साउन २०, काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमा ५ प्रतिशत (३ लाख कित्ता) कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।
कम्पनीको उक्त आईपीओमा छिटोमा साउन २४ गतेसम्म र ढिलोमा भदौ २ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले कम्पनीको आईपीओमा सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर वेभसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङले “केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।
कति आवेदन दिने ?
पछिल्लो समय आईपीओ भर्ने लगानीकर्ताहरूको संख्या २० लाख नाघिसकेको छ । यसको आइपिओमा पनि बीस लागले भर्दा पनि सबैलाई १०—१० कित्ता भर्दा पनि लक्की ड्रको माध्यमबाट नै शेयर अलोटमेन्ट दिनुपर्ने अवस्था आउने भएकोले १० कित्ता मात्र भर्नु उपयुक्त देखिन्छ ।