सञ्चार हाउस, काठमाडौँ । साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ लोकार्पण गरिएको छ । राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रम गरी उपन्यासको लोकार्पण गरिएको हो।
‘मध्यान्ह झुल्के घाम र गोधुली’ उपन्यासलाई साहित्यकार बुद्धिसागर, पत्रकार बसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन्। उक्त उपन्यास राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित छ।
कार्यक्रममा बोल्दै साहित्यकार बुद्धिसागरले उपन्यासले सुरुदेखि अन्त्यसम्मै पाठकलाई आकर्षित गर्न सफल भएको बताए। बुद्धिसागरले भने, ‘कथा सुरु भएदेखि अन्त्यसम्मै पाठकलाई आकर्षण गर्ने कथा वस्तु रहेको छ ।’
पत्रकार बस्नेतले उपन्यासले नेपाली पत्रकारिताको स्थिति र राजनीतिक घटनाक्रमको सजिब चित्रण गरेको बताए । उनले भने, ‘सिन्धुली सुनकोशी आसपासको मुख्यपात्र यदुमार्फत नेपाली पत्रकारिताको सजिब चित्रण गरिएको छ। सर्वसाधरणले राजनीतिक भोगेका राजनीतिक घटनाक्रमको चित्रण रहेको छ ।’
यसैगरी, समाजशास्त्री नारायणी देवकोटाले राजनीतिक खेल समाजसँग कसरी जोडिन्छ भन्ने विषय उपन्यासमा प्रस्तुत गरिएको बताइन्।
उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सांग्रिला बुक्सले प्रकाशित गरेको हो।