Sunday, August 2, 2026
थप

    मनसुनी वायुको कारण अधिकांश स्थानमा वर्षाः कहाँ-कहाँ बाढीको खतरा छ ? (बुलेटिनसहित)

    असार १२, काठमाडौँ । मनसुनी वायुको प्रभावले देशका अधिकांश भागमा सामान्यदेखि पूर्ण बदली रहनाका साथै कतिपय स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौँ लगायत देशका विभिन्न स्थानमा बाढीको खतरा रहेको जनाएको छ ।

    महाशाखाले गरेको आज बिहानको पूर्वानुमान अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले हाल देशका अधिकांश भूभागमा बदली रही प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली रहेको छ ।

    प्रदेश नं १, प्रदेश नं २ र बागमती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

    महाशाखाले जारी गरेको आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा आज देशभर सामान्यदेखि पूर्ण बद्ली रहनाका साथै देशका धेरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । राति पनि प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

    आइतबार देशका केही स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यही असार १४ गते देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । राति प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम २७ दशमलव ४ र न्यूनतम तापक्रम २० दशमलव २ डिग्रि सेल्सियस छ ।

    कहाँ कहाँ बाढीको खतरा ?

    कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव स्थिर अवस्थामा रहेको र सतर्कता तह भन्दा तल नै रहेको छ ।

    महाशाखाले आज दिउँसो  नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने, कोशी र यसका ससाना सहायक नदीमा बहाव बढ्ने जानकारी गराएको छ । केही साना नदीमा अकस्मात् बहाव बढ्न सक्ने र सतर्कता तह आसपास पुग्न सक्ने पूर्वानुमानमा उल्लेख छ ।

    यसैगरी, राप्ती र बबई नदीमा बहाव सामान्य रहनेछ भने कन्काई, कमला, बागमती जलाधारका केही ससाना सहायक नदीमा क्षणिक, मध्यम र भारी वर्षाका कारण बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । यी नदी क्षेत्रका केही ससाना नदीमा आकस्मिक बहाव बढ्ने र सतर्कता तह आसपास पुग्ने पूर्वानुमान गरिएको छ ।

    आज प्रदेश १ को इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, ओखलढुंगा, धनकुटा, ताप्लेजुङ, संखुवासभा, प्रदेश २ को बारा, धनुषा, सिराहा, सप्तरी, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ, सिन्धुली, गण्डकी प्रदेशको गोरखा, लमजुङ, तनहुँ, म्याग्दी, बागलुङ, परासी, लुम्बिनी प्रदेशको नवलपुर, गुल्मी, पाल्पा, दाङ, कर्णाली प्रदेशको जाजरकोट, दैलेख, कालिकोट, सल्यान, सुर्खेत, डोल्पा र आसपास जिल्ला भई बहने ससाना नदी जलाधारमा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

    महाशाखाले प्रकाशन गरेको मौसमी बुलेटिन

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै