च्याउ के हो ?
च्याउ एक प्रकारको फूल नफूल्ने प्रजातीको वनस्पती हो । यो फन्जाइ वर्गमा पर्छ । च्याउ एक प्रकारको ढुसी हो । जुन खासगरी ओसिलो र उष्ण हावापानीमा पाइने गरिन्छ । वनजंगलमा विशेष गरी अझ वर्षा याममा यसको वृद्धिविकासका लागि आवश्यक वातावरण पाइने भएकाले वनजंगलमा धेरै तथा तथा हाम्रै घरबारीमा पनि यथेष्ट मात्रामा जंगली च्याउ उम्रेको देख्न सक्छौं । यसरी देखिएका च्याउहरु अत्यन्त आकर्षक, रहरलाग्दो र देख्दा नै खाउँखाउँ जस्तो लाग्ने देखिन्छ । नेपालमा पाइने अनगिन्ती प्रजातिहरुमध्ये केही मात्रामा खानका लागि सुरक्षित मानिन्छन् तर यसको पहिचान अत्यन्त महत्वपूर्ण पक्ष रहिआएको छ । खानका लागि अन्य विकल्प नहुनु र केही नहोला नि भन्ने लापरवाहीले पनि यस्ता आकर्षक च्याउहरुले वर्षेनी धेरैको ज्यान लिइरहेको छ ।
नेपालको भौगोलिक बनावट, सुक्ष्म जलवायु, हावापानी, माटो एवं उचाईको विविधताले नेपाललाई विश्व मानचित्रमा अद्वितीय जैविक विविधताको खानी बनाएको छ । विश्वको ०.१ प्रतिशत भूगोल ओगटे पनि कुल वनस्पतीको ३ प्रतिशत र कूल जीवजन्तुको १.१ प्रतिशत नेपालमा पाइन्छ । त्यस्तै नेपालमा ११८ गरीका पारिस्थितिकीय प्रणाली तथा ३५ विभिन्न प्रकारका जंगल पाइन्छ । यस्तो विविधतामा पाइने अनेकन वनस्पतिहरु मानवसभ्यता मात्र हैन उनीहरुको खाद्यान्न तथा पोषणको स्रोत पनि बनेको हुन्छ । वनजंगल वा अन्य भीरपाखा, कान्ला वा अन्य यस्तै खेती गरिएका वा नगरिएका क्षेत्रमा पाइने जीवित प्रजातिमा च्याउ पनि एक महत्वपूर्ण प्रजाति हो । डा. शिव देवकोटा र डा. हरिप्रसाद अर्यालले हालै प्रकाशित गर्नु भएको अध्ययनमा नेपालमा हालसम्म १२९१ प्रजातिका जंगली च्याउनहरु पाइएका छन् । जसमध्ये १५९ प्रजातीहर मात्र खानका लागि उपयुक्त मानिन्छन् भने करिव १०० प्रजाति विषालु र ७४ प्रजाति औषधीय गुण बोकेका च्याउ रहेका छन् । तर संसारमा तीन हजार ८ सय भन्दा बढी प्रजातिको च्याउ पत्ता लागेका छन् । त्यसमध्ये करिव एक हजार विषालु र दुई हजार खानयोग्य मानिन्छ । जबकि २ सय प्रजातिको च्याउ औषधीय गुणले भरिपूर्ण मानिन्छ ।
वर्षायाम सुरु भएसँगै नेपालमा गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ। पुरानो रूखको ठुटो, पत्कर वा खुला चौरमा च्याउ उम्रिन्छ । धेरैजसो त बाबुबाजेका पालादेखि नै पहिचान गरी खाँदै आएका जंगली च्याउ खोजेर खाने गरिन्छ । तर, कतिपयले भने खान योग्य च्याउ पहिचान गर्न सक्दैनन् । यसरी जथाभावी च्याउ खाँदा ज्यानै जाने जोखिम हुन्छ ।
कुन च्याउ खाने र कुन नखाने भनेर छुट्याउन सक्ने सामान्य ज्ञान भएमा पनि विषालु च्याउ खानबाट बचिन्छ । यद्यपि असावधानीवश हामी विषाक्त च्याउ खान पुग्छौँ ।
खान योग्य र अयोग्य च्याउको पहिचान
जंगलमा पाइनेमध्ये कुन च्याउ खान हुने र कुन नहुने ? यो सबैको साझा सवाल हो । अनुभवी र चलनचल्तीमा खाने गरेको च्याउ सजिलै सँग छुट्याउन सकिन्छ । तर सामान्य हिसाबले खान नहुने र हुने च्याउ पहिचान गर्न विशेष ज्ञानको आवश्यक पर्दछ ।
च्याउ अनेक प्रजातिका हुन्छन् । यसमध्येबाट पनि च्याउको प्रकृति, रंग, स्वाद र गुण हेरेर च्याउलाई १. खान हुने, २. तीतो, ३. विषालु र ४. काम नलाग्ने गरी चार भागमा विभाजन गरिएको छ ।
खान योग्य च्याउ
गाउँघरतिर वर्षेनी जंगली च्याउ खाने गरिन्छ । प्राय खानयोग्य च्याउको छाता छुँदा चिप्लो हुन्छ । आफूले विगतदेखि नै खाइरहेको च्याउ पहिचान गरेर खानु उपयुक्त हुन्छ । नचिनेको वा त्यसअघि नखाइएको च्याउ सेवन गर्नुहुँदैन ।
बुढापाकालाई त जंगली च्याउबारे धेरै ज्ञान पनि हुन्छ । उनीहरूले पहिचान गरेको र खाँदै आएको च्याउ खान सकिन्छ । यद्यपि यस किसिमको च्याउ पनि कुनैबेला विषालु बन्न सक्छ ।
च्याउ संकलन गर्दा वा भण्डारण गर्दा प्लास्टिकको झोला, फलाम एबं टिनको बाकसहरु प्रयोग नगर्ने वा च्याउलाई खुला राख्ने नगुम्साउने। सकभर दुई प्रजातिका फरक– फरक च्याउहरु सँगै मिसाएर नपकाउने र जुनसुकै च्याउ पनि पकाउनु भन्दा अघि १० देखि १५ मिनेट बफाएर पकाउने। उमाल्दैमा, फ्रिजिङ गर्दैमा र अन्य प्रोसेसिङ गर्दैमा च्याउको विष नाश हुँदैन, त्यसैले यो भ्रमबाट मुक्त रहने।
खान अयोग्य च्याउ
सबै च्याउ एकै प्रकारको देखिनाले खानयोग्य र विषालु छुट्याउन गाह्रो हुन्छ । हेर्दा आकर्षक लाग्ने, रंगीन च्याउ विषालु हुन्छ । हलक्क र रहरलाग्दो देखिन्छ । खान नहुने च्याउ पहिचान गर्ने सामान्य विधि भनेको यी च्याउमा हत्तपत्त किरा लाग्दैन । निचोर्दा सेतो दूध निस्कन्छ ।
छाता खस्रो भएको च्याउ विषालु हुन्छ । यस्तै, नमिठो गन्ध, धेरै झुस, थरीथरीका रङ र तितो स्वाद भएका च्याउ विषालु हुन्छन् । छुँदा रङ परिवर्तन हुने र भाँच्दा चोप निस्कने च्याउ पनि विषालु हुन्छन् । त्यस्तै किरा नलाग्ने भएकाले विषालु च्याउ लामो समय रहिरहन्छन्, खानयोग्य च्याउ छिटै कुहिन्छन् । तर भण्डारण गर्ने तरिकाबाट खानयोग्य च्याउ पनि विषाक्त हुन सक्छन् ।
च्याउको प्रकृति, उम्रेको स्थान र भण्डारण गर्ने तरिकाअनुसार त्यसले शरीरमा गर्ने असर पनि भिन्न हुन्छन् । कतिपय च्याउ खानासाथ मृत्यु हुन्छ । कतिपय च्याउ खाएपछि बिस्तारै स्वास्थ्य समस्या देखिन्छन् । विषालु च्याउ खाएपछि बान्ता, झाडापखाला, टाउको दुख्ने, रिंगटा लाग्ने जस्ता लक्षण देखिन्छन् । केही बेर सन्चो भएजस्तो पनि हुन्छ ।
च्याउको विषले सीधा कलेजोमा असर पार्छ । त्यसपछि पित्तमा पुगेर नयाँ तत्वको निर्माण गर्छ, जसले मिर्गौलाको काम गर्ने क्षमता घटाउँछ । अनि कलेजो र मिर्गौला फेल भएर मानिसको मृत्यु हुन्छ ।
मान्छेको उमेर समूहअनुसार विषालु च्याउका असर पनि फरक हुन्छन् । बालबालिका र ज्येष्ठ नागरिकमा विषको असर छिटो पर्छ ।
व्यावसायिक उत्पादित च्याउ
अहिले बजारमा केही थरीका च्याउ पाइन्छ, जुन कृतिम ढंगले उत्पादन गरिएको हो । यस्तो च्याउ खान वर्षायाम कुरिरहनुपर्दैन, जुनसुकै सिजनमा पनि पाइन्छ ।
तर, कृतिम ढंगले उत्पादन गर्ने यी च्याउ कति खान योग्य हुन्छ ? यसबारे भने विचार गर्नुपर्छ । किनभने कृतिम ढंगले उत्पादन गर्ने च्याउलाई उमार्न, बढाउन, किरा लाग्न नदिन र भण्डारण गर्न विभिन्न औषधि एवं रसायनको प्रयोग गरिएको हुनसक्छ । खानेकुरामा प्रयोग गरिने यस्ता हानिकारक तत्वले हाम्रो शरीरलाई सोझै असर पुर्याउने भय रहन्छ ।
च्याउमा पाइने तत्वहरु
च्याउ खानै नहुने कुरा चाहिँ होइन । यो स्वादिलो र पोषक तत्वले भरिपूर्ण हुन्छ । च्याउमा प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि तत्व पाइन्छ । च्याउमा बोसो नगन्य मात्रामा पाइन्छ, यसमा स्टार्च हुँदैन । त्यसैले यो खानयोग्य उत्पादनमै पर्छ ।
विषालु च्याउ खाइएमा
खानयोग्य हो या विषालु भन्ने यकिन नगरी जंगली च्याउ घरमा नल्याऔँ । धेरै प्रजातिका च्याउ मिसाएर पनि नपकाऔँ ।
तर यदि विषालु च्याउ खाइहालेमा च्याउको विष लाग्दै गरेको अवस्था छ भने शरीररबाट यसलाई जतिसक्यो चाँडो बाहिर निकाल्न प्रयास गर्नुपर्दछ । यसका लागि बिरामी होशमै छ भने नुन पानी खान दिएर बान्ता गराउने वा पखाला लगाउने कुनै बिधी अपनाउने। परम्परागत रुपमा प्रयोग गरिदै आएको लसुन ,दही तथा टिमुरको पनि प्रयोग गर्न सकिन्छ
तर सबै भन्दा बुद्धिमानी विषको असर देखिनासाथ छिटो भन्दा छिटो अस्पताल पुर्याउनु नै हो। तत्काल उपचार सुरु भएमा विषले गर्ने हानिबाट बिरामीलाई बचाउन सकिन्छ ।