Monday, September 9, 2024
थप

    चोभार सुक्खा बन्दरगाहको प्रधानमन्त्रीद्वारा उद्घाटन‚ काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हब बनाउँने

    काठमाडौं‚ चैत्र २२ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् ।

    सुख्खा बन्दरगाह सञ्चालनमा आएपश्चात मुलुकको आयात-निर्यात व्यापारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने काठमाडौं उपत्यकाबाट हुने व्यापारलाई थप सहजीकरण गर्न, व्यापारको लागत घटाउन र वस्तु तथा सेवाको आयात निर्यातलाई थप व्यवस्थित गरी प्रतिस्पर्धा र प्रभावकारी बनाउन सहयोग पुग्ने प्रधानमन्त्रीको भनाइ छ । काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारको हबको रुपमा विकास गर्न यो बन्दरगाह कोसेढुंगा सावित हुने उनले बताए ।

    प्रधानमन्त्री देउवाले मुलुकको वैदेशिक व्यापारलाई दिगो र सन्तुलित रुपमा विकास गर्न सुख्खा बन्दरगाह जस्ता संरचनाहरुको आवश्यकता पर्ने बताए । उनले बढ्दो व्यापार घाटालाई कम गर्न स्वदेशी कच्चा पदार्थ, स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने बताए । वैदेशिक व्यापारमा रहेका समस्या समाधानका निम्ति सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो ।

    उनले उद्योगी, व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गरी निर्यात बढाउन र अनुत्पादक विलासिताका वस्तु आयातलाई व्यवस्थापन गर्न सहयोग गर्न आग्रह पनि गरे । उनले भने, ‘बढ्दो व्यापार घाटालाई कम गर्न हामीले एकातिर स्वदेशी कच्चा पद्धार्थ र स्वदेशी श्रम र सीपमा आधारित उत्पादनमा जोड दिनुपर्ने अवस्था छ । यसको अतिरिक्त वैदेशिक व्यापारमा विद्यमान प्रक्रियागत जटिलतालाई न्यूनिकरण गर्दै लानुपर्ने अवस्था छ । वैदेशिक व्यापारमा रहेका विभिन्न प्रकारका समस्या समाधान गर्न सरकार निजि क्षेत्रसँग सम्वाद, सहकार्य गर्न तयार छ ।’

    प्रधानमन्त्री देउवाले नेपालमा रेल आवश्यक भएपनि बनाउन धेरै खर्च लाग्ने बताए । कुनै दातृ राष्ट्र वा संस्थासँग सस्तो व्याजदर अथवा ग्राण्टमा पाए रेल ल्याउन सकिने उनले बताए । उनले भने, ‘रेल आवश्यकता छ तर धेरै खर्च लाग्नसक्छ । त्यसकारण कुनै दातृ राष्ट्रहरुसँग, दातृ संस्थाहरुसित एकदमै सस्तो व्याजदरमा होस् अथवा ग्राण्टमा होस् । त्यो भयो भने रेल फाइदाजनक हो । फाइदा हुनेछ ।’

    त्यस्तै कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री जनार्दन शर्माले दैनिक उपभोग हुने खाद्यवस्तु आयातका लागि चोभार बन्दरगाह प्रयोग हुन नहुने बताएका छन् ।

    मंगलबार चोभार सुख्खाबन्दरगाह उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले तरकारी, फलफूल, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु आयातका लागि यो बन्दरगाह प्रयोग हुन नहुने बताएका हुन् ।

    चोभार सुख्खा बन्दरगाह सञ्चालन पछि मुलुक स्थलमार्ग भएर समुन्द्री पहुँचमा जोडिएको भन्दै उनले अब नेपालमा उत्पादित वस्तु समुन्द्री तटसम्म सिधै पुग्ने र त्यहाँ लोड भएका माल वस्तु सहजै काठमाडौं आउने बताए । अर्थमन्त्री शर्माले चोभार सुख्खा बन्दरगाह निर्यातको केन्द्र बन्नु पर्ने कुरामा जोड दिए ।

    ‘बन्दरगाह पूर्वाधार सञ्चालन पछि हामी सडकमार्फत समुन्द्री तटसँग जोडियौं । आयातको लागत घट्न यसले ठूलो योगदान गर्ने छ,’ अर्थमन्त्री शर्माले भने, ‘तर, यो बन्दरगाह खाद्यान्न, तरकारी र फललूल आयातमा मात्रै केन्द्रित नहोस्, निर्यातको केन्द्र पनि बनोस् ।’

    आयातको तुलनामा वस्तु निर्यात निकै कमजोर रहेको भन्दै अर्थमन्त्री शर्माले नेपाली वस्तुहरु चोभार बन्दरगाह भएर निर्यात हुने गरी काम गर्न निजी क्षेत्रलाई आग्रह गरे । आयात घटाउन र निर्यात बढाउन सबै मिलेर काम गर्नु पर्ने भन्दै उनले सरकार पनि आयात प्रतिस्थापनका लागि काम गरिरहेको बताए । आयात बढ्दा अर्थतन्त्रमा केही चुनौती थपिएको उनको भनाइ छ ।

    अर्थमन्त्री शर्माले भने, ‘सरकारसँग अझै ९ खर्ब ४० अर्ब शोधनान्तर सञ्चिति छ, यसले ६ महिनाको वस्तु तथा सेवाको आयात धान्छ ।’ अर्थतन्त्र सुधारमा केही कदम चाले पछि रेमिट्यान्स भित्रिनेक्रम बढेको शर्माको भनाइ छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै