श्रावण महिना किन विशेष ?
नेपाली बिक्रम संवत अनुसार चौंथो महिनाको रुपमा रहेको श्रावण (साउन) महिना वर्षकै विशेष महिनाको रुपमा लिने गरिन्छ । पौराणिक मान्यता अनुसार श्रावण महिना देवताहरूका पनि देवता महादेव शिव शंकर अर्थात् शिव भगवानको महिनाको रुपमा लिइन्छ ।
साउन महिनामा शिवको पूजा गरे सबै देवताको पूजा गरेबराबर फल प्राप्त हुन्छ भन्ने सनातन विश्वास छ । साउन महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण भएकाले यो महिनालाई विशेष रूपमा लिइन्छ । विशेष गरी साउनको सोमबार शिवजीको व्रत एवं पूजा गर्ने चलन छ । सती देवीले दोस्रो जन्ममा हिमालय पर्वतमा रानी मेनकाको गर्भबाट पार्वतीका रुपमा जन्म लिनु भयो र देवी पार्वतीले बाल्य अवस्था देखि नै यसै पवित्र श्रावण महिनामा श्रद्धा एवं भक्तिले निराहार रही कठोर तपस्या गरेर आशुतोष भगवान् शिवजीलाई खुसीपारी विवाह गर्नु भयो र पुनर्मिलन हुनुभएको थियो । यसै कारणले शिवजीलाई यो श्रावण महिना अविस्मरणीय भै अति प्रिय हुन गएको पौराणिक मान्यता छ । यिनै किम्वदन्तीहरुका आधारमा महिलाहरूले श्रावण महिनालाई बढी महत्त्व दिन्छन् ।
हिन्दु धर्म अनुसार हाम्रो सनातन संस्कृतिमा आउने हरेक महिनाको चाडपर्व एवं तिथि मितिको अर्थ महत्त्वपूर्ण भएपनि साउनको महिमा अरु महिनाको भन्दा भिन्न छ । वर्ष भरिकै महत्वपूर्ण कृषि कार्य रोपाई यस महिनामा अन्तिम चरणमा पुगिसकेको हुन्छ । तसर्थ यस महिनाबाट धर्मकर्मका कामको सुरुवात गरिन्छ । यसै समयमा बढी वर्षा हुने, झरी पर्ने, जीवाणु तथा किटाणुको संक्रमण बढी हुने हुँदा फोहोर र हिलो पानीले गर्दा शरिरमा रोग नलागोस् भनी कर्कटे संक्रान्तिमा लुतो फाल्ने चलन पनि छ । यसै समयमा हाम्रो पाचनप्रणाली समेत कमजोर रहने हुनाले माछा, मासु, प्याज, लसुन एवं उत्तेजित हुने खानेकुरा, तामसिक भोजन एवं मदिरापान जस्ता खानेकुरा खानु हुदैन भन्ने मान्यता रहि आएको छ । यसको वैज्ञानिक कारण यस समयमा मासुजन्य परिकारमा जीवाणु तथा किटाणुहरूको संक्रमण बढी हुने भएकाले तामसिक खाना नखाएकै राम्रो मानिन्छ ।
सोमबारका दिन ब्रत बस्नु र श्रावणमास भरि जो भक्त भक्ति र भावपूर्ण तरिकाले तन मन र वचनले शिवजीको आराधना गर्दछ, उसलाई शिव भगवानको विशेष कृपा प्राप्त हुने जनविश्वास रहेकाले धार्मिक तथा सांस्कृतिक दृष्टिले साउन महिना भक्त र भक्तिको लागि सर्वोत्तम महिना रहेको छ ।
साउने सोमवार
साउनको महिना व्रत बसी शिवको पूजा गरे आफू, श्रीमान, सन्तान एवं परिवार सबैको कल्याण हुने धार्मिक विश्वास छ । तर महिना भरी व्रत वस्न नसकेपछि सोमबार व्रत बसी शिवलाई शुद्ध जल चढाएर खुसी बनाउन सकिन्छ भन्ने शास्त्रीय मान्यता छ ।
धार्मिक पुराणहरूमा मुख्य गरी तीनथरि व्रतको चर्चा गरिएको पाइन्छ । ती हुन् – साउने सोमबार, र्सोह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ । दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा सारा समस्या समाधान हुने जनविश्वास छ ।
