Tuesday, February 11, 2025
थप

    कोभिडको समयमा किन पूर्वीय दर्शनतर्फ मोडिँदैछ दुनियाँ ? नेपालमा पनि बालबालिकालाई पूर्वीय दर्शनका बारेमा सक्रिय गराइँदै

    साउन ४, काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोनाबाट बच्न निषेधाज्ञाका बेला फुर्सदिला बालबालिकालाई पूर्वीय दर्शनमा आधारित जीवनशैलीका विषयसँगै अतिरिक्त क्रियाकलापमा अब्बल बनाउन थालिएको छ ।

    पूर्वीय दर्शनका विभिन्न विषयमा व्यावहारिक अभ्याससहित प्रशिक्षण गत वर्षको कोरोना महामारीदेखि नै शुरु गरिएको हो । पतञ्जली योग समितिको बाल संस्कारले जुम प्रविधिबाट प्रत्येक दिन बेलुकी एक घण्टा बालबालिका जम्मा पारेर योग अभ्यास, सूर्य नमस्कार, ध्यानलगायत पूर्वीय दर्शनमा आधारित ज्ञानसँगै चित्रकला, वक्तृत्वकला, वादविवाद, श्लोकान्ताक्षरीलगायत प्रतियोगिता गराइन्छ ।

    बेलुकी पाँच बजेदेखि छ बजेसम्म हुने यो कार्यक्रममा ५०० जनाभन्दा बढी बालबालिका जुम प्रविधिका माध्यमबाट सहभागी हुने गरेको समितिका संयोजक लोकनाथ खनालले जानकारी दिए । कार्यक्रममा प्रत्येक दिन योग आशन गराइन्छ । योग आशनपछि मन्त्रोच्चारणसहित प्रत्येक बार गरिने फरक फरक क्रियाकलाप पनि तोकिएको छ । जसअनुसार आइतबार कविता, सोमबार योग आसन विशेष, मङ्गलबार वैदिक मन्त्र विशेष, बुधबार चित्रकला, शुक्रबार गीत र शनिबार नृत्य प्रस्तुत गरिन्छ । बिहीबार भने यसबाहेकका अन्य क्रियाकलाप गरिने तालिका बनाइएको छ ।

    समितिका प्रशिक्षकले एक घण्टा प्रशिक्षण दिने यो कार्यक्रममा एक घण्टा भने बालबालिकाबीच आन्तरिक अन्तरक्रियासमेत हुने गरेको छ । जसबाट बालबालिकाले जनसम्पर्क गर्ने, निषेधाज्ञाका कारण घरबाट निस्कन नपाएपनि प्रविधिलाई उपयोग गर्दै दौँतरी उमेरकाहरुसँग कुराकानी गर्ने अवसर पाएका छन् । यसले बालबालिकालाई फुर्सदका बेलामा कुलतमा लाग्नबाट समेत जोगाएको छ ।

    यो कार्यक्रम गतवर्ष असोजमा एक महिना चलाइएको थियो । दशैँका कारण रोकिएको कार्यक्रम बालबालिकाले नै खोजी गरेपछि मङ्सिर २१ गतेदेखि पुनः बेलुकी पाँच बजेदेखि छ बजेसम्म कार्यक्रमलाई निरन्तरता दिइएको हो । यो कार्यक्रममा सहभागी बालबालिकामा बिहान उठ्ने, पानी खाने, हिँडडुल गर्ने, योग अभ्यास गर्ने, बाआमासँग गर्ने व्यवहार परिवर्तन, बजारको भोजन कम प्रयोग, मोबाइल खेलाउने बानीमा कमी आएको लगायतका सकारात्मक परिवर्तन बालबालिकामा आएपछि अभिभावक पनि खुसी भएका छन् । बालबालिकाको रुचि र अभिभावकको पनि संस्कार सिकाउने चाहनाले कार्यक्रमलाई निरन्तरता दिइएको समिति संयोजक खनालले जानकारी दिए ।

    कार्यक्रमलाई नयाँ स्वरुपमा निरन्तरता दिन चित्रकला प्रतियोगितालगायत विषयमा भर्चुअल माध्यमबाट नै प्रतियोगिता गरेर पुरस्कृत गरिने तयारीसमेत गरिएको जनाइएको छ । जुमबाट चार वर्षदेखि १४ वर्षसम्मका बालबालिका कार्यक्रममा जोडिने गरेका छन् ।

    यिनै बालबालिकाकाबीच चित्रकला प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा ८५ जना बालबालिकाले भाग लिएका छन् । तीमध्ये उत्कृष्ट १० जनालाई पुरस्कृत गरिएको संयोजक खनालले सुनाउनुभयो । पुरस्कृत हुनेमा सिजल पुन, बुद्ध गुरुङ, वाटिका, ओजस्वी, पेरिस पुरी, श्रुति भट्टराई, एनी गुरुङ, जेसिका पोखरेल, इशा र प्रिमोस शिल्पकार पुरस्कृत भएका छन् । पुरस्कृत सबैलाई मोबाइल रिचार्जको व्यवस्था गरिएको जनाइएको छ ।

    – रासस

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै