Home धर्मसंस्कृति सन्दर्भ – सिथि नख:को

सन्दर्भ – सिथि नख:को

0
सन्दर्भ – सिथि नख:को

नेपालमा नेवार समुदायले मनाउने धेरै चाडपर्व मध्ये सिथि नखः पर्व पनि विशेष रहेको छ । जेष्ठ शुक्ल पक्ष षष्ठी अर्थात कुमार षष्ठीका दिन मनाउने यस पर्व भगवान कुमारको जन्म दिन समेत भएकाले कुमारको पुजा गरी मास, मुगी, केराउ लगायतका दलहनबाट बनेका विशेष प्रकारको रोटी ‘बारा‘ पकाई खाने प्रचलन रही आएको छ । त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको न्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विशेष खालको रोटी) समेत खाने गरिन्छ । साथै चामलको पिठोबाट पकाइने चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलन पनि रहेको छ।

मास, मुगी जस्ता दलहनबाट पकाइने विशेष रोटी – बारा – व:मरी ।

यस दिन बारा, न्हुछ्यामढी लगायतका परिकार खानाले शरीरमा तागत उत्पन्न हुने र वर्षा याममा धान खेती गर्न बल पुग्ने जनविश्वास रहेको छ । नेवार समुदायमा वर्षको अन्तिम चाडको रुपमा समेत रहेको यस पर्वसँगै वर्षा सुरु हुने र किसानहरुको वर्षको महत्वपूर्ण कार्य रापाईं सुरु हुने पर्वको रुपमा समेत यसलाई लिने गरिन्छ । नेवार समुदायमा विविध पक्षले सिथि नखःको महत्व रहिआएको विश्वास छ । कुमार षष्ठी महादेव पार्वतीका जेष्ठ सुपुत्र कुमारको जन्म दिन भएकोले पनि यसको धार्मिक महत्व रहेको छ भने गणेश देवताहरुका गणनायक हुन र कुमार देवगणका सेनापति हुन् । तसर्थ कुमारको पुजा आराधना गर्नाले वर्षातको बेला धान रापाई जस्तो कृषि कार्य गर्न शरीरमा बल र शक्ति प्राप्त हुने विश्वास रहेको छ। सिथि नखःको दिनमा शुद्ध भई कुमार, नवदुर्गा भवानी र शिक्तिपिठहरुको पुजागरि नयाँ गहुँबाट तयार गरिएको न्हुछ्यामढी चढाउनाले गहुँ उत्पादनमा बृद्धि हुनुका साथै वर्षा फाप्ने तथा घरपरिवारमा सुख शान्ति हुने जनविश्वास समेत रहेको पाईन्छ । त्यस्तै यो पर्वले नेवार समुदायमा रोपाईं शुरु भएको सन्देश दिने भएकाले किसानहरु कृषि कार्यमा व्यस्त हुने र जात्रा पर्व सबै थाँती राखेर अन्न उत्पादनका लागि मानसिक र शारीरिक रुपले पनि आफुलाई तयार पार्ने चाडको रुपमा रहेको छ । यस दिन किसानहरुले खेत बारीमा काम गर्दैनन । खेतको माटोलाई चोट पुर्याउन नहुने विश्वास छ । विशेषगरी वर्षाको बेला पानीका मुहान बढी दुषित हुने भएकाले यसलाई सफा गरिनु पर्दछ भन्ने सन्देश समेत सिथि नखःले दिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here