आजभोली नारीहरु आफू अविवाहित भए असल श्रीमान् पाउने उद्देश्यले साउनभरी भगवान् शिवजीको पूजा आरधना गरि व्रत बस्ने गर्छन् भने विवाहितहरुले सौभाग्य, श्रीमानको दीर्घायु, घरपरिवारको सुख, शान्ति, ऐश्वर्य, प्रेम र सुस्वास्थ्यको कामनाले भोलेबाबाको उपासना गर्ने गरिन्छ । यसका साथै विद्यार्थी, व्यापारी, प्रतिष्ठित व्यक्ति, प्रेमीजोडी, किसानी एवं जागिरेहरूको लागि श्रावण मासमा शिवजीको व्रत, जप, तप, रुद्री, पाठ, अभिषेक एवं पूजा गर्नाले मनकामना पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।
साउने श्रृङ्गार र प्राकृतिक रंग
परापूर्वकालदेखि नै साउने सोमबारको दिन व्रत बसी चोखो खाने र शुद्ध भएर बस्ने चलन थियो । तर अहिले आएर आधुनिकता र समयको मागसंगै साउन महिना भरि हरियो, पहेलो र रातो रंगको वस्त्रहरु जस्तै सारी, चोलो, कुर्ता, चुरा, पोते, नङ पालिस, मेहेन्दी आदि लगाउने, पूजाआजा गर्ने शिव मन्दिरमा जाने, रुद्राभिषेक गर्ने प्रचलन बढेको छ । यस कार्यमा महिला मात्रै नभएर पुरुषहरू पनि संलग्न भएको देख्न पाइन्छ । बिवाहित महिलाहरुका लागि चुरा पोते र टीकाको महत्त्व बढी नै छ । आफ्नो सौभाग्यका लागी चुरा लगाउने चलन त छदैछ साथमा चुराले महिलाको हातलाई सुन्दर बनाइदिन्छ । पहिरनको रङ्गसंग मिल्ने काँचका हातभरी चुरा लगाउँदा हातको सौन्दर्यमा पनि बढी आर्कषण थपिएको देख्न पाइन्छ ।
श्रावण महिनामा हरियो चुरा, हरियो पहिरन लगाउने कुरालाई प्रमाणित गर्न नसकिएपनि यस महिनामा चारैतिरको प्राकृतिक वातावरण एवं बोटविरुवा पनि हरियो हुने भएकाले प्रकृति जस्तै हरियो भएर हिँड्नाले भोलेबाबा खुसी हुने अधिकांश विद्वान एवं हिन्दु महिलाहरूको धारणा छ । प्राकृतिक रुपले नै साउन महिना जलमय हुने हुँदा जताततै रमणीय एवं हरियाली दृश्य देख्न पाइन्छ । हरियो रङ्ग प्रेम र वातावरणको प्रतीक मानिन्छ । हरियो वस्त्रलाई प्रकृतिको सम्मानका रुपमा लिन सकिने भएकाले त्यसैले साउन महिनाभरि नै हरियो वस्त्र, हरियो चुरा, हरियो पोते र हरियो टीका लगाउने चलनलाई प्रकृतिको सम्मान संग जोडेर हेर्न सकिन्छ । हरियो प्रेम र वातावरणको, रातो सौभाग्यको र पहेंलो पवित्रताको प्रतीक हो ।
श्रावण महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो । यसका कारण शिवलाई जल अर्पण गरेर प्रकृतिसँग नजिक हुने अवसर पनि हो । जसका कारण यो महिनामा हरियो रंगका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो । जसका कारण प्रकृतिको साथ रहने र भाग्यमा पनि सकारात्मक प्रभाव पर्ने गर्छ । शास्त्रमा प्रकृतिलाई इश्वरको रुपमा लिइएको छ । जसका कारण प्रकृतिको पूजा गरिने गरेको छ । हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा अर्चना गर्नुपर्छ जसका कारण आफू र पतिको आयूसमेत बढ्छ । हरियो रंग बुद्ध ग्रहको प्रतिक हो । बुद्ध ग्रह भविष्य तथा व्यापारसँग जोडिएको हुन्छ । यस्तोमा हरियो रंग लगाउँदा मन प्रसन्नता हुन्छ भने घरमा सम्पन्नता छाउँछ । श्रावणमा हरियो पहिरदा शिव भगवान खुसी हुने धार्मिक विश्वास छ । भगवान शंकर प्रकृतिसँग विशेष रुपमा जोडिएका छन् । जब भक्तले स्वयंलाई प्रकृतिसँग नजिक ल्याउँछन् तब भगवान शिवले उनीहरुको मनोकामना पूरा गर्ने विश्वास गरिन्छ । श्रावणमा हरियो रंगको चुरा पहिरिने महिलासँग भगवान विष्णुसमेत प्रसन्न हुनेछन् ।
८० वर्ष पार गरेकी हजुरआमा देखी भर्खरै जन्मेका डेढ दुइवर्षका नातीनीसम्मका हातमा हरिया चुराले सजाएर साउनको स्वागत गरिरहेका हुन्छन् । अहिले साउन भन्नासाथ हरियो रङ्गको पर्यावाची जस्तै लाग्न थालेको छ । महिलाहरूमा साउन महिना लाग्नासाथ हरियो चुरा र पोते लगाउनुपर्छ भन्ने मानसिकता बढेको देख्न पाइन्छ । त्यसैले यो आस्थामय साउन महिनामा हरियो, पहेलो र रातो सम्मिश्रण गरी श्रृङ्गार तथा कपडा विशेष रुपले लगाइन्छ । साउन महिना भरि हरियो चुरा, हरियो बस्त्र र हत्केलाभरि मेहन्दीले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु सांस्कृतिक, संस्कार र विश्वास अझ गाढा हुदै गएको महशुस गर्न सकिन्छ । हत्केलामा जति बढी गाढा मेहन्दीको रङ्ग बस्यो उति नै श्रीमानको मायाँ पाइन्छ भन्ने जनविश्वास छ । अझ अहिले त किशोर किशोरीहरुले आÇनो प्रेमी प्रेमीकाको नाम समेत मेहन्दीले हातमा लेखेर गहिरो प्रेमानुभूति प्रदर्शन गर्ने समेत गर्दछन् ।
साउनमा मेहन्दी लगाउनु कति उचित ?
मेहन्दी, जसलाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यसलाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ ।
मेहन्दी लगाउनको लागि हिना नामक विरूवा र झाडीको पातहरूलाई सुकाएर पिसिन्छ । त्यसपछि यसको पेस्ट बनाएर लगाइन्छ । केही घन्टा पछि यसले छालामा रातो-मरुन रङ्ग दिन्छ, जुन केहि हप्ता सम्म रहिरहन्छ।
हिन्दू किम्बदन्ती अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाएकी थिइन् । र महादेवबाट सौभाग्य पाइन् । सोही विश्वासका साथ नेपाली महिलाहरुले पनि आफ्ना हात मेहेन्दीले रंग्याएका छन् ।
नारीको सोर्ह शृंगार मेहन्दीबिना अपूरो हुन्छ । यसलाई हात एवं केशको सौन्दर्यका लागि प्रयोगमा ल्याइन्छ । मेहन्दी विभिन्न चाडपर्व, उत्सव एवं विशेष समयमा बढी प्रयोग हुन्छ । साउन महिनामा कतिपयले धार्मिक विश्वासका आधारमा मेहन्दी लगाउँछन् भने कोहीले फेसनका रुपमा पनि लगाउँछन्।
कतिपयले मेहन्दीलाई पारिवारिक प्रेमसँग जोडेर पनि हेर्ने गरेका छन् । विवाहित महिलाले पतिको दिर्घायुको कामना गर्दै मेहन्दी लगाएको पाइन्छ । महिला दिदीबहिनीहरुले साउन महिना भरी प्रत्येक सोमबार शिवको पूजाआराधना गरी ब्रत बस्ने गर्दछन् । पूजा आराधना गर्दा हात खुट्टामा मेहन्दी लगाउदा चोखो मानिनुका साथै शुभ मानिने भएकोले साउन महिनामा मेहन्दीको धेरै माग र बिशेषता रहेको छ ।
