काठमाडौ‚ फागुन १५ ।
भारतले सरकार-सरकार (जी-टू-जी) सम्झौतामार्फत आगामी पाँच वर्षसम्म नेपाललाई निश्चित परिमाणमा रासायनिक मल उपलब्ध गराउने भएको छ।
सोमबार दुई देशका अधिकारीहरुबीच भएको भर्चुअल वार्तामा यस्तो सम्झौता भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता एव सहसचिव प्रकाशकुमार सञ्जेलले जानकारी दिए ।
भारतले नेपाललाई वार्षिक कम्तीमा १ लाख मेट्रिक टन युरिया तथा ५० हजार टन डीएपी मल उपलब्ध गराउने सम्बन्धी समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको छ। नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्मा र भारतको तर्फबाट रसायन तथा मलखाद मन्त्रालयका सचिव राजेशकुमार चर्तुवेदीले भर्चुअल विधिबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।
नेपालको कुल मल खपतको ३० प्रतिशत मल भारतबाट ल्याउन जीटूजी गरिएको हो । समझदारीअनुसार, यो वर्ष भारतले १ लाख टन युरिया र ५० हजार टन डीएपी मल उपलब्ध गराउनेछ। भारतले आगामी आर्थिक वर्षमा कुल १ लाख ७० हजार टन, तेस्रो वर्षमा १ लाख ९५ हजार टन, चौथो तथा पाचौं वर्षमा २ लाख १० हजार टन रसायनिक मल उपलब्ध गराउनेछ। यसको मूल्य तथा अरू शर्तका विषयमा थप सम्झौता हुनेछन्।
भारतसँग जी-टु-जी प्रक्रियामार्फत रासायनिक मल खरीद गर्न नेपालले पहल गर्दै आएको थियो। नेपालले हरेक वर्ष समयमैं रासायनिक मल भित्र्याउन नसक्दा खेतीपातीका समयमा चरम मल अभाव हुँदै आएको छ।
भारतसँग गरिएको समझदारीअनुसार, मल आए पनि किसानको मागअनुसारको उपलब्धता भने हुनेछैन। नेपालमा वार्षिक ७ लाख टन रासायनिक मलको माग हुने अनुमान छ।