साउन ७, काठमाडौं । मैलुङखोला जलविद्युत आयोजनाको प्राथमिक शेयर (आइपीओ) साउन १४ देखि बिक्रीका लागि खुल्ला हुने भएको छ । कम्पनीको आइपीओमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ । अंकित मूल्य १ सयका दरले कम्पनीले कुल ७ लाख ३६ हजार २ सय ८६ कित्ता शेयर निष्कासन गर्न लागेको हो । डिम्याट सदस्य लगभग २१ लाख पुगेकाले यसमा डिम्याट सदस्य भन्दा धेरै कम कित्ता शेयर खुलेकोले १० कित्ता भर्दा उपयुक्त हुने देखिन्छ ।
यसमध्ये कर्मचारी र सामूहिक लगानी कोषका लागि छुट्याएपछिको बाँकी ६ लाख ८४ हजार ७ सय ४६ कित्ता शेयर सर्वसाधारणलाई बाँडफाँड हुनेछ । न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
सिडिएससीको मेरो शेयर अनलाइनबाट र आस्बा सदस्यप्राप्त आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाका शाखाबाट आवेदन दिन सकिनेछ ।
केयर नेपालले कम्पनीलाई डी रेटिङ प्रदान गरेको छ । औसतमा यो कम्पनी कमजोर रहेको यसले जनाउँछ । बिक्री प्रबन्धकका रूपमा सिद्धार्थ क्यापिटल रहेको छ । रसुवा जिल्लामा बग्ने मैलुङखोलाबाट कम्पनीले ५ मेगावाट बिजुली उत्पादन गर्नेछ ।
आयोजनाको कुल लागत ९० करोड २९ लाख अनुमान गरिएको छ । सो अनुमानमै सम्पन्न भएमा प्रतिमेगावाट लागत १८ करोड ५ लाख पर्न जान्छ ।