हातमा मेहेन्दीको प्रयोग अहिले फेसन जस्तो बन्दै गएको छ । ग्रामिण क्षेत्रमा भन्दा पछिल्लो समय शहरीया पुस्तामा साउन महिनामा हरियो पहिरन लगाउने फेसनको रुपमा बिकास भइरहेको छ । काठमाडौंका चोक-चोकमा मेहेन्दी तथा चुरा व्यवसाय फस्टाइरहेको देखिन्छ ।
मेहन्दी लगाउँदा गाडा बस्यो भने आफुलाई माया गर्नेले धेरै माया गर्छ भन्ने पुरानो भनाइ छ । त्यसै अनुरूप कतिपय महिला दिदी-बहिनीहरू मेहन्दीको रंग गाढा बनाउन मेहन्दीमा विभिन्न किसिमका एसिड मिसाउँछन् जुन हाम्रो शरीरका लागि हानिकारक हुन्छ । यस्ता केमिकलले छालामा एलर्जी हुने, हात पोल्नेजस्ता विभिन्न किसिमका समस्या देखा पर्न सक्छन् । राम्रो मेहन्दी लगाउँदा स्वास्थ्यमा खासै असर नपरे पनि कम गुणस्तरको मेहन्दी भने छालाका लागि हानिकारक हुने सम्बद्ध चिकित्सक बताउँछन्। त्यसैले सकेसम्म केमिकल नभएको प्राकृतिक मेहन्दी प्रयोग गर्नुपर्छ ।
बजारमा पाइने भन्दा घरैमा तयार पारिएको प्राकृतिक मेहन्दीको प्रयोग गर्न चिकित्सकहरुको सुझाव छ । बजारमा पाइने हरियो हिना मेहन्दीको प्रयोग सामन्यतया ठिकै मानिए पनि रातो वा कालो हिनाको प्रयोगले छालामा समस्या ल्याउँछ ।
गर्भवती महिलाले पनि मेहन्दी लगाउनु राम्रो होइन। छालारोग विषेशज्ञहरुका अनुसार मेहन्दीमा प्रयोग भएको केमिकलले गर्भको बच्चालाई समेत असर गर्छ । गर्भवतीले कपाल तथा हातमा मेहन्दी नलगाउन सुझाव दिइएको छ । गर्भवतीको छाला निकै संवेशनशील हुन्छ, त्यसैले केमिकल मिसाइएका तथा खराब मेहन्दीको प्रयोगले छालामा असर गर्ने हुनाले प्राकृतिक मेहन्दीमात्र प्रयोग गर्नुपर्छ ।
नेपालमा मेहन्दी बेचबिखनका लागि कुनै मापदण्ड बनाइएको छैन। बजार अनुगमन पनि भएको पाइँदैन। यसकारण बजारमा जथाभावी रुपमा कम गुणस्तरका मेहन्दी बिक्री भइरहेको छ । अनुगमन नहुँदा महिलाहरू बजारमा उपलब्ध स्वास्थ्य प्रतिकूलका मेहन्दी लगाउन बाध्य छन् ।
के हो बोलबम ?
हिन्दु धर्म अनुसार विहान सबेरै उठेर कुनै पवित्र नदीमा स्नान गरी शुद्ध भएर घडामा जल उठाई बोलबमको पवित्र नारा वाचन गर्दै डाक बम र बोलबम बनेर पहेँलो वस्त्रधारी भक्तजनले खाली खुट्टा पैदल हिँडेर विभिन्न शिवालयमा जल अर्पण गर्ने कार्यलाई बोलबम भनिन्छ ।
साउन महिनाको हरेक सोमबारका दिन पशुपति क्षेत्र, बराहक्षेत्रमा यस्तो मेला विशेष हुन्छ। पशुपतिमा सुन्दरीजलबाट तथा पिण्डेश्वर शिवालयमा धार्मिक तीर्थस्थल चतरा कौशिकी तट सप्तकोशी नदीबाट जल उठाएर ल्याई अर्पण गर्ने चलन छ। स्थानीय शिवालयहरुमा पनि पवित्र गंगाबाट जल ल्याई अर्पण गर्दै हिड्ने चलन बसेको छ । तर स्मरणीय के छ भने नेपालमा साउने सोमवार तथा बोलबम मनाउने चलन सुरु भएको धेरै समय भएको छैन।
साउनमा रुद्री
