Saturday, May 18, 2024
थप

    मेलम्ची सुरुङमा पानी भर्न थालियो‚ छिट्टै काठमाडौं आइपुग्ने

    काठमाडौं‚ मंसिर १२, । मेलम्ची खानेपानी परियोजनाले सोमबारदेखि सुरुङमा पानी भर्न सुरु गरेको छ । खानेपानी विकास समितिले २६ किमि सुरुङ भर्न सिन्धुपाल्चोकको हेडवर्क्सबाट सुरुङमा पानी भर्न सुरु गरेको छ । अस्थायी रूपमा मेलम्ची नदीको पानी पुनः काठमाडौं पथान्तरण गर्न थालेको हो । बाढीको जोखिम हुने भएपछि गत असारदेखि सुरुङको ढोका बन्द गरिएको थियो ।

    ‘अबको केही दिनमा मेलम्चीको पानी काठमाडौंको थोक वितरण प्रणालीमा पठाइने छ र लगत्तै वितरणका लागि उपलब्ध हुने छ’ आयोजनाले सामाजिक सञ्जालमार्फत भनेको छ ।

    गत वर्ष स्थायी संरचना बाढीले क्षतिग्रस्त भएपछि वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेर अस्थायी रुपमा पानी ल्याउनुपर्ने अवस्था छ । २०७९ वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा गत असारदेखि रोकिएको थियो ।

    यो वर्षको वर्षायाममा आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिएको आयोजनाले जनाएको छ ।

    आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ ।

    अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट फागुन २०७७ मा पहिलोपटक पानी काठमाडौंमा ल्याइएको थियो ।

    काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । १ असार २०७८ मा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै