सञ्चार हाउस, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधन भएको छ । घाँटीको क्यान्सरबाट पीडित गिरीको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राती ९ः३० बजे निधन भएको हो ।
गिरीको उपचारमा संलग्न मेडिसिटी अस्पतालमा ९ः३० बजे मृत्यु भएको कांग्रेसले शोक विज्ञप्तिमा उल्लेख गरिएको छ । करिब पाँच वर्षअघिदेखि नेता गिरीलाई घाँटीको क्यान्सरले सताएको थियो । त्यसपछि उनले भारतमा उपचार गरेका थिए । त्यसयता उनी पटक–पटक उपचारका लागि भारत जाने र आउनेक्रम चलिरहेको थियो ।
यसपटक पनि लामो उपचारपछि नेपाल फर्किएका गिरी साउन पहिलो साता ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पताल भर्ना भएका थिए ।
शाेक विज्ञप्ति
अहिले कांग्रेसका नेता कार्यकर्ताहरु मेडिसिटी अस्पताल पुगेका छन् । गिरीको पार्थिव शरिरलाई नौ बजेदेखि ११ बजे सम्म अस्पतालकै शिवालय मन्दिरमा राखिने त्यसपछि पार्टी कार्यालय लगिने कांग्रेस नेता दीपकुमार उपाध्यायले जानकारी दिए । पार्टी कार्यालयमा दिउँसो ४ बजेसम्म राखेपछि आइतबारै उनको दाहसंस्कार गरिने छ ।
अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, मार्क्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।
उनको निधनले मुलुकले अपुरणीय क्षति व्योहोरेको कांग्रेस नेताहरुले बताएका छन् । कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले शोक विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली र परिवारजनमा शोक व्यक्त गरेका छन् ।