असार ५, काठमाडौँ । चीनको लसान जाइण्ट बुद्ध रमणीय क्षेत्र व्यवस्थापन समितिले लुम्बिनी विकास कोषलाई सहयोगस्वरुप उपलब्ध गराएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको छ ।
कोषको अनुरोधमा लसान नगरपालिका जनसरकारको तर्फबाट सो समितिले १५ थान अक्सिजन कन्सन्ट्रेटर, ५० हजार सर्जिकल मास्क, दुई हजार पिपिई र दुई हजार नै मेडिकल गगल्स उपलब्ध गराएको हो ।
कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले झण्डै दुई लाख २० हजार चिनियाँ युवान बराबरको स्वास्थ्य सामग्री खुनमिङ सहरबाट हिमालय एअरलाइन्सको चार्टर उडानमार्फत् शुक्रबार बिहान रु. ४० लाख बराबरको स्वास्थ्य सामग्री काठमाडौँ आइपुगेको जानकारी दिएका छन् ।
चिनियाँ कम्पनीद्वारा सहयोग गरिएको स्वास्थ्य सामग्री छिटो भन्दा छिटो लुम्बिनी पठाउने तयारी भइरहेको जानकारी पाइएको छ ।
भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र चीनको सिछुवान प्रान्तस्थित लसान जाइण्ट बुद्ध रमणीय क्षेत्रबीच तीन वर्षयता भगिनी सम्बन्ध स्थापित भएको छ । यी दुवै युनेस्कोको विश्व साँस्कृतिक सम्पदा सूचिमा सुचिकृत छन् । लशासन पहाडमा खोपिएकोे शाक्यमुनि बुद्धको ढुङ्गाको विशाल मूर्ति विश्वकै सबैभन्दा ठूलो मानिन्छ । यसअघि लसानको तर्फबाट कोषलाई उपलब्ध गराइएको १० थान कन्सन्ट्रेटर गत आइतबार काठमाडौँ ल्याइएको थियो । असल मित्र र साझेदारको नाताले लसानले नेपाललाई समस्या समाधानको लागि सद्भाव स्वरुप ती स्वास्थ्य सामग्री उपलब्ध गराएको बताएको छ ।