काठमाडौँ — नेपाल सरकारले चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्कमा छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै फिल्म उद्योगले तिर्नुपर्ने इजाजत तथा नवीकरण शुल्कमा छुट दिने बताएका हुन् ।
‘उत्पादनमुलक उद्योग होटल तथा चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिको विद्युत डिमान्ड शुल्क छुट दिने व्यवस्था मिलाइनेछ । कोभिड १९ प्रभावित होटल, ट्राभल, यातायत र पर्यटन व्यवसाय सार्वजनिक यातायात, हवाई सेवा, चलचित्र उद्योग, हस्तकला उद्योग, संचारगृह र विज्ञापन सेवा, टेलरिङ, व्युटी पार्लर तथा हेल्थ क्लबजस्ता व्यवसायले आर्थिक वर्ष २०७८/७९ मा तिर्नुपर्ने इजाजत तथा नवीकरण दस्तुर छुट दिई स्वत: नवीकरण हुने व्यवस्था गरिनेछ,’ मन्त्री पौडले बताए ।
यस्तै सबै प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गरिने पनि पौडेलले बताए । ‘सबै प्रदेशमा फिल्म छायांकनस्थल निर्माण गरिनेछ । गणेश हिमाल क्षेत्रमा फिल्म छायांकन बनाउन सम्भाव्यता अध्ययन गरि निर्माण प्रारम्भ गरिनेछ,’ बजेट भाषण गर्दै अर्थमन्त्री पौडेलले भने । यसैगरी काभ्रेको बनेपामा अत्याधुनिक चलचित्र स्टुडियो निर्माण गरिने घोषणा पनि गरिएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटमा फिल्म क्षेत्रमा प्रयोग हुने उपकरणको भन्सारमा छुटलगायत करयोग्य आयमा १ प्रतिशत मात्र आयकर व्यवस्था गरि ती व्यवसायको नोक्सानी सार्न मिल्ने अवधि बढाएर १० वर्ष पुर्याइएको पनि उल्लेख छ ।