Home अन्तराष्ट्रिय कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि पछि न्यूयोर्कमा आपतकाल घोषणा

कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि पछि न्यूयोर्कमा आपतकाल घोषणा

0
कोरोनाको नयाँ भेरियन्ट भेटिएको पुष्टि पछि न्यूयोर्कमा आपतकाल घोषणा

मंसिर ११, काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट देखापरेपछि अमेरिकाको न्यूयोर्कमा आपतकाल घोषणा गरिएको छ । न्यूयोर्ककी गभर्नर क्याथी होचुलले विज्ञप्ति जारी गर्दै डिसेम्बर ३ गतेदेखि लागू हुने गरी आपतकाल घोषणा गरेकी हुन् ।

हाल फैलिइरहेको कोरोनाको डेल्टा र भर्खरै पहिचान गरिएको ओमिक्रोन भेरियन्टका कारण हिउँदमा संक्रमण बढ्न सक्ने चिन्ताबीच होचुलले आपतकाल घोषणा गरेको एनबीसी न्यूयोर्कले जनाएको छ ।

होचुलले शुक्रबार जारी गरेको विज्ञप्तिमा न्यूयोर्कका बासिन्दालाई खोप लगाउन समेत अनुरोध गरेकी छन् । ‘महामारीसँग लड्ने सबैभन्दा ठूलो हतियार खोप पनि हो’, उनले विज्ञप्तिमा भनिन्, ‘हरेक न्यूयोर्कबासीलाई खोप लगाउन प्रोत्साहित गर्छु र पूरा डोज लगाइसक्नुभएका व्यक्तिलाई बुस्टर डोज लगाउन समेत मेरो अनुरोध छ ।’

आपतकाल लागू भएलगत्तै न्यूयोर्क राज्यले महामारीसँग लड्न चाहिने सामग्री खरीद गर्न, अस्पतालको क्षमता वृद्धि गर्न र स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्ने गरी कदम चाल्न सक्नेछ । त्यस्तै, राज्यको स्वास्थ्य मन्त्रालयले अस्पतालका सामान्य उपचार प्रक्रियालाई सीमित गर्न सक्नेछ ।

‘हामीले यो हिउँदमा संक्रमण बढ्ने खतरनाक संकेत देखिरहेका छौं’, होचुलले भनिन्, ‘हालसम्म नयाँ ओमिक्रोन भेरियन्ट न्यूयोर्कमा फेला परेको छैन तर यो आउन सक्छ ।’

आपतकाल घोषणा गर्नु केही घण्टाअघि गभर्नरको कार्यालयले यसै हप्ता दक्षिण अफ्रिकामा पत्ता लागेको नयाँ भेरियन्टलाई नजिकबाट निगरानी गरेको जनाएको थियो ।

नयाँ ओमिक्रोन भाइरस दुई वर्षअघि चीनमा फेला परेको ‘सार्स कोभ-२’ नामक पहिलो कोरोनाभाइरसबाट झण्डै ५० पटकसम्म ‘चिन्ताजनक म्युटेशन’ भइसकेको छ ।

त्यस्तै, नयाँ भाइरसमा मानव कोषभित्र छिर्न सघाउने ‘स्पाइक प्रोटिन’मा ३२ पटक उत्परिवर्तन भएको समाचारमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here