सञ्चार हाउस, काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बहुमतको आडमा सत्तारुढ गठबन्धले संसदमा विधाएक ल्याएर पास गर्न खोजे च्यात्ने चेतावनी दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आपत्ति जनाउँदै च्यात्ने चेतावनी दिएका हुन् ।
सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै ओलीले सरकारलाई सम्हालिएर व्यवहार गर्न आग्रह गरे । कानुनमन्त्री गोविन्द बन्दीतर्फ संकेत गर्दै उनले भने, संसदको सबभन्दा ठूलो र प्रमुख प्रतिपक्षी दल एमालेसँग एक वचन सरसल्लाह नगरेको भन्दै एमाले अध्यक्ष ओलीले भने, ‘मनपरी ढंगले विधेयक ल्याएको छ । बहुमत छ भनेर पास गर्न खोजेको छ । त्यस्ता विधेयकहरु च्यातेर फालिन्छ ।’
उनले थपे, ‘एउटा चटके मन्त्री ६ महिनाका लागि आएर हिरो हुनका लागि कसैले नगरेको मैले सकेँ भनेर पीडितहरुमाथि बदजफ्ती गर्ने ?’
‘पीडितहरुको आँसुमा खेलबाड गर्न, अझ पीडा थप्न शान्ति प्रक्रिया होइन । पीडा टुग्याउनुपर्यो, सद्भाव कायम गर्नुपर्यो, मेलमिलाप हुनुपर्यो ।’, उनले भने ।
अन्तर्राष्ट्रिय कानुन, सर्वोच्चको फैसलाअनुसार पीडितको चित्त बुझाएर समस्या समाधान खोज्नुपर्ने उनले बताए । पीडितलाई दमन गरेर शान्ति प्रक्रिया टुंग्याएँ भनेर कसैले घोषणा गर्दैमा नटुंगिने भन्दै ओलीले भने, ‘पीडा थप्न बन्द गर, यथोचित ढंगले न्याय पाउनुपर्छ । मानवताविरुद्धको जघन्य अपराधमा सजाय हुनुपर्छ ।’