साउन २६, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आइतबार लिएको बीएस्सी प्रथम वर्षको एनालिटिकल ज्योमेट्री एण्ड भेक्टर एनालिसिस विषयका प्रश्नपत्रमा १९ अंक भारका ५ ओटा प्रश्नमा त्रुटि भएको विद्यार्थीले दाबी गरेका छन् । विद्यार्थीले परीक्षा दिने क्रममा हिसाब नमिलेपछि त्रुटि भएको पत्ता लागेको हो । कतिपय विद्यार्थीले प्रश्नपत्र त्रुटि भएको भन्दै गलत भएका प्रश्नको उत्तरनै नलेखी कपि बुझाएका छन् ।
साउन २४ गते परीक्षा भएको उक्त विषयको प्रश्न नम्बर ५, प्रश्न नम्बर ८, प्रश्न नम्बर १०, प्रश्न नम्बर १३ र प्रश्न नम्बर १४ गलत भएको विद्यार्थीको भनाइ छ । ७५ नम्बरको पूर्णाङ्क रहेको विषयका १९ नम्बरको प्रश्नमा त्रिविले त्रुटि गरेको विद्यार्थीको दाबी छ ।
अमृत साईन्स कलेज पढेर होम सेन्टरको रुपमा नेपालगन्जबाट परीक्षा दिएका विद्यार्थी जशदीश साहीले प्रश्नपत्रमा त्रुटि भएको पत्ता लगाएका हुन् । प्रश्नपत्र त्रुटि भएको जानकारी गार्डलाई गराएपछि गार्डबाट समाधान नभएको उनले गुनासो गरेका छन् । गार्डले केही गर्न नसक्ने भन्दै गैह्रजिम्मेवारीपूर्ण जवाफ दिएको विद्यार्थीले बताएका छन् ।
साहीले भने, ‘प्रश्न नै गलत भएपछि गार्ड दाईलाई प्रश्न गलत रहेछ भन्दा उहाँले हामीले समाधान गर्न सक्दैनौं । अब जस्तो छ त्यस्तै गर्नु भन्नुभयो ।’ उनले थपे, ‘प्रश्न नै गलत भएपछि कसरी गर्नु । छु्ट्यो ।’
अमृत साइन्स कलेजमा अध्ययनरत सुकृतकुमार यादवले भैरहवा (होम सेन्टर) बाट परीक्षा दिए । उनले पनि प्रश्न गलत भएको थाहा पाएपछि त्यहाँका शिक्षकलाई जानकारी दिए । शिक्षकले माथि कुरा राख्ने भनेर सुकृतको समस्या सुनेर गए । यादव भन्छन्, ‘दुई वर्ष लगाएर प्रश्नपत्र बनाउँदा पनि यस्तो हिसाब नै नमिल्ने गलत प्रश्न सोधेर हाम्रो भविष्य नै जोखिममा पार्ने काम भयो ।’
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने प्रश्नमा सामान्य गल्ती भएको भए पनि पढ्न जान्ने विद्यार्थीले गल्ती सहजै सच्याउन सक्ने खालको भएको बताएका छन् । जोशीले भने, ‘काम गर्दै जाँदा सामान्य मानवीय त्रुटि हुन्छ । थोरै भएको थियो तर पढ्ने मान्छेले बुझ्ने खालका थिए । प्रश्न नै बुझ्न नसक्ने केही थिएन ।’