काठमाडौं‚ ६ असोज । रुपा सुनारलाई कोठा भाडामा नदिएर जातीय विभेद गरेको आरोप लागेकी काठमाडौं बबरमहलकी सरस्वती प्रधानसँग जिल्ला अदालत काठमाडौंले १ लाख १५ हजार रुपैयाँ धरौटी माग गरेको छ ।
बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले प्रधानलाई १ लाख १५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको श्रेस्तेदार ज्ञानेन्द्र इटनीले जानकारी दिए ।
सञ्चारकर्मी रुपा सुनारले गत असार १ गते आफू दलित भएकै कारण प्रधानले कोठा भाडामा नदिएको भन्दै उनीविरुद्ध उजुरी दिएकी थिइन् । उनले घरबेटी प्रधानलाई जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार कारबाही माग गरेकी थिइन् ।
त्यसपछि पक्राउ परेकी प्रधानमाथि अनुसन्धान नसक्दै प्रहरीले रिहा गरेको थियो । उनलाई रिहा गराउन तत्कालिन शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ प्रहरी कार्यालय नै पुगेकाेमा निक्कै आलोचना भएको थियो ।