सञ्चार हाउस, काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले आफ्नो ६४ औँ वार्षिकोत्सवको अवसरमा ‘ह्युमन मिल्क बैंक’ सञ्चालनमा ल्याएको छ ।
शुक्रबार ६४ औँ वार्षिकोत्सवको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले मिल्क बैंक (अमृत कोष) को उद्घाटन गरेकी हुन् ।
मिल्क बैंक अनौपचारिक रुपमा वैशाखबाटै सञ्चालन भएको थियो । मिल्क बैंकको उद्घाटन गर्दैै राष्ट्रपति भण्डारीले यो अमृत कोषले मातृ तथा शिशु सेवाको क्षेत्रमा ऐतिहासिक थालनी भएको बताएकी थिइन् ।
कसको सहयोगमा स्थापना भयो ?
उक्त बैंक स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको पहलमा युनिसेफ तथा युरोपियन युनियनको सहयोगमा यस अस्पतालमा बृहत स्तनपान व्यवस्थापन केन्द्रको स्थापना गरिएको हो । नेपालमा पहिलो पटक ह्युमन मिल्क बैंक स्थापना भएको हो ।
किन स्थापना गरियो हुमन मिल्क बैंक ?
आमालाई स्तनपान प्रोत्साहन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले उक्त बैंक स्थापना गरिएको हो । यस केन्द्रमा आमाको दूधलाई संक्रमणमुक्त गरी ६ महिनासम्म भण्डारण गरेर आश्यकता अनुसार शिशुहरूलाई खुवाउन सकिनेछ ।
कुन प्रकृतिका शिशु लाभान्वित हुनेछन् ?
नेपाली नामाकरण ‘अमृत कोष’ दिइएको यस आमाको दूध भण्डारण केन्द्रले आमाको दुधबाट बन्चित शिशुहरू प्रत्यक्ष लाभान्वित हुने अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले बताए । उनले यसको सफलताबाट नेपालको उच्च शिशु मृत्यु दरमा कमी ल्याउन गर्ने र निकट भविस्यमै यस्ता केन्द्रहरू देशका सातै प्रदेश हरूमा स्थापना हुने विश्वास व्यक्त गरे ।
अस्पतालले मासिक १००० जना बच्चाहरूलाई ‘ह्युमन मिल्क बैंक’ ले प्रत्यक्ष रुपमा लाभ दिने आंकलन गरेको छ । यो बैंकले समय नपुगी जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई सबैभन्दा बढी
आवश्यकता परेका बेलामा अरु आमाहरूको दूध उपलब्ध गराउनेछ । सुत्केरी आमाबाट सुरक्षित रुपमा दान गरिएको दुध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई अस्पतालले दूध उपलब्ध गराउने छ । नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै यस अस्पतालमा पूर्ण स्तनपान नीति लागु गरि बट्टाको दुध पूर्णत निषेधित छ ।
यस्तो छ शिशु मृत्युदर
हरेक वर्ष विश्वभर करिब १ करोड ५० लाख शिशुहरू समय नपुगि जन्मिछन् । शिशुहरू आफ्नो जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् भने समय नपुगि जन्मेका र कम तौल भएका शिशहुहरू अझ बढी जोखिममा हुने युनिसफे बताउँछ । सन् २०१९ को नेपाल बहुसुचक सर्वेक्षण अनुसार नेपालमा नवजात मृत्यु दर १६ छ । त्यस्तै ,शिशु मृत्यु दर २५ र ५ वर्ष मुनिको मृत्युदर १००० जीवित जन्ममा २८ छ ।
अस्पतालकी नवजात शिशु विभागकी प्रमुख तथा बालरोग विशेषज्ञ डा कल्पना सुवेदीका अनुसार नेपालमा झण्डै ८१ हजार बच्चाहरू समय नपुगि जन्मन्छन् जसलाई आमाको दूध सजिलोसँग खुवाउन गाह्रो हुन्छ । उनले भनिन् –‘समय अगाडी नै जन्मेका बच्चा हुँदा आमाको दूध राम्रोसँग आएको हुँदैन र शिशुमा राम्रोसँग तान्न सक्ने क्षमता हुँदैन त्यसैले यो ह्युमन मिल्क बैंकले धेरै फाइदा गर्छ । यसबाट स्वच्छ र शुद्ध दूध प्रदान गरिनेछ ।’
कस्ता आमाले दूध दान गर्न सक्नेछन् ?
बृहत स्तनपान व्यवस्थापन केन्द्रका अनुसार दूध दान गर्ने आमाहरूले ६ महिनाभित्र प्रमुख तीन परीक्षण एचआईभी, ‘भेनेरल डिजिज रिसर्च ल्याबोलरेटरी टेस्ट’ (भिडिआरएल) र ‘हेपटाइटिस बी सर्फेस एन्टिजेन टेस्ट’ (एचबीएसजी) परीक्षण गरेको हुनुपर्छ । त्यसपछि स्वस्थ्य आमाबाट ब्रेस्ट मिल्क पम्पको माध्यमले आमाको दूध संकलन गरिन्छ । बैंकमा इलेक्ट्रिक र म्यानुअल पम्प उपलब्ध रहेको छ।
दूध भण्डारण प्रक्रिया कस्तो छ ?
संकलन गरिएको दूधमा कुनै रोगव्याधि नरहेको परीक्षणबाट सुनिश्चिततापछि पास्चराइजेसन गरेर एक सय मिलिलिटरको बोतलमा राखिन्छ । त्यसपछि माइनस २० डिग्री सेल्सियस तापक्रमको डिप फ्रिजरमा राखिने उक्त बोतल आमाको दूध नपाएका शिशुलाई उपलब्ध गराइने बृहत स्तनपान व्यवस्थापन केन्द्रले बताएको छ । संकलन गरेको दूधलाई ६ महिनासम्म प्रयोग गर्न सकिने छ ।