असार ३, काठमाडौं । नेकपा एमालेका माथिल्लो तहमा भएको दरारमा विस्तारै खाटो बस्न थालेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल बिच धेरै समयदेखि गाली गलौजको तहसम्म गिर्ने गरेका थिए । एकले अर्कालाई नेता नमान्ने प्रवृत्ति हाबी भइरहेको थियो । यसैबिचमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ ।दुई नेताबीच काठमाडौं नक्सालको होटल मेरियटमा भेटवार्ता भएको छ ।
कार्यदलका माध्यमबाट मात्र वार्ता भइरहेको थियो । कार्यदलका बिचमा सकारात्मक सम्वाद हुँदै गइरहेको अवस्थामा उच्च नेतृत्व तहमा पनि भेटवार्ता हुनुले नेकपा एमालेको एकतालाई अझ बल पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
एमालेमा पछिल्लो समय विवाद बढ्दै जाँदा अध्यक्ष ओली र वरिष्ठ नेताबीच भेटवार्ताको पहल भइरहेको थियो । तर नेता नेपालले बारम्बार भेटवार्ता अस्वीकार गर्दै आएका थिए । ओली पक्षले पनि माधवकुमार नेपाल जस्ता नेतासँग वार्ता गरेर समय खेर नफाल्ने भन्दै आइरहेको थियो । तर, एमालेका दोस्रो तहका नेताहरुले वार्ताको प्रयास गरिरहेका थिए ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकताका लागि सर्वोच्च अदालतमा रिट दिने सांसदहरुले रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने अडान राखेका छन् । नेता नेपालले भने हस्ताक्षर फिर्ता नहुने बताएका छन् ।