जेठ २७, काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । पार्टीभित्र विवाद आएपछि महन्थ ठाकुर पक्षीय मन्त्रीलाई हटाइ उपेन्द्र यादव पक्ष र कांग्रेससहितलाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
‘मधेस भवन’ मा काँग्रेसबाट मन्त्री नियुक्त भएका तीन जनाको शपथ कार्यक्रम भद्रगोल देखिएको थियो । बाहिर खुला ठाउँमा राखिएको सपथ कार्यक्रममा राम्रोसँग बत्तीको पनि व्यवस्था थिएन ।
नेताहरुको बिना मास्कमा उपस्थिति थियो । अँध्यारो भएकोले मोबाइलको टर्च बालेर सपथ खाइरहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
जसपा नेतृत्वको सरकारमा आज नेकपा माओवादी पनि सहभागि भनिएपनि अन्तिम समयमा आएर भागबण्डा नमिल्दा काँग्रेसमात्रै सरकारमा सहभागी भएको हो । माओवादीलाई मनाउने प्रयासस्वरुप अबेरसम्म वार्तामा बस्नु परेकाले काँग्रेसका मन्त्रीहरुको शपथ राति १० बजेमात्रै भएको हो ।
नवनियुक्त मन्त्रीमा राम सरोज यादव भौतिक पूर्वाधार विकास मन्त्रालय, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्रालय र विरेन्द्रप्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्राललको सपथ खाएका हुन् । उनीहरुलाई बुधबार नै प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ गराएका हुन्।