असार ६, काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक करिब ६३.२८ अंकले घटेर २ हजार ९ सय ५.१४ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो करिब २.१३ प्रतिशतले घटेको हो । सो दिन बजार खुलेदेखि नै बजार घट्न थालेको थियो । यो क्रम बजार बन्द हुने बेलासम्म चलिरह्यो ।
करिब १ लाख २८ हजार ३ सय पटकको कारोबारबाट २ सय ३१ कम्पनीका २ करोड ७३ लाख ४४ हजार ५ सय ११ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचमा ११ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । गत बिहीबारको भन्दा नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने केही सुधार भएको हो । गत बिहीबार सेयर बजारमा १० अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरणमा भने कमी आएको छ । जसअनुसार आइतबार कुल बजार पुँजीकरण ४० अर्ब ३६ करोड रुपैयाँ छ । गत बिहीबार यस्तो पुँजीकरण ४१ खर्ब ३९ अर्ब रुपैयाँ थियो ।
नेप्सेको वर्गिरणका क वर्गमा रहेका कम्पनीहरुको सेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आइतबार २.३३ प्रतिशत र व्यापारमा रहेका सबै कम्पनीहरुको सेयर कारोबार मापक फ्लोट परिसूचक २.१८ प्रतिशतले घटे ।