असार १७, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिममा सरकारी वन मासेर खेल मैदान बनाएको विरुद्धमा अख्तियारमा उजुरी परेपछि निर्माण कार्य रोकिएको छ । ऐतिहासिक हलेसीगढी क्षेत्र र त्यहाँको सरकारी वन मासेर खेल मैदान खनेको भनेर उजुरी परेपछि दुर्छिमको कोटडाँडा स्थित हलेसीगढी क्षेत्रमा निर्माणाधीन खेलमैदानको कार्य रोकिएको हो ।
साविक दुर्छिम गाविस–१ कित्ता नम्बर १७ को ५४ रोपनी १४ आना एक पैसा एक दाम क्षेत्रफलको सरकारी वनमा रहेका सयभन्दा बढी रुख काटिएको र ऐतिहासिक हलेसीगढीको पुरातात्त्विक महत्त्व हराउने, पर्यटकीय आकर्षणमा हराउने, वन विनाशले वातावरण प्रदुषण हुने गरी हलेसीगढी क्षेत्रको सरकारी वन एक्साभेटरले भत्काउन थालिएकाले यसमा संलग्नलाई कारबाही हुनु पर्ने भन्दै अख्तियार आयोगमा उजुरी परेको थियो ।
उजुरीमा हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राई, हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका वडाअध्यक्ष रमेश तिवारी र खेल मैदान निर्माण उपभोक्ता समिति अध्यक्ष विक्रम राईलाई विपक्षी बनाइएको छ ।
उक्त क्षेत्रमा खेल मैदान बनाउने नगरपालिकाको निर्णय लगत्तै स्थानीयले डिभिजन वन कार्यालय खोटाङ र वन तथा भू–संरक्षण विभाग बबरमहल, काठमाडौंमा उजुरी दिए पनि त्यसलाई बेवास्ता गरिएकाले अख्तियारमा उजुरी दिइएको स्थानीय इच्छाराम राईले बताए ।
हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईले भने पिपिआरपछि ३० लाख बजेट पनि आइसकेको र यसबाहेक अन्यत्र खेल मैदान बनाउने कुनै विकल्प नदेखिएकाले यही नै खेल मैदान खन्न सुरु गरिए पनि अख्तियारमा उजुरीपछि बन्द गरिएको बताए । नगरप्रमुख राईले भने, ‘डिपिआरपछि खेल मैदान सुरु गरिएको थियो । विकास विरोधीहरुले काम गर्न दिएनन् ।’