साउन १२, काठमाडौँ । त्रिभुवन विमानस्थलमा १ किलो (१ करोड बराबर) को अवैध सुन प्रहरीले बरामद गरेको छ । उक्त सुन ल्याउने भरियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी टोलीले एक हजार १ सय ६५ ग्राम सुनसहित सुन ल्याउने भरिया गोरखा घर भएका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो । उनी हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौं आएका थिए । विमानस्थल प्रहरी प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार परियारले कफी मेकरको उपकरण बनाएर उक्त सुन ल्याएको भेटिएको छ । शंका लागेर चेकजाँच गर्ने क्रममा सुन बरामद भएको बाँस्तोलाले बताए ।
परियारले उक्त सुन दुबईमा बस्दै आएका राजु केसीले पठाएको बयान दिएको बाँस्तोलाले जानकारी दिए । बाँस्तोलाले पठाउनेको पहिचान भइसकेको बताउँदै काठमाडौंमा जिम्मा लिनेको पनि खोजी भइरहेको बताएका छन् । प्रहरीले सुनसहित कारबाहीका लागि परियारलाई विमानस्थल भन्सार कार्यालयमा पठाएको छ ।