– राजेन्द्र तारकिणी
झर्नु छ कहिले बेँसी, गजुरे लेक चढ्नु छ
सन्देश कर्मको बोकी जीवनपथ बढ्नु छ
उमार्छु विश्वको प्राण, म छोरी हुँ किसानकी
जम्दिनँ, बग्छु छाँगाझैँ, म प्यारी छु हिमालकी ।
फुल्ने गुलाव गालामा यो पानी–घाम फुल्दछ
थोपा–थोपा पसीनाको मणि बनेर खुल्दछ
नाडी–नसा बगुञ्जेल म कर्मच्युत हुन्नँ है
मुटु फुटाउने ठूलो व्यथा नलागी रुन्नँ है !
हरियो जिन्दगी मेरो उम्रिन्छ घाँसमाझमा
क्षितिजमाथि डाँडामा दियालो बल्छ साँझमा
खेलाउँछु हिलोमैलो, नहाँसे है– कुरूप छु
औँसीको रातको भित्र म एक चन्द्र चुम्दछु ।
कठोर हिमशैलमा उद्याउँछु म जिन्दगी
मभित्र भावना नीलो बहन्छ शुद्ध गण्डकी
जमेर आँसु औ पीडा असिना जब झर्दछ
मनको स्वच्छ बारीमा फक्रिँदो फूल मर्दछ ।
प्रातको पहिलो प्रीत पँधेरोमा म लाउँछु
जीवन–वनको गीत पखेरोमा म गाउँछु
म सूर्य–चन्द्रका साथ विषालु दृष्टिमुक्त छु
सुनी जा बटुवा प्यारा, चोखो पिरतीयुक्त छु ।
………………………
छन्द : अनुष्टुप