सञ्चार हाउस, काठमाडौँ । सरकारले प्रचण्डका घरधनी शारदाप्रसाद अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई ३ वर्षको लागि नयाँ ठेक्का नपाउने गरी कालो सूचीमा राखेको छ ।
शैलुङ कन्स्ट्रक्सनलाइ खरिद सम्झौताविपरीत ठेक्का अलपत्र पारेको आरोपमा सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वर्षका लागि कालोसूचीमा राखेको हो ।
काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा थुप्रै ठेक्का ओगटेर पेस्की रकम दुरुपयोग गरेको, सम्झौतामा उल्लिखित मितिभित्र निर्माण सम्पन्न नगरेको, नियतवश निर्माण लागत बढाएको आरोप अधिकारीमाथि छ ।
बुधबार सार्वजनिक खरिद अनुगमन कार्यालयले शैलुङसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको सार्वजनिक सूचना प्रकाशन गरेको छ ।
शैलुङ कन्स्ट्रक्सन कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा सारिएको छ ।शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो ।
दुई चिनियाँ कम्पनी पनि कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई चिनियाँ निर्माण कम्पनीलाई पनि कालोसूचीमा राखेको छ । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा कार्यालयले चोङदिङ इन्टरनेसनल इन्जिनियरिङ कम्पनी लिमिटेड र चाङकिङ वाङपियान इलेक्ट्रिक ग्रुप कर्पोरेसन लिमिटेडलाई कालो सूचीमा राखिएको हो । दुवै कम्पनीलाई ३ वर्षका लागि कालोसूचीमा राखिएको हो ।