हिन्दु परम्परा अनुसार नेपाली समाजमा साउन महिनामा रुद्री लगाउने चलन बढी छ । रुद्री भनेको शतरुद्रीय वैदिक मन्त्र पाठ गरी शिवलिङ्गमा अभिषेक गर्नु हो। विशेषगरी साउनको सोमवार पारेर तथा त्यस दिन नजुरे साउनकै अन्य कुनै दिन ब्राहृमणहरूद्वारा रुद्रीभिषेक गराइन्छ । रुद्रीमा वैदिक मन्त्रोच्चारण सहित जलधाराले शिवको अभिषेक गरिन्छ । धर्म, अर्थ काम र मोक्ष यी चार कुराको इच्छा गर्नेहरुले रुद्री पाठद्वारा आशुतोष भगवान् रुऽलाई प्रसन्न पार्छन् । रुद्री प्रसन्न हुनाले सम्पूर्ण इच्छा पूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ। भिन्नभिन्न वस्तुले अभिषेक गरी रुद्रीपाठ गर्नाले भिन्नभिन्न कामना पूर्ण हुन्छन् भन्ने विश्वास छ।
साउन महिना नै शिवलाई बढी प्रिय लाग्नुको कारण के हो भने यो महिनामा अधिक वर्षा हुन्छ जसले शिवको विषदग्ध तापयुक्त शरीरमा शीतलता प्रदान गर्छ । यो महिनामा प्रकृतिले नै रुद्रीभिषेक गर्छ। शिव पुराणअनुसार शिव स्वयं जल हुन् । भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्- मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।
शिवपुराणमा उल्लेखित कथा अनुसार यसै साउन महीनामा नै पौराणिक कालमा देवता र दानवमिलेर समुन्द्र मंथन गरेका थिए । समुन्द्र मंथन गर्दा गर्दै कालकुट महाबिष निस्कियो । जसले संसारलाई नै भष्म पार्न सक्थ्यो । त्यस्तो विष देखेर देव तथा दानव सवै त्राही त्राही भए । यो देखेर तत्कालै त्यस प्रलयकारी कालकुट बिषलाई आशुतोष भगवान् शिवजीले ग्रहण गरि आफ्नो कण्ठमा समाहीत गरि समस्त सृष्टिको रक्षा गर्नुभएको थयो र त्यसै विषपाना बाट शंकर भगवान नीलवर्ण हुन गई उनको नाम नै नीलकण्ठ रहन गयो । कालकुट विषको प्रभावका कारण नीलकण्ठलाई डाहा भएकाले डाहा शान्त गर्न देवगणहरूले शिवजीलाई जल अर्पण गरेपछि मात्रै डाहा शान्त भएको कारणले गर्दा आजका दिनसम्म पनि शिवलिङ्गमा जल अभिषेक गर्नुको ठुलो महत्त्व रहेको छ ।
शिव भगवान् आराधना बाट प्रसन्न हुनुभए पनि साउन महीनामा निलकण्ठ भगवानलाई गरिने जलाभिषेक तथा रुद्राभिषेकको ठूलो महत्त्व रहेको पाइन्छ । वेद मन्त्र उच्चारणको साथमा शंकर भगवानलाई जल अर्पण गर्नु साधकलाई अध्यात्मिक जीवनको लागि महाऔषधिको रुपमा काम गर्दछ । भगवान् रुद्रलाई प्रसन्न पार्नको लागि निष्काम भावले रुद्रीपाठ गरेको फल अनन्त गुणा बढी मिल्ने कुरा शास्त्रमा उल्लेख छ ।
साउने सोमवारका गन्तव्य मन्दिरहरु
साउने सोमवारका दिन देशभरिका शिवालायहरूमा भक्तजनको भीड लाग्छ । काठमाडौं वरपरका क्षेत्रका श्रद्धालुहरु साउन महिनाको सोमवारको प्रमुख गन्तव्य बन्ने गरेको छ – पशुतिनाथ क्षेत्र वा पाशुपत। पौराणिक ग्रन्थहरूमा पशुपतिनाथको ठूलो महिमा बताइएको छ। यसैगरी ललितपुरको कुम्भेश्वर, सन्तानेश्वर महादेव, खोटाङ हलेसी महादेव, काठमाडौंको कोटेश्वर, महोत्तरी जलेश्वर, म्याग्दीको गलेश्वर, धरानको पिण्डेश्वर काभ्रेको धनेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, रसुवाको गोसाइँकुण्ड, नुवाकोटको दुप्चेस्वर लगायतका शिवालयहरूमा साउने सोमबारका दिन विशेष घुइँचो हुन्छ। केही वर्षयता बोलबम यात्रा पनि चल्ने गरेको छ।
व्रत संस्कृति कि विकृति ?
विभिन्न धार्मिक ग्रन्थ अनुसार व्रतलाई जसरी परिभाषित गरेपनि व्रत भनेको स्वास्थ्य विज्ञानसँग सम्बन्धित विषय हो । आफ्नो स्वास्थ्यका लागि योग गर्नु, ध्यान गर्नु, व्रत बस्नु, देवताहरूको दर्शन गर्न मन्दिर जानु, मान्यजनप्रति प्रातः कृतज्ञता ज्ञापन गर्ने उद्देश्यले दर्शन ढोगका माध्यमबाट आभार प्रकट गर्नु मानवीय कर्तव्यअन्तर्गत पर्छन् । व्रतचाहिँ खराब र योगचाहिँ राम्रो वा ध्यानचाहिँ राम्रो भन्ने हुँदैन । शरीरको सामथ्र्यअनुसार योग, ध्यान, व्रत, उपासना आदि कृत्यले मानिसलाई शारीरिकरूपमा सबल बनाउँदै मानसिकरूपमा पनि दृढनिश्चयी भाव विकास गराउँदै स्वकार्य सम्पादनमा दक्षता हासिल गराउँछन् । त्यसैले व्रत, उपासना, योग आदि साधन हुन्, साध्य होइनन् । साध्य त केवल परमात्मा प्राप्ति, मोक्षप्राप्त गर्नु मात्र हो । अतः योग, ध्यान, व्रत, उपासना वा मान्यजनप्रति आदरभाव प्रकट गर्नुको तात्पर्य हो कि यस लोकमा आवश्यक पर्ने सुखशान्ति एवं ऐश्वर्य उपभोग आदि प्राप्त गर्नु र परलोक साध्य कृत्यमा तल्लीन गर्नु गराउनु नै व्रतादिको मुख्य उद्देश्य हो ।
व्रत बस्दा म यो यो नियममा रही आजको व्रत बस्छु भनी संकल्पपूर्वक व्रत बस्नुपर्छ । व्रत कसैका लागि बसिदिने विषय होइन । व्रतमा संकल्प मुख्य मानिन्छ र त्यसमा नियमादि सबै कुराको उल्लेख गरी यस प्रकारको व्रत बस्दैछु भनी प्रातः स्नान गर्दा नै आफूले लिने व्रतको स्वरूपको निर्धारण स्वयं व्रतालुले गर्छन् । व्रत बस्दा जस्तो नियम पालन गर्छु भनिन्छ त्यस्तो नियम पालन गर्ने उसै व्रतालुको मात्र विषय हो । व्रत सकेपछि भोलिपल्ट व्रतको समापन अर्थात् व्रतपारणा गर्नुपर्छ । यति गर्दा मात्र एउटा व्रत पूर्ण भएको मानिन्छ ।
तर हाल समाजमा दिनप्रतिदिन बढ्दै गएको फेशन तथा देखासिकीले विभिन्न विकृतिहरु भित्रायाएको छ । आफ्नो आर्थिक अवस्था भन्दा माथी उठेर अर्काले गरेको वा लगाएको देख्दैमा आफुलाई पनि त्यहि गहना तथा वस्त्रहरुको माग गर्ने महिलाहरु पनि उत्तिकै भेटिन्छन् हामो समाजमा । यसले कत्तिपय अवस्थामा पारिवारिक र आर्थिक जटिलताहरु समेत निम्तने गरेका छन् । अर्कोतर्फ महादेव जस्तै पति पाँउ भन्ने आस्था राखेर होस् अर्थात् पतिको दिघार्युको कामनाका लागी पानी समेत नखाइकन बसेको ब्रत, यसले व्यवहारिक जीवनमा कत्तिको प्रभाव पारेको छ त्यो भने आम महिलाहरुले बुझ्न जरुरी छ । हुन त कहिलेकाँहि पेट खाली राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि फाइदाजन मानीन्छ तर पानी समेत नखाईकन ब्रत बस्नुले वास्तमै पनि शरिरलाई फाइदा गर्दैन । यस्तो देखाउने, प्रतिस्पर्धा गर्ने, अरुको डाहा गर्ने प्रचलनले महिला महिला बिचमा समेत द्धन्द्धात्मक स्थिती पैदा गर्न सक्छ । त्यसैले पनि यस्ता चाडपर्वको नाममा सुनका गरगहना, भड्कीलो शृङ्गार, त्यस्तै उच्च मुल्यका कपडाहरु लगाउने अभ्यास चाँही साह्रै नराम्रो पक्ष हो । यसले हाम्रो मौलीक संस्कृतिलाई ओझेलमा पार्दछ । परम्परालाई जोगाउने भन्दैमा अरुको देखासिकीका लागी तडकभडक गर्नुभन्दा पनि ‘घाँटी हेरी हाड निल्नु’ भन्ने तथ्यलाई व्यवहारमा लागु गरि संस्कृतिको जगेर्ना गर्नेतर्फ लाग्नु नै सबैभन्दा उत्तम हुन्छ ।
***