असार १४, काठमाडौँ । प्रधानमन्त्री ओलीले माधव नेपालतर्फ सङ्केत गर्दै आफूले प्रधानमन्त्रीको लागि प्रस्ताव नराखेको जिकिर गरेका छन् । माधव नेपालले यसअघि प्रधानमन्त्रीको प्रस्ताव आइसकेको तर देउवालाई धोका नदिने वक्तव्य दिएपछि प्रधानमन्त्रीले उक्त प्रतिक्रिया दिएका हुन् ।
जननेता मदनकुमार भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा ओलीले उक्त कुरा बताएका हुन् । उक्त कार्यक्रममा ओलीले भने, ‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । उनलाई प्रधानमन्त्रीको प्रस्ताव राख्न मलाई बहुला कुकुरले टोकेको छ र ?’ उनले थपे, ‘नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?
नेता नेपालले २०६३ सालमा हिमाल टाढाबाट देख्दा मात्रै राम्रो देखिन्छ भन्ने खालका मदन भण्डारीको अवमूल्यन गर्ने अभिव्यक्ति दिएको र आफूलाई आवश्यक पर्दा मात्र भण्डारीको नाम लिने गरेको अध्यक्ष ओलीले बताए ।
ओलीले भने, ‘माधव नेपाललाई कानमा भजनको चिनी हालिदिएको मन पर्छ । कहिले शेरबहादुर देउवा र कहिले प्रचण्डले त्यस्तो चिनी हालि दिएका छन् ।’
भण्डारी सही विचार चिन्तक हुनुका साथै तिनको कार्यान्वयनका लागि अगुवाइ र संगठित प्रयास गर्ने व्यक्ति भएको जनाउँदै त्यसैले केही वर्षअघि सञ्चारमाध्यमले गरेको सर्वेक्षणले २० औं शताब्दीको नेपाली राजनीतिलाई सबै भन्दा बढी प्रभावित गर्ने भण्डारी शताब्दी नायक भएको प्रधानमन्त्रीले बताए ।