Home समाचार मुख्य समाचार पार्टी एकता हाम्रो चाहना होः माधव नेपाल

पार्टी एकता हाम्रो चाहना होः माधव नेपाल

0
पार्टी एकता हाम्रो चाहना होः माधव नेपाल

साउन ३०, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफ्नो चाहना भएको बताएका छन् । उनले पार्टी एकताको लागि आफू पर्खाइमा रहेको बताएका छन् । वरिष्ठ नेता नेपालले पार्टी एकताका सबै ढोकाहरु बन्द भए पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट पछि हट्न नसकिने अडान राखेका छन् ।

शनिबार बागमती प्रदेश सम्पर्क कमिटीको समानान्तर नेतृत्व घोषणा गर्न काठमाडौंमा आयोजित एक कार्याक्रममा उनले आफू एकताको पक्षमा भएको बताएका छन् ।

निर्णय प्रक्रिया र नेतृत्व प्रणालीको आधारमा सहमतिका साथै चल्ने स्थिति हुन्छ भन्ने निश्चित भएमा आफू पार्टी एकताको लागि तयारी रहेको बताएका छन् ।

कार्यक्रममा बोल्ने क्रममा माधव नेपालले भने, ‘एकता हाम्रो चाहना हो, इच्छा हो । हाम्रो इच्छा र चाहना विभाजन होइन । तर एकताको सबै ढोका बन्द भयो भने, सम्भावना रहेन भने त्यस्तो अवस्थामा पार्टीलाई पुनर्गठित गर्ने जिम्मेवारीबाट हामी पछि हटनुहुँदैन । तर त्यो अन्तिम उपाय मात्रै हुनेछ । अझै पनि कोशिश गरौं । अझै पनि केपीलाई सुधार्ने कोशिश गरौं । केपीले गरेको गलत निर्णय फिर्ता लिने काम हुन्छ भने, निर्णय प्रक्रिया र नेतृत्व प्रणाली सहमतिको आधार चल्ने स्थिति हुन्छ भने हामी अन्तिम पर्खाइमा रहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका लागि आफूहरुले सरकारमा सहभागी नहुने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको पनि स्मरण गराए । उनले संविधान र लोकतन्त्रको रक्षाका लागि आफूहरुले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिनु परेको पनि दोहोर्‍याए ।