काठमाडौं‚ ८ फागुन, अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट संसदमा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा टेबल भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचनाप्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरे पछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
२०७६ असार ३० गते तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले सम्झौता अनुमोदनको प्रक्रियामा लैजान भन्दै संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसपछि भने तत्कालीन सत्तारुढ दल नेकपाभित्रकै किचलोका कारण एमसीसी अनुमोदन प्रक्रिया अघि बढ्न सकेन ।
आइतबार प्रतिनिधिसभामा एमसीसी परियोजना टेबल हुँदै गर्दा आन्दोलनमा रहेको एमाले भने प्रक्रियामा सहभागी भएन । एमालेका सांसद भीम रावल चाहिं छलफलमा सहभागी भएर अनुमोदनका लागि संसदमा लैजाने सरकारको निर्णयको विरुद्धमा बोलेका थिए । उक्त बैठकमा एमसीसीका कट्टर विरोधी एकीकृत नेकपा समाजवादीका सम्मानित नेता झलनाथ खनाल र माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठलाई भने बोलाइएको थिएन । सत्ताधारी दलका शीर्ष नेताहरुबीच सहमति जुटेपछि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रका सांसदहरु देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले असहमति जनाएका थिए ।
यद्यपि सभामुख अग्नि सापकोटाले एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने कार्यसूची तयार पारे । योसँगै एमसीसीलाई लिएर दलहरुबीच भइरहेको मतभिन्नता औपचारिक रुपमै संसदमा प्रवेश गरेको छ ।
यसै बीच सत्तारुढ नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका भ्रातृ संगठनहरुले संसद भवनलाई केन्द्रित गरी नयाँ बानेश्वर क्षेत्रमा विरोध कार्यक्रम राखेका थिए । तर प्रदर्शन सुरु हुँदा नहुँदै सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच एमसीसी संसदमा टेबल गर्ने सहमति भएको खबर आएपछि एमसीसी विरोध प्रदर्शनले उग्र रुप लियो ।
नयाँ बानेश्वरको एभरेस्ट होटल नजिक प्रहरीले सडकमा बार राखेर प्रदर्शनकारीलाई संसद भवनतर्फ अघि बढ्न रोक्यो । प्रदर्शनकारीले पनि प्रहरीले राखेको बार भत्काएर संसद भवनतर्फ अघि बढे । त्यसक्रममा प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस र रबरको गोली हान्यो भने प्रदर्शनकारीले प्रहरीतर्फ ढुंगा र इँट्टा हान्यो ।
सुरुमा एकीकृत समाजवादीसम्वद्ध विद्यार्थी संगठनले ‘एमसीसी स्वाहा’ भन्दै सडकमै होम गर्यो । यो समूहको विरोध कार्यक्रम सकिँदा नसकिँदै माओवादी केन्द्रसम्वद्ध भ्रातृ संगठनका कार्यकर्ता सडकमा आइसकेका थिए ।
दर्शनकारीले बानेश्वरका चौडा सडक भरिँदै गर्दा दुई किनारमा भएका सटरहरु धमाधम बन्द भए । प्रदर्शनकारीले एमसीसी मुर्दावादको नारा मात्र लगाएनन्, निषेधित क्षेत्र तोड्न प्रयास गर्न थाले । प्रदर्शनकारी संसद भवन, बानेश्वरतर्फ अघि नबढुन भनेर एभरेष्ट होटल अगाडि नै प्रहरीले तारजाली राखेको थियो ।
संसदमा एमसीसी टेबल भइरहँदा सडकमा भने प्रदर्शनकारी र प्रहरीबीच घम्साघम्सी चलिरहेको थियो । प्रदर्शनकारीले सुरक्षा घेरा तोड्ने प्रयास गरेपछि प्रहरीले पानीको फोहोरा हान्यो । प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्न थाले ।
भीड नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले दर्जनौं अश्रुग्यास हान्यो । तर पनि प्रदर्शनकारी रोकिएन । सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ढुङ्गा हानाहान भयो । उनीहरुले एकअर्कालाई हानेको ढुंगा सडकमा मात्र थिएन, आसपासको घरहरुसम्म पुगेको छ । बानेश्वर चोक रणभूमि जस्तै बन्यो । आफ्नो थप मद्दत आएपछि भने सुरक्षाकर्मीहरुले प्रदर्शनकारीलाई अश्रुग्यास र लाठी हानेर केहीबेर तितरबितर बनायो । त्यही बेला संसद भवनमा रहेका सांसदहरु आफ्नो घर–कोठातिर लागे ।
तर प्रदर्शन साम्य भएन । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा प्रहरीले बानेश्वरबाट लखेटेर बिजुलीबजारसम्म पुर्यायो । तर प्रदर्शनकारीले सडक छाडेनन् । उल्टै प्रहरीतर्फ ढंगामुढा गरे । त्यसक्रममा प्रहरीले रबरको गोली नै चलाएको छ ।