Home अर्थबजार धितोपत्र बोर्डको अपीलः ५१ कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल भयो, लहडमा लागेर लगानी नगर्नू (सूचीसहित)

धितोपत्र बोर्डको अपीलः ५१ कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल भयो, लहडमा लागेर लगानी नगर्नू (सूचीसहित)

0
धितोपत्र बोर्डको अपीलः ५१ कम्पनीको सेयर मूल्यमा अस्वाभाविक चलखेल भयो, लहडमा लागेर लगानी नगर्नू (सूचीसहित)

असार १, काठमाडौँ । मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर सेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा अध्ययन पनि भइरहेको जनाएको थियो ।
बोर्डको सोही अध्ययन अनुसार कूल ५१ कम्पनीको धितोपत्र कारोबारमा बदमासी भएको र लगानी जोखिममा पर्न सक्ने ठहर गरेको छ । बोर्डका प्रवक्ता निरज गिरीकाअनुसार अध्ययन गरिएका कम्पनीको मूल्य आम्दानी अनुपात १०० र सो भन्दा बढी भएका, विगत एक वर्षको अवधिमा ३०० प्रतिशत वा सो भन्दा बढी प्रतिशतले वृद्धि भएको पाइएको छ । बोर्डले आज ती कम्पनीको शेयरमा गरिएको लगानी जोखिमपूर्ण रहेको जनाएको हो ।
उनका अनुसार प्रति शेयर आम्दानी ऋणात्मक भएका, प्रति शेयर अंकित मूल्यभन्दा प्रति शेयर नेटवर्थ कम भएका, कम्पनीको वित्तीय क्षमताको मूल्याकंन समेतका आधारमा जोखिमयुक्त देखिएको छ ।
लगानीकर्ताको विश्वासाले धितोपत्र बजारमा रु. २० अर्ब बराबरको कारोवार भएको छ । बजारको सिद्धान्तअनुसार धितोपत्र बजार सधै बढी रहने मात्रै नभई समय क्रममा घटबढ पनि हुने बोर्डको ठहर छ । यस बजारमा हल्ला वा लहैलहैमा लागेर लगानी गर्नु अत्यन्तै जोखिमपूर्ण हुने उल्लेख गर्दै बोर्डले सचेतता अपनाउन लगानीकर्तालाई आग्रह गरेको छ । धितोपत्रमा लगानी गर्नुपूर्व कम्पनीको वित्तीय अवस्था र विविध परिसूचक बारे बढी भन्दा बढी जानकारी प्राप्त गरी जोखिम बहन गर्न सक्ने क्षमता मूल्यांकन गरेर मात्र लगानी गर्न बोर्डले पुनः सचेत गराएको छ ।
बोर्डले पछिल्ला दिनमा गरेको अध्ययनका आधारमा केही संगठित संस्थाको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायतका धितोपत्र सम्बन्धी कसुरका सम्बन्धमा समेत थप विश्लेषण भइरहेको जनाएको छ ।
नेपाल स्टक एक्सचेञ्जमा कारोवार मापक नेप्से परिसूचक उच्च अंकमा पुगेको बेला राम्रो फाइदा हुन्छ भनेर कुनै पनि कुरा नै नबुझी हाम फाल्ने लगानीकर्तालाई बोर्डले स्पष्ट शब्दमा सचेतता अपनाउन पुनः ध्यानकर्षण गराएको छ ।
पछिल्ला दिनमा नेप्सेमा चमक देखिएका कारण कुनै पनि सोच विचार नै नगरी लगानी हुन थालेपछि बोर्डले लगानीकर्तालाई सचेत गराएको प्रवक्ता गिरीले उल्लेख गरे ।
धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्सेले मात्रै सबै कुरा निर्धारण गर्दैन । तर, बजार लगातार उकालो लाग्दा धेरैलाई खुशी नै लाग्छ । कम लगानीमा पनि राम्रो प्रतिफल पाउने लालसाले केही लगानीकर्ता कुनै नबुझी सेयर बजारमा लगानी गरिरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक तीन हजार बिन्दुमा पुगेको छ ।
बजारको मनोविज्ञान नबुझीकन शेयर बजारमा लगानी गर्दा त्यसले नकारात्मक प्रभाव पनि पार्न सक्छ । लहैलहैमा गरिने निर्णय आफैमा पनि घातक हुनसक्ने बोर्डको बुझाइ छ ।
पछिल्ला दिनमा धितोपत्र बजारमा शेयरको मूल्य उचालिएको छ । सेयर बजारमा कारोबार मापक नेप्से परिसूचक बढेको अवस्थामा लगानीकर्ताको जोखिमको स्तर पनि बढ्दै जाने हुँदा त्यस बारेमा लगानीकर्ता आफैँ चनाखो हुनु पर्ने बोर्डको भनाइ छ ।
बोर्डका अनुसार जलविद्युत् उपसमूहका २० कम्पनी, निर्जीवन र जीवन बीमा उपसमूहका १० कम्पनी, पर्यटन तथा होटल उपसममूहका दुई कम्पनी, चार फाइनान्स कम्पनी र दुई लघुवित्त हिमालयन डिस्टिलरी र शिवम् सिमेन्टलगायत ५१ कम्पनीको शेयर मूल्यमा चलखेल भएको बोर्डको अध्ययनमा देखिएको छ ।
बोर्डका अनुसार २०७७ असारसम्म १७ लाखको संख्यामा रहेको हितग्राही खाताको संख्यामा शतप्रतिशत नै वृद्धि भई हाल ३५ लाख नाघेको छ । यस्तै, २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो शेयर खाता समेत एक वर्षको अवधिमा साँढे तीन गुणाले वृद्धि भई २६ लाख पुगेको छ । बोर्डका अनुसार धितोपत्रको प्रारम्भिक निष्काशनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्काशनमा करिब १८ लाखले आवेदन दिने गरेका छन् ।
गत असारमा अनलाइन कारोबारका लागि ३५ हजारले युजर आइडी लिएकामा हालसम्म १७ गुणाले वृद्धि भई छ लाख ६० हनार पुगेको छ । औसतमा छ लाख लगानीकर्ता कारोवारमा सक्रिय रहेका छन् । पूँजी बजारमा लगानीकर्ता क्रमशः प्रविधिमैत्री बन्दै गएको देखिन्छ ।
धितोपत्रको दोस्रो बजारमा शेयर कारोवार विद्युतीय माध्यमबाट घरमै बसी बसी भइरहेको छ । हाल करिब ९० प्रतिशत कारोवार सोही माध्यमबाट भइरहेको छ । धितोपत्रको प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्नेको संख्यामा वृद्धि भइरहेको छ ।

चलखेल भएका ५१ कम्पनीहरूः

स्रोतः रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here