Home समाचार मुख्य समाचार मन्त्रिपरिषद पुनः विस्तारको तयारी, आइतबार साँझसम्म केही मन्त्रीले सपथ लिने

मन्त्रिपरिषद पुनः विस्तारको तयारी, आइतबार साँझसम्म केही मन्त्रीले सपथ लिने

0
मन्त्रिपरिषद पुनः विस्तारको तयारी, आइतबार साँझसम्म केही मन्त्रीले सपथ लिने

सञ्चार हाउस, जेठ २२ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारलाई फेरि तिब्रता दिने भएका छन् । ओलीसँग ७ वटा मन्त्रालय बाँकी छन् । रिक्त मन्त्रालयमा आइतबार पदपूर्ति हुनेछ । आइतबार सपथ लिने तयारीमा प्रधानमन्त्री कार्यालय लागेको छ ।
आफूसँग रहेको मौजुदा मन्त्रालयमा नेकपा (एमाले) बाटै मन्त्री बनाउने गृहकार्यमा प्रधानमन्त्री लागेका छन् । नेपाल–खनाल पक्ष निकट नेताहरुसँग संवाद भइरहेकोले सहमतिमा आए उनीहरुलाई पनि सरकारमा सामेल गरेर अगि बढ्ने देखिन्छ ।
एमालेका एक नेताले भने, ‘भोलि साँझसम्म केही मन्त्रीलाई प्रधानमन्त्रीले शपथ खुवाउने तयारी भइरहेको छ, प्रधानमन्त्रीको गृहकार्य त्यतै लक्षित देखिन्छ ।’ भोलि शपथ खानसक्ने सम्भावित मन्त्रीमा महेश बस्नेत, खगराज अधिकारी, नारदमुनी रानाको नाम अग्रपङ्तिमा छ । प्रधानमन्त्रीका विश्वासिलो पात्रको रुपमा परिचित बस्नेत सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको जिम्मेवारीमा आउने सम्भावना रहेको ती नेताले जानकारी दिए ।
सोहीअनुसार यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवाली पुनः मन्त्रीमा दोहोरिने सम्भावना रहेको एमालेबृत्तमा चर्चा छ । प्रदीप ज्ञवाली दोहोरिएमा उनलाई गृहमन्त्रालयको जिम्मेवारी दिने तयारी प्रधानमन्त्री ओलीले गरेका छन् । यसअघि स्वास्थ्यमन्त्रीको जिम्मेवारी निर्वाह लिइसकेका खगराज अधिकारी पनि गृहमन्त्रालयको इच्छा व्यक्त गरेका एमाले स्रोतले बताएको छ ।
त्यस्तै, मन्त्रिपरिषदमा महिला मन्त्रीको संख्या कम भएको गुनासो चौतर्फी आइरहेको छ । महिलाको सहभागिता सुनिश्चित गराउन प्रधानमन्त्री ओलीले गृहकार्य थालेको बुझिएको छ । एमाले स्रोतले दिएको जानकारी अनुसार महिलामध्येबाट मन्त्री बन्ने सम्भावना सूचीमा सुजिता शाक्य र विमला पौडेलको नाम चर्चामा छ ।
प्रधानमन्त्री ओलीसँग अहिले रहेको मन्त्रालयमा उद्योग बाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, रक्षा, गृह, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय हुन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपालका नेताहरुलाई समेटेर हिजो शुक्रबार मात्र मन्त्रिपरिषद विस्तार गरेका छन् । नवनियुक्त मन्त्रीहरुले पदभार ग्रहण लिइसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here