असाेज ७, काठमाडौँ । मदन पुरस्कार गुठीले २०७७ सालको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२०’ पुस्तकलाई दिने घोषणा गरेको छ । आज (असोज सात गते) बसेको मदन पुरस्कार गुठीको बैठकले इङ्नामको उक्त पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।
गुठीमा प्राप्त २२२ पुस्तकमध्ये ९ वटा पुस्तकहरू क्रमशः गिरि श्रीस मगरको ‘एकलव्यको देब्रे हात’, कृष्ण अविरलको ‘करिया’, कुमार नगरकोटीको ‘कल्प–ग्रन्थ’, भैरवबहादुर थापाको ‘नृत्याक्षर विज्ञान’, प्रभा बरालको ‘फिलिङ्गो’, लेखनाथ क्षेत्रीको ‘फुलाङ्गे’, केशव दाहालको ‘मोक्षभूमि’, जेसन कुवँरको ‘रमिते’, भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह सम्वत् १७१९–२०२० मदन पुरस्कार श्रेष्ठ सूची २०७७ का रूपमा छनोट भएका थिए ।
यस्तै, जगदम्बा श्री पुरस्कार सात दशकदेखि नेपाली नृत्य विधाको अध्ययन, अनुसन्धान र मञ्चन गर्दै सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञानमार्फत नृत्यक्षेत्रका उन्नयनमा समर्पित भैरवबहादुर थापालाई दिने निर्णय गरेको छ ।
वि.सं. २०४५ सालमा रानी जगदम्बाको निधनपछि उनको सम्झना स्वरूप जगदम्बा–श्री पुरस्कारको स्थापना गरिएको थियो । यो सम्मान पहिलोपटक नारायण गोपाललाई दिइएको थियो । नेपाल तथा नेपाल बाहिरबाट प्राप्त नेपाली भाषामा प्रकाशित पुस्तकहरूमध्ये एकलाई मदन पुरस्कार तथा नेपाली भाषा, वाङ्मय तथा संस्कृतिको श्रीवृद्धिमा योगदान गर्ने व्यक्ति÷संस्थालाई जगदम्बा–श्री दिइँदै आइएको छ ।