काठमाडौं ‚ फागुन १०: अमेरिकी सहायता परियोजना एमसीसी (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) सम्झौताविरुद्धको बानेश्वरमा भएकाे आन्दोलनमा भागेका प्रहरी बचाउँदा भएकाे तोडफोडमा परेको जानकी श्रेष्ठको पसललाई क्षतिपूर्ति दिन गृह मन्त्रालयमा सिफारिस गरिने भएको छ ।
फागुन ८ गते एमसीसी संसदमा टेबल भएको दिन प्रदर्शनकारीले लखेटेपछि प्रहरी बुद्धनगरस्थित जानकी श्रेष्ठको बुटिक पसलभित्र छिरेका थिए । सोही क्रममा आन्दोलनकारीले उनको पसलमा तोडफोड गरेका थिए । तोडफोडबाट क्षतिग्रस्त पसलमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदीप गिरीसहितको टोली पुगेर जानकारी लिएका छन् ।
प्रहरी जानकीको बुटिकमा पसेको भन्दै आन्दोलनकारीले तोडफोड गरेका थिए । पसल तोडफोड भएपछि के गर्ने, कसो गर्ने ? भन्ने भेउ पाउन नसकेको तर, प्रजिअ अधिकारी र एसएसपी गिरी आएर निरीक्षण गरेपछि थोरै भए पनि राहत महसुस भएको जानकीले बताइन् । उनले अझै पनि आन्दोलनकारीले आफूलाई टर्चर दिने गरेको सरकारी अधिकारीहरूसँग बताइन् । प्रजिअ अधिकारी र एसएसपी गिरीले आफ्नो ज्यान जोखिममा राखेर प्रहरी जोगाएकोमा जानकीलाई धन्यवाद दिए ।
पसले जानकीले पुलिसभित्र छिरेपछि आन्दोलनकारीले सटर खोलेर सिसा फुटाउन थालेपछि पुलिसहरुलाई पछाडितर्फको गोदाममा लगेर लुकाएको बताइन् । उनले ६ जना प्रहरीलाई आफूले लुकाएर बचाएको जानकारी गराइन् । आफ्नो पसलमा तोडफोड भएपनि आफूले प्रहरीको ज्यान जोगाउन पाएकोमा गर्व लागेको उनको भनाइ थियो ।