रमणको पहिलो दिन भएको क्षतिको विस्तृत र स्वतन्त्र विवरणहरू आइसकेका छैनन्। यद्यपी अहिलेसम्म युक्रेनी राष्ट्रपति कार्यालयले आफ्ना ४० जना सैनिक मारिएको जानकारी दिएको छ।

रूसले भने आफ्नो आक्रमण नागरिकलाई नभई युक्रेनी सेना र सैनिक संरचनामा केन्द्रीत रहेको बताएको छ। यसअघि युक्रेनी सेनाले ५० जना रूसी सैनिक मारिएको दाबी गरेको थियो।

समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभ नजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।

रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ। युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।

रूस र युक्रेनबीच जारी तनावबारे नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ।

बिहीबार दिउँसो विज्ञप्ति जारी गर्दै परराष्ट्र मन्त्रालयले उक्त क्षेत्रमा पछिल्लो समय विकसित भइरहेका घटनाक्रमलाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ। नेपालले सबै पक्षलाई तनाव बढ्न नदिन उच्च संयमता अपनाउन आग्रह गरेको छ।

‘संयुक्त राष्ट्रसंघको सदस्य हुनुका नाताले नेपाल संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेख भएबमोजिम  कुनै पनि मुलुकको सार्वभौमिकता र अखण्डताको पूर्ण सम्मान गर्नुपर्छ भन्ने ठान्छ,’ विज्ञप्तिमा भनिएको छ।

रूसले केही दिनअघि युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिनु राष्ट्रसंघको बडापत्र विपरीत भएको पनि नेपालले उल्लेख गरेको छ।

‘कुनै पनि सार्वभौम मुलुकविरूद्ध कुनै पनि परिस्थितिमा शक्तिको प्रयोग गर्ने कुराको नेपाल विरोध गर्छ र कूटनीति र वार्तामार्फत् विवादको शान्तिपूर्ण समाधान गर्न सकिने विश्वास गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here