Home कला-साहित्य राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ प्रथम

राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ प्रथम

0
राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राईको ‘देशको नक्सा’ प्रथम
असार ८, काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई ‘देशको नक्सा’ कविता प्रथम हुन सफल भएको छ । त्यसैगरी, धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ कविता द्वितीय, बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालकाे ‘बोधिसत्वको खोप’ कविता तृतीय भएका छन् ।
प्रतियोगितामा क्रमशः प्रथम रु. ५० हजार, द्वितीय रु. ४० हजार र तृतीय रु. ३०– ३० हजार र सम्मानपत्रले पुरस्कृत तथा सम्मानित गरिने भएको छ ।
कार्यक्रमको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्दै भने, ‘कविता महोत्सवको दिन नेपालको वाङ्मय क्षेत्रको विशिष्ट दिन भएको र यो महाकवि लक्ष्मीप्रसाद देवकोटाका परिकल्पनामा युगकवि सिद्धिचरण श्रेष्ठका थालनी भएको हो ।’
कार्यक्रम संयोजक तथा प्राज्ञ परिषद् सदस्य प्रा. डा. हेमनाथ पौडेलले वर्तमानको यथार्थमा आधारित रहेर सन्देशमूलक रचना नै उत्कृष्ट हुने र कला पक्षलाई सशक्त बनाउनु पर्ने बताए ।
प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत् प्रसाद उपाध्यायले बन्दाबन्दी र निषेधाज्ञाका फुर्सदिलो समयमा साहित्यकार झनै राम्रा सिर्जना तयार गर्न सफल भएको बताए ।
प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा संञ्चार संयोजक शशी लुमुम्बुले महोत्सवमा ७ सय ६४ जनाले सहभागिता जनाएकामा अन्तिम प्रतियोगिताका लागि ४१ कविता छनोट गरिएकामा स्वदेश बाहिर रहेका आठ र देशका २० जिल्लाबाट प्रतियोगितामा सहभागिता जनाइएको जानकारी गराएका थिए ।
वार्षिकोत्सवका अवसरमा प्रज्ञा–प्रतिष्ठानका १५ कर्मचारीलाई जनही रु. ३० हजारसहित दीर्घसेवा पदकबाट सम्मानित गरेको छ। सम्मानित हुनेमा राजेन्द्रकुमार शाही ठकुरी, उत्तमराज उपाध्याय, राजकुमार श्रेष्ठ, शिवकुमार चापागाईँ, विजयमानसिंह प्रधान, कर्णबहादुर कुमाल, बुद्धि तिमिल्सिना, राधा कार्की, पूर्णबहादुर श्रेष्ठ, रामकुमार बोहोरा, नानु सुवेदी, भगवती लामिछाने, मैयाँ महर्जन, नारायणप्रसाद अधिकारीजमुना कुचीकार छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here