Sunday, October 13, 2024
थप

    कुशे औँसी किन मनाउने ? शास्त्र र महिमा ।

    कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।

    silhouette of father and son at sunset

    कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ-आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ-आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।’पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    स्वस्थानी व्रतकथामा वर्णन भएअनुसार एकपटक श्री महादेव कसैले थाहा नपाउने गरी पशुपतिको जङ्गलमा एक सिङ भएको स्वर्णमृग रूप धारण गरी वन बिहार गर्न थाल्नुभयो। भगवान शिवको अनुस्थितिले विष्णु, ब्रह्मा, इन्द्रलगायत् सम्पूर्ण देवता निराश भए। यो देेखेर जगदम्बा भवानीले महादेवले मृग रूप धारण गरेर वन बिहार गरेको रहस्य बताइदिनुभयो। तब ब्रह्मा, विष्णु इन्द्रले एकैपटक त्यस मृगलाई समात्नुभयो। संयोगवश एकैपटक मृगको उक्त सिङ तीन टुक्रा भयो। यो देखेर सबै देवता आश्चर्यमा परे र क्षमा माग्न थाले। तत्पश्चात् शिवजीले आफ्नो स्वरूपमा प्रकट भएर देवताहरुलाई भन्नुभयो– ‘तपाईंहरुले कुनै प्रकारको चिन्ता लिनुपर्दैन। मेरा सिङका तीन टुक्रा विष्णुको हातमा रहेको वैकुण्ठधाममा, इन्द्रका हातमा परेको अमरावतीमा र ब्रह्माको हातमा रहेको नेपालको वाग्मती नदीको पवित्र तट गोकर्णमा स्थापना गर्नू।’ महादेवकै कथनानुसार ब्रह्माजीले गोकर्ण तटमा उक्त सिङ स्थापना गर्नुभयो। यसरी ब्रह्म्ााजीले स्थापना गरेको त्यही मृगको अवशेष पवित्र शिवलिङ्गका रूपमा गोकर्णेश्वर महादेव नामले विख्यात् छ।

    ब्रह्माजीले गोकर्णमा शिवलिङ्ग स्थापना गरेको थाहा पाएर सम्पूर्ण देवीदेवताले भाद्र कृष्ण अमावश्यका दिन त्यहाँ आई पवित्र वाग्मतीमा स्नान गरी शिवजीको पूजाअर्चना गरे। त्यसैबेलादेखि यस तीर्थमा आफ्ना पितृहरुलाई पिण्डदान गरेर शिवजीको पूजा अर्चना गर्ने परम्परा कायम भएको हो भन्ने विश्वास गरिन्छ।

    त्यस्तै,  यस पर्वको उत्पत्ति र सुरुवात्का सम्बन्धमा अर्को कथन पनि प्रचलित छ । प्राचीनकालमा पाञ्चाल देशका राजा वृषकर्णको गोकर्ण नामक एउटा पुत्र थियो। बाबुछोराको एकापसमा मेल थिएन। सधैँ झगडा पर्थ्याे। दुवै एकअर्कालाई झगडा गर्दै नरक जान परोस् भनी श्राप दिन्थे। दैवसंयोग छोरो गोकर्ण पहिल्यै नै यमलोक पुग्यो। बाबु मर्दा काजकिरिया गर्ने कोही भएन र बाबुको अधोगति भयो। एक दिन गोकर्णले यमलोकमा भगवान विष्णुको दर्शन पायो र पापबाट मुक्त भयो। भगवानकै भनाइअनुसार उसले पिता वृषकर्णको नाममा श्राद्ध गरेर पिण्डदान गर्‍यो जसका कारण उसको बाबु प्रेतयोनीबाट मुक्त भए। त्यसपछि गोकर्णले बाबुबाट आशीर्वाद पायो। भनिन्छ, त्यसैबेलादेखि नै कुशे औँसीका दिन गोकर्णमा मृत पितृका नाममा श्राद्ध गर्ने चलन चल्दै आएको हो।

    कुशे औँसी, गोकर्णे औँसी वा बाबुको मुख हेर्ने आदि नामले यस पर्वलाई मनाइन्छ। यो दिन मृत पितालाई सम्मान गर्ने दिनमात्र नभएर जीवनकालमा आफ्ना जन्मदातालाई भक्तिपूर्वक आदर सत्कार गर्ने दिन पनि हो। आफ्ना बाबुको श्रद्धामान हेरचाह गनर्ुुपर्ने कुरालाई यसपर्वले हामीलाई सन्देश दिएको छ। काठमाडौ उपत्यकालगायत देशभर  यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाइ, कपडा लिएर  आउँछन्। विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन्। छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन्। पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने यस पर्वले हाम्रो सांस्कृतिक गौरवमय धार्मिक एवम् पैतृक परम्परालाई सुदृढ बनाउन ठूलो योगदान पुर्‍याएको छ।

    सम्बन्धित

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here

    सम्पर्कमा रहनुहोस्

    0FansLike
    1FollowersFollow
    0SubscribersSubscribe

    भर्खरै