असार १४, जाजरकोट । जाजरकोट शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले सोही वडाका सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई कुटपिट गरेको आरोप लगाउँदै आएका छन् । तर वडा अध्यक्ष खत्रीले भने विज्ञप्ति निकाल्दै राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको तर ममाथि कुटपिट भयो भनेर हल्ला गरेको स्पष्ट पारेका छन् ।
वडाअध्यक्षले वडाको भन्दा बाहिरको काम गरेको, आफ्नो वडाको काममा ढिलासुस्ति गरेको भन्दै आफूमाथि कार्यकक्षमै आएर कुटपिट गर्नुको साथै ज्यानमार्ने धम्कीसमेट दिएको सव–इन्जिनियर शाहीले आरोप लगाएका छन् ।
शाहीले भनेका छन्, ‘म आफ्नै कार्यकक्षमा काम गरिरहेको थिएँ, केही केटासहित एक्कासि वडाध्यक्ष आएर झम्टिहाल्नु भयो । मुक्का प्रहार गर्नुभयो, लछारपछार गर्नुभयो । गालीगलौजका साथै ज्यानै लिने धम्की दिनुभयो । त्यसपछि भागेर ज्यान जोगाएँ ।’ खत्री एमालेबाट निर्वाचित वडाध्यक्ष हुन ।
सब–इञ्जीनियरमाथि भएको घटनाको शिवालयमा कार्यरत कर्मचारीले निन्दा एवं भत्र्सना गरेका छन् । घटनाको विरोधमा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतसहित सम्पूर्ण कर्मचारीले एक विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाही नभएसम्म ‘पेनडाउन’ गर्ने निर्णय गरेका छन् ।
कर्मचारीहरुले निकालेको संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र सेवामा कटिबद्ध कर्मचारीलाई कारणवश कमजोरी वा गल्ती गरेमा विभिन्न विभागीय कारवाही तथा सेवाबाट बर्खास्त गर्ने कानूनी बाटो हुँदाहुँदै मरणासन्न हुने गरी कार्यालय समयमा यसरी अमानवीय तरिकाले गरेको कुकर्मले हामी सेवामा अहोरात्र खटिएका सबै कर्मचारीको मनोबल खस्केको छ । सो कार्यप्रति हामी पेनडाउन गरी सशक्त आन्दोलनमा उत्रिन बाध्य छौँ ।’
सन्दर्भः रासस