असार १६, काठमाडौं । जातीय भेदभाव तथा छुवाछुतको कसुर लागेकी सरस्वती प्रधानले आफूले छुवाछुत तथा विभेदकारी व्यवहार नगरेको दावी गर्दै बुधबार राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिँदै सञ्चारकर्मी रुपा सुनारमाथि आफुले कुनै प्रकारको विभेद एवम् छुवाछुतको व्यवहार नगरेपनि आफूमाथि षडयन्त्र गरी प्रहरीमा थुनाएको भन्दै उनलाई हदैसम्मको कारबाही गर्न माग गरेकी छिन् ।
उनले रुपा सुनारलाई कोठा खोज्न सहयोग गर्ने सुष्मा राई र सिर्जना राईलाई पनि कारबाही गर्नुपर्ने माग गरेकी छिन् । असार १ गते सञ्चारकर्मी रुपा सुनारलाई दलित भएको कारण कोठा नदिएको भन्दै सुनारले प्रहरी वृत्तमा उजुरी दिएसँगै ३ दिन प्रधालाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो । प्रधानले निषेधाज्ञाको समयमा पिसिआर रिपोर्ट बिना कोठा खोज्न हिडेर महामारी फैलाउन खोजेको, अपराधिक कार्यका लागि कोठा खोज्न आएको तथा आफ्नो मञ्जुरी बेगर फोन रेकर्ड गरी त्यसैलाई आधार मानेर प्रहरीमा उजुरी दिएकोमा आफ्नो स्वतन्त्रता विपरित भएकोले कारबाही गरिनुपर्ने बताएकी छिन् ।
घरधनी श्रीमान् र सासु भएको भन्दै उनले आफूलाई घर भाडामा लगाउने अधिकार नभएको स्पष्ट पारेकी छन्। आफूलाई घरधनी भनी झुठा आरोप र जालसाजी गरी मानव अधिकार हनन् गरिएको उनको निवेदनमा उल्लेख गरिएको छ।
‘घरधनी पति मुकुन्द प्रधान र सासुआमा भएकाले मलाई घर भाडामा राख्ने अधिकार नभए पनि मलाई घरधनी भनी झुठा आरोप लगाई जालसाझ गरी मेरो मानव अधिकारको हनन गरेको हो। मैले जातीय छुवाछुतको वादविवाद नै नगरेकोमा पनि निज रूपा सुनार आफैंले म कामीको छोरी हो भनी आफैंले आफ्नो जात देखाई मलाई विवाद गरी मानव विरोधीको अपराध गरेको हो,’ निवेदनमा भनिएको छ।