असार २१, काठमाडौँ । नेकपा एमालेले एकताका लागि गठन गरेको कार्यदल पुनः सक्रिय भएर कार्य गर्न थालेको छ । अध्यक्ष केपी शर्मा ओली कार्यदललाई पुन सक्रिय बतनाउन तयार भएपछि दश सदस्यीय कार्यदलको औपचारिक बैठक सिंहदरबारमा बसिरहेको छ ।
पार्टीका २३ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन अध्यक्ष ओलीले दिएको समयसीमा सकिएलगत्तै कार्यदलको बैठक बसेको हो ।
कार्यदलमा ओलीका तर्फबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् भने, वरिष्ठ झलनाथ खनाल–माधवकुमार नेपालका तर्फबाट भीम रावलको संयोजकत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त सदस्य रहेका छन् । जेठ २ मा कार्यदल गठन भएको थियो ।
तर, त्यसबीचमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा दोस्रो पटक विघटन र संयोजक रावललाई जेठमा १२ मा पार्टी सदस्यबाट निष्कासन गरेपछि कार्यदल निष्क्रिय भएको थियो । आइतबार ओलीपक्षीय नेताहरु नेम्वाङ, पौडेल र पोखरेल नेता नेपालको निवास पुगेर पार्टी एक रहेको सन्देश दिन संयुक्त वक्तव्य जारी गर्न प्रस्ताव गरेका थिए ।
नेता नेपालले भने वक्त्व्य जारी गर्ने भए कार्यदल ब्युँत्याउनु पर्ने र त्यसले नै ड्राफ्ट तयार गरेर ल्याउन सुझाव दिएका थिए । त्यसै विषयमा आइतबार राति नै रावलले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए । उक्त छलफलपछि नै ओली कार्यदल ब्युँताउन तयार भएको एक नेताले जानकारी दिए ।

