असार २९, काठमाडौँ । सुजिता हत्या प्रकरणमा संलग्न उनकै देवरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–७ भ्रमरपुराकी २६ वर्षीय सुजिता ठाकुरको हत्या गरेको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको थियो । सुजिताको हत्या असार २० गते आफ्नै कोठामा भएको थियो ।
उक्त हत्यामा संलग्न ३१ वर्षीय सुजिताका देवर रुपेश ठाकुर तथा शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको आरोपमा सोही ठाउँका ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम राईन र ३२ वर्षीय नथुनी मण्डललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार सुजिताका देवरले आफूले भाउजूको हत्या गरेको तथा पक्राउ परेका तीनै जनाले शव ओसारपसार, स्थानान्तरण र गाड्नमा सहयोग गरेको स्वीकार गरिसकेका छन् । देवर रुपेशले जेठ २० गते बिहान भाउजू सुजितालाई उनकै कोठाभित्र मुक्का प्रहार गरी कोठाको भित्तामा टाउको ठोक्काइ घाँटीसमेत थिचेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले जानकारी जानकारी दिए ।
हत्यापछि सुजिताको शवलाई दिनभरि उनकै पलङमाथि राखेर बाहिरबाट कोठामा ताल्चा लगाएको थियो भने राति करीब ९ बजे आफ्नै ट्र्याक्टरमा राखेर गाउँभन्दा एक किलोमिटर पूर्व दक्षिणस्थित खेतमा शव गाडेको थियो । घटनाबारे गाउँमा चर्चा हुन थालेको र प्रहरीसमेत सक्रिय भएको देखेर जेठ २९ गते राति पुनः त्यहाँबाट उनको शव निकालेर गाउँभन्दा पूर्व भ्रमरपुरा–जनकपुर सडकखण्डमा रहेको पेट्रोलपम्पको छेउको खेतमा १३ फिट गहिरो खाल्डो खनेर उनको शव राखेर माथिबाट सिमेन्ट, बालुवा, गिट्टीले ढलान गरेको थियो ।
प्रहरीले सुजिताको शव घटनाको एक महिना आठ दिनपछि असार २७ गते बिहान १० बजे आधा सडेको अवस्थामा फेला पारेको थियो । घटनामा थप संलग्न व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजतलास भइरहेको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।