असार ६, काठमाडौं । मनाङको ङिस्याङ गाउँपालिका ४ हुम्देमा शनिबार दिउँसो दुवैतिरबाट पहिरो जाँदा मर्स्याङ्दी नदी थुनिएको थियो । अहिले उक्त दी आफैं बग्न थालेपछि तत्कालको ठूलो जोखिम टरेको प्रहरीले जनाएको छ ।
दुवैतिरबाट पहिरोले नदीलाई अवरोध गरेपछि ठुलो ताल बनेको थियो । नरम प्रकारको माटोका कारण विस्तारै माटो कटान गरी नदीले आफ्नो बाटो लिएर बग्न थालेपछि तत्काललाई समस्या टरेको जिल्ला प्रहरी कार्यालय मनाङका डिएसपी सुवास खड्काले जानकारी दिए ।
करिब आधा घन्टा नदी थुनिएपछि पुनः बग्न थालेको खड्काले जानकारी दिए । उनले भने, ‘अहिले पनि साना–ठूला पहिरो गइरहेका छन् । तर नदी थुन्ने गरी पहिरो गएको छैन ।’
मर्स्याङ्दी नदी ताल बन्दा माथिल्लो मनाङ जाने बाटोमा पर्ने बेलिब्रिज जोखिममा परेको थियो । नदी खुलेपछि बाढीले तटीय क्षेत्रमा क्षति पुर्याउन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले पूर्वसूचना जारी गरेर सचेत रहन आग्रह गरेको थियो ।