Sunday, October 13, 2024
थप

    त्रिवि पदाधिकारीप्रति कर्मचारी संघको असन्तुष्टिः काम गर्न नसके राजिनामा दिए हुन्छ

    सञ्चार हाउस, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघकाले लामो समयसम्मको तालाबन्दी खोल्न नसकेको प्रति त्रिभुवन विश्वविद्यालयका पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघले आज त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै त्रिवि प्रजातन्त्र कर्मचारी संघका पदाधिकारीहरुले त्रिवि पदाधिकारीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

    त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले कीर्तिपुरस्थित त्रिवि केन्द्रीय कार्यालयमा तीन महिनासम्म तालाबन्दी हुँदा समेत विश्वविद्यालय पदाधिकारीहरुले खोल्न कुनै पहल नगरेको प्रति आलोचना गरेका हुन् ।

    उक्त शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि प्रजातन्त्रवादी कर्मचारी संघका पूर्व अध्यक्ष बलबहादुर थापाले वर्तमान पदाधिकारीहरूले महिनौँ बन्द रहेको त्रिविको समस्या समाधान गर्न नसकेका कारण त्रिवि पदाधिकारीहरू असफल भएको बताएका छन् ।

    थापाले सबै संघ संगठनका पदाधिकारीहरु मिलेर त्रिविलाई जोगाउनु पर्ने बताएको छन् ।

    यसैगरी कार्यक्रममा बोल्दै त्रिवि कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष पुन्यप्रसाद आचार्यले त्रिविको गरिमा राख्न वार्ता र संवादलाई प्रमुख प्राथमिकतामा राखेर समस्या समाधान गर्नुपर्ने बताएका छन् । उनले उपकुलपति असक्षम भएको भन्दै सञ्चार माध्यमबाट आलोचना भइरहँदा पनि वर्गीय संघ संगठनले खबरदारी गर्न नसक्नु दुःखद रहेको बताए ।

    कार्यकारी परिषदबाट पदपूर्तिका लागि विज्ञापनको आह्वान गर्ने निर्णय भएपनि रिक्त दरबन्दीमा विज्ञापन नगरेर कर्मचारीहरूको वृत्ति विकास र भविष्यमाथि खेलवाड गरिरहेको बताए।

    शुभकामना कार्यक्रममा बोल्दै समन्वय महाशाखा प्रमुख दिपक प्रसाद तिवारीले विश्वविद्यालय व्यवस्थित रुपमा चलाउने जिम्मेवारी पाइसकेपछि आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गर्न पदाधिकारीलाई आग्रह गर्दै तालाबन्दी गर्ने पक्ष र पदाधिकारी वार्तामा बसेर टुंगोमा पुग्न अपिल गरे । तिवारीले समस्या समाधान गर्न नसके पदाधिकारीको नैतिकतामाथि गम्भीर प्रश्न उठ्ने र पदाधिकारि असक्षम ठहिरन सक्ने बताउंदै उनले त्यसको जिम्मेवार पदाधिकारी स्वयं हुनु पर्ने बताए।

    साथै सधैको तालाबन्दीले विश्वमै त्रिविको बेईज्त हुन पुगेको र विश्वविद्यालयको शाख गिरिरहेको हुंदा विश्वविद्यालय पदाधिकारीलाई बढी जिम्मेवार बन्न र ताला खुलाउन प्रयत्न गर्नुपर्ने अन्यथा कुर्सीमा बसिरहन नसुहाउने बताए । तालाबन्दी खुलाउन संघ संगठनहरुलाई पनि जिम्मेवार बन्न अनुरोध गरी संस्था रहे संघ संगठन रहने, हामी सबै रहने अन्यथा कोहि नरहने भनी विश्वविद्यालय जोगाउन सबै गम्भीर हुनु पर्ने बताए। ताला लगाउने पक्षलाई जिम्मेवार बनी ताला खोल्ने वातावरण सिर्जना गर्न अनुरोधसमेत गरे ।

    त्रिवि कर्मचारी संघका पूर्व अध्यक्ष भोजकुमार बस्नेतले त्रिवि सञ्चालनमा भइरहेको लापरबाहीप्रति त्रिवि कर्मचारी संघ सङ्गठनहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्नेमा सक्रियता नभएको बताएका छन् । उनले वर्तमान त्रिवि पदाधिकारीहरू असक्षम हुँदै गएको र त्रिवि सेवा आयोग समेत इतिहासमै निकम्मा भएको प्रति चिन्ता व्यक्त गरे ।

    त्रिवि प्रगतिशील कर्मचारी सङ्गठनका अध्यक्ष छत्रबहादुर कार्की, राष्ट्रिय कर्मचारी सङ्गठनका महासचिव विजयराज ढुङ्गाना, समाजवादी कर्मचारी सङ्गठनका सह संयोजक सोमराज पाण्डे, नर्सिङ् प्रशासक लक्ष्मी केसी लगायतले त्रिविलाई समस्या समाधान गरेर गौरवपूर्ण इतिहास जोगाउन सबै संघ सङ्गठनहरूले राजनीतिक वैचारिक आस्थाभन्दा माथि उठेर सहकार्य गरी अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

    उक्त शुभकामना आदानप्रदान कार्यक्रममा त्रिचन्द्र क्याम्पस प्रजातन्त्रवादी कर्मचारी संघका सभापति रवि पोख्रेलले स्वागत गरेका थिए भने कार्यक्रमको अध्यक्षता त्रिवि प्रजातन्त्रवादी कर्मचारी संघका अध्यक्ष प्रकाश पुडासैनीले गरेका थिए